PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्वास्थ्य केन्द्रमा औषधिको अभाव, सिटामोल नपाएरै फर्कन्छन् बिरामी



पहिलोपोस्ट

स्वास्थ्य केन्द्रमा औषधिको अभाव, सिटामोल नपाएरै फर्कन्छन् बिरामी

डोल्पाः जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। नगरपालिका अन्तगर्तका त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा गत मंसिर देखिनै औषधिको अभाव भएको छ। 

स्वास्थ्य केन्द्रहरूमा औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। 

जिल्ला अस्पतालले गत असोज पहिलो सातामा एक लाख ५० हजार रुपैयाँ बराबरको औषधि पठाएको थियो। उक्त औषधिले मंसिरको दोस्रो हप्तासम्म जेनतेन धानेको थियो। 'अहिले सिटामोलसम्म छैन, दैनिक बिरामी आउँछन् तर औषधि नहुँदा रित्तै फर्काउनु परेको छ,' त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख सिर्जना रोकायाले भनिन्।

स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रको रेखदेख तथा औषधि व्यवस्थापनलगायतको जिम्मा नगरपालिकाले पाएको छ। तर औषधि अभाब भएको भनेर बारम्बार जानकारी गराउँदासमेत नगरपालिकाले ध्यान नदिएको उनले बताइन्। 'घण्टौँ हिँडेर बिरामी आउने गर्छन्, औषधि छैन भन्दै फर्कानु परेको छ,' उनले भनिन्।

त्रिपुरा स्वास्थ्य चौकी जस्तै लिकु, पहाडा, ल्हाँ र सुँ स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ। सामान्य औषधिसमेत नभएको पहाडा स्वास्थ्य चौकीका प्रमुख कृष्ण कार्कीले बताए। 

स्वास्थ्य केन्द्रमा अौषधीको अभाब भइरहँदा पाँचवटै स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक सञ्जयकुमार मण्डल भने कहिलेकाँही मात्र स्वास्थ्य केन्द्रहरूमा देखिन्छन्।

गत पुस १ गते बसेको नगरको कार्यपालिकाको बैठकले रु १५ लाखको औषधि र उपकरण खरिद गर्ने निर्णय गरेको थियो। तर जनप्रतिनिधिको बेवास्ताका कारण खरिदमा ढिलाइ भएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताए। 

उपचारका लागि अाउने विरामीलार्इ उपचार नगरी फर्काइने गरेको स्थानीय बासिन्दा बताउँछन्। 'अस्पताल गएपनि खाली फर्काउँछन्, सिटामोल पनि छैन,' पाँच दिनसम्म ज्वरोले थलिएर उपचारका लागि स्वास्थ्य केन्द्र पुगेकी ६० वर्षीया नौसरा बुढाले भनिन्।

जिल्ला अस्पताल दुनैका प्रमुख डा श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्रमा स्थानीय निकायले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्झिन थालेको बताउँछन्। 'नगरपालिकाले औषधि खरिद गर्छ भनेर बाटो हेर्दा अहिलेसम्म खरिद गरेको छैन,' उनले भने। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell