PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

श्वेतालाई जिस्क्याउने एउटै प्रश्न : अब बिहे नगर्ने?



स्वेच्छा राउत

श्वेतालाई जिस्क्याउने एउटै प्रश्न : अब बिहे नगर्ने?

२०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको रिल जोडीले रियल लाइफमा लगन गाँठो कसे।

फिल्म 'कहाँ भेटिएला?' र 'कोहिनुर'मा सँगै काम गरेपछि यी दुई नजिकिएका थिए। र दुईबीचको सम्बन्धलाई विवाहमा परिणत गर्नुपर्छ भन्नेमा पुगे।

दुबैको योजना थियो -एकसाथ काम गर्ने, एकअर्काबाट सिक्ने, फिल्म बनाउने। यो फिल्म जोडीको यथार्थ विवाहले दर्शकको लागि पनि चासोको विषय बन्यो। श्वेता सम्झिन्छिन्, 'हरेक नवविवाहित जोडीहरुले जस्तै हामीले पनि एउटै सपना देखेका थियौं। योजना बनाएका थियौं।'

खुला आँखाले देखेको सपना पूरा हुनुअघि श्रीकृष्णले सदाको लागि आँखा चिम्लिए। २०७१ साउन २५ गते भारतको गंगाराम अस्पतालमा श्रीकृष्ण श्रेष्ठको निधन भयो।

र, सुरु भयो श्वेताको जीवनमा ठूलो बज्रपात। उनले आफ्नो प्रेम गुमाइन्। आफ्नो पति गुमाइन्। जसले उनलाई भावनात्मक, मानसिक एवं शारीरिक रुपमा निकै कमजोर बनायो।

'आँसु आउनुभन्दा पनि मन रुनुले धेरै पीडा दिने रहेछ। झण्डै दुई वर्षभन्दा लामो समय म आफैंलाई सम्हाल्न निकै गाह्रो भयो,' श्वेता सुनाउँछिन्।

श्वेताले वियोगभन्दा बढी आफ्नो प्रेमलाई बलियो मानिन्। जसले उनलाई आत्मविश्वासका साथ उभ्यायो। कठिनाइका साथ आफूलाई मात्र होइन आफ्नो व्यवसाय सम्हालिन्, दर्शकसँगको सम्बन्ध सम्हालिन्। र, तीन वर्षपछि निर्माण गरिन् फिल्म 'कान्छी'। जुन फिल्म स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठसँगको योजना लिस्टमा रहेको बताउँछिन् उनी। फिल्मबारे भन्छिन्, 'यो फिल्म मेरो कमब्याक मात्र नभएर श्री दादाको सपना पनि हो। जुन मैले आफूले पूरा गर्ने अवसर पाएँ।'

***

ट्राजिडीदेखि फिल्म कान्छी प्रचार प्रसारसम्म आइपुग्दा श्वेताले मिडियामार्फत धेरैपटक प्रस्तुत हुनुपर्‍यो। मिडियामा फिल्म क्षेत्रमा कमब्याक, श्रीकृष्णको याद, श्वेताश्री फाउन्डेसनको बस्ती निर्माण आदि मिडियामा छाउने विषय हुन्थे। केही समय यता भने उनलाई एउटै प्रश्नले खुब जिस्काए जस्तो भान भयो। त्यो हो : अब बिहे नगर्ने?

वैवाहिक सम्बन्धमा नरहेका कलाकारलाई विवाहबारेमा सोधिनु सामान्य रहेको बताउँछिन् श्वेता। उनलाई कहाँ भेटिएलामा देखिए लगत्तैका अन्तर्वार्ताहरुमा खुब सोधिए- बिहे चाहिँ कहिले गर्नुहुन्छ? उनीसँग बोलेर दिने जवाफ थिएन। जब समय भयो तब उनको र श्रेष्ठको विवाहको खबर समाचार बन्यो।

'श्री दादाको निधनपछि दुई वर्ष मलाई विवाह र सम्बन्धबारे प्रश्न सोधिएन। तर, अब पुन: प्राय पत्रकार र दर्शकको प्रश्न दोस्रो विवाहको बारेमै हुन्छ,' श्वेताको यो गुनासो भने होइन। जुन दर्शकले माया दिएका छन् उनीहरुसँग प्रश्न गर्ने अधिकार पनि रहेको बताउँछिन् उनी। भन्छिन्, 'मेरो भावना बुझ्न खोज्नु भएको न हो।'

श्रीकृष्ण श्रेष्ठसँग उनी भावनात्मक रुपमा निकट रहिन्। जसको निधनले उनलाई मर्माहित तुल्यायो। त्यसैले अर्को विवाह गर्न नसक्ने समेत बताइन्। श्रीकृष्णको निधनको वार्षिकीमा प्रकाशित पुस्तकमा श्वेताले लेखेकी थिइन्, 'श्री हजुरप्रतिको मेरो समर्पण र सच्चा श्रद्धाञ्जली मैले अर्को विवाह नगर्नु नै हुन्छ भन्ने ठानेको छु।’

'मैले आजसम्म पनि विवाहको कुनै योजना बनाएको छैन,' उनले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्‍, 'नजिक रहेकाले विवाह गरोस्। नयाँ जीवन सुरु गरोस् भन्ने चाहनुहुन्छ जुन स्वभाविक पनि हो। तर, विवाह निश्चित भएको अफवाह फैलाउनु बिल्कुल गलत।'

श्वेता वैवाहिक सम्बन्धलाई भाग्यसँग जोड्छिन्। 'भाग्य र समयले नै त हो ४७ वर्षीय श्री दादा र २७ वर्षीय मेरो विवाह जुराएको। २० वर्षको उमेर अन्तरले पनि विवाह रोकेन,'  भनिन्, 'विवाह बन्धनको आयु पो छोटो रहेछ त।'

उसो त श्वेताको दर्शक, परिवार एवं साथीभाइ श्वेताले विवाह गरोस् भन्ने चाहन्छन्। 'फेरि विवाह हुन लेखिएको रहेछ भने हुन्छ। यो विषयमा मेरो परिवार सकारात्मक छ, दर्शक सकारात्मक छन्, साथीभाइ सकारात्मक छन् भने म नकारात्मक प्रस्तुत हुन आवश्यक छैन। तर, हरेक कुराको समय हुन्छ। योजनामा नरहेको दोस्रो विवाहको पनि,' उनको प्रष्टीकरण।

***

श्वेताले एक युवती भेटिन्,  पीडामा रहेकी। उनको दु:ख र पीडाको कारण थियो प्रेम सम्बन्ध टुट्नु।

'सम्बन्ध दुई कारण टुट्छन् जस्तो लाग्छ -एउटा भाग्यले धोका दिएर र अर्को मान्छेले धोका दिएर,' श्वेताले आफ्नो बुझाइ राखिन्, 'मलाई त भाग्यले धोका दिएको थियो जुन मेरो हातमा थिएन। तर, सास फेर्दै गरेको मान्छेले दिएको धोकाको कारण मान्छे किन आफूलाई दु:खी बनाउँछ मैले बुझिन।'

श्वेतालाई अरुको कारण आफू दु:खी हुनेहरुलाई आत्मबल र आत्मविश्वासको संदेश दिनु छ। उनी चाहन्छिन् भावनात्मक रुपमा कमजोर भएका, दुर्व्यवहारमा परेका, मानसिक यातनाको शिकार भएका या कुनै पनि कारणले पीडामा रहेकाले त्यो क्षण वा अवस्थालाई सधैंको घाउँ नसोचुन्।

'समयले ठीक पार्छ धेरै कुरा तर आफ्नो प्रयास पनि पक्कै चाहिन्छ। पूर्ण रुपले ठीक पार्न नसकिए पनि कम गर्न सकिन्छ,' उनले भनिन्।

श्वेता स्वयंम् व्यवसायिक एवं कला क्षेत्रमा आफ्नै पहिचान बनाएकी महिला हुन्। राइजिङ मलमा रहेको हिमालयन जाभा उनकै हो र राइजिङ मलको इन्टेरिअर डिजाइन श्वेता खड्काकै कम्पनीले गरेको हो। कफी सफ, इन्टेरिअर इन्जिनियरिङ कम्पनी, केही रेस्टुरेन्टमा सेयर र अब त फिल्म कम्पनी पनि। व्यवसाय उनको जीवनमा फिल्मभन्दा पहिले जोडियो। तर, न त फिल्ममा हात हाल्नुले उनको विजनेसमा असर गर्‍यो न त ट्राजिडीपछि उनी सबैकुरा त्यागेर बसिन्। उनले जीवनको व्यक्तिगत र व्यसवसायिक दुई पाटोलाई सम्हाल्न कोशिश गरिन् र धेरै हदसम्म सफल पनि भइन्।

'मैले जीवनमा जे गुमाएँ त्यस्तो घटनाले जस्तै बलियो महिलालाई पनि कमजोर बनाउँछ तर आफ्नै सफलताको लागि बाटो कति खुला राख्ने र कति साँघुरो त्यो हाम्रै हातमा रहने रहेछ,' उनले आफ्नो अनुभव सुनाइन्। पीडालाई उर्जामा बदल्न सक्नुले चाहिँ आफैंलाई सकारात्मक महसुस गराउन सक्नु रहेको उनको बुझाइ छ। भन्छिन्, 'कमजोर हुनुको अर्थ गलेरैमात्र बस्नु होइन। यादहरु बोकेर, अवस्थालाई स्वीकारेर पनि राम्रो काम गर्न सकिने रहेछ।'

श्वेता अझै केही समय आफ्नो व्यवसाय र दर्शकको अपेक्षा सम्हाल्न चाहन्छिन्। त्यसैले पनि पत्रकार र दर्शकले गर्ने विवाह बारे प्रश्न हाँसेर स्वीकार्छिन् र सधैं जस्तै भन्छिन्, 'रेसमा जो छिटो कुद्छ उसैले जित्छ। नत्र अन्तिममा पर्नेको त कुरै छोडौं, केही सेकेण्डको अन्तरले दोस्रो हुनेले पनि कुनै पदक पाउँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell