PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एक त्यस्ती माननीय, जसलाई कार्यकर्ताको त कुरै छाडौँ, नेता पनि चिन्दैनन्



बीपी साह

एक त्यस्ती माननीय, जसलाई कार्यकर्ताको त कुरै छाडौँ, नेता पनि चिन्दैनन्

काठमाडौं : २७५ सदस्यीय प्रतिनिधि सभामा एक त्यस्ती माननीय पनि छिन्, जसको बारेमा अरुको त कुरै छाडिदिउँ, जुन पार्टीबाट निर्वाचित भएकी हुन्, त्यसैका नेता र कार्यकर्ताहरुलाई समेत पत्तै छैन। 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट संसदमा प्रतिनिधित्व गर्ने १७ सांसद मध्ये सबैभन्दा कान्छी नरमाया ढकाल ‘प्रज्ञा’ (३५) बारे पार्टीका नेताहरुलाई नै थाहा छैन, कार्यकर्ताको त कुरै छाडिदिउँ। राजपा कै नेताहरु प्रज्ञालाई भेट्न फागुन २१ गतेको शपथ ग्रहण कार्यक्रम कुर्दैछन्।

प्रज्ञाले अहिलेसम्म राजपाको साधारण सदस्यतासमेत नलिएको राजपाका नेताहरु बताउँछन्। प्रज्ञा राजपाको समानुपातिक सूचीमा खसआर्य क्लस्टरतर्फ एक नम्बरमा समावेश भएदेखि नै विवादमा मुछिँदै आएकी थिइन्।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग आर्थिक लेनदेनका आधारमा उनी समानुपातिक सूचीमा परेको भन्दै पार्टीभित्र र बाहिर पनि चर्चाको विषय बनेको थियो।

राजपाले समानुपातिकमा ६ सिट पाएकोमा संवैधानिक प्रावधानका कारण सबै महिला पठाउन निर्वाचन आयोगले निर्देशन दिएको थियो। समानुपातिक सदस्य छान्न राजपाका अध्यक्ष मण्डलका सदस्यहरुको बैठकमा सुरुमा खस आर्यबाट दोस्रो नम्बरमा रहेकी निर्जला राउत र मुुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा रहेकी चुन्नी खातुनको नाममा सहमति भएको थियो। तर निर्वाचन आयोगलाई पत्र पठाउँदा चुन्नी खातुनको नाम हटाई खसआर्यको तेस्रो नम्बरमा रहेकी रेणु शर्माको नाम सिफारिश गरियो। 

खसआर्यतर्फ बन्दसूचीमा पहिलो नम्बरमा रहेकी नरमाया ढकाल प्रज्ञालाई फिर्ता गराउन महतोले निर्वाचन आयोगलाई पत्रसमेत लेख्न लगाएका थिए। प्रज्ञाले पारिवारिक कारण देखाउँदै आफू सांसद बन्न अनिच्छुक रहेको पत्रमा उल्लेख गरेकी थिइन्। तर आयोगले यो पत्रलाई मान्यता दिएन र समानुपातिक सूची सच्याएर पठाउन निर्देशन दियो। 

त्यसपछि राजपाले खसआर्यतर्फ बन्द सूचीमा पहिलो नम्बरमा रहेकी प्रज्ञा र दोस्रो नम्बरमा रहेकी निर्जलाको नाम राखी आयोगमा पठायो र त्यही स्वीकृत भएपछि उनलाई सांसद निर्वाचित भएको घोषणा गरियो। 

यो बीचमा को हुन् नरमाया ढकाल भन्दै  सोसल मिडियामा उनको तस्बीर नै भाइरल भयो जसकारण प्रज्ञालाई आफ्नो फेसबुक अकाउन्ट पनि डिएक्टिभेट गर्नुपर्‍यो। उनले आफ्नो इन्स्टाग्राम अकाउण्ट पनि प्राइभेट गरेकी छिन्। 

को हुन् त नरमाया ढकाल ‘प्रज्ञा’?

प्रज्ञाको पति विष्णुहरि लामिछाने फर्निचर व्यवसायी हुन्। डिल्लीबजारमा बी एण्ड बी फर्निचरको शो रुम छ उनको। १५ वर्षभन्दा बढी समयदेखि लामिछाने फर्निचरको व्यापार गर्दै आएका छन्। स्रोतका अनुसार प्रज्ञा केही गैरसरकारी संस्थाहरुमा समेत सक्रिय छिन्।

राजपा अध्यक्ष मण्डलका सदस्य महतोसँग व्यापारी प्रज्ञाको आर्थिक लेनदेन कै आधारमा समानुपातिकबाट सांसद भएको आरोप राजपाकै नेताहरुले लगाउँछन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रज्ञाको ठेगाना स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका वडा नम्बर एकमा रहेको छ।
तर उनी पतिसँगै काठमाडौं मै बस्दै आएकी छन्। मतदाता नामावलीमा उनको नाम स्याङ्जा क्षेत्र नम्बर १ मा छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा राजपाले सिङ्गो जिल्लाबाटै जम्मा २८ भोट पाएको थियो। 


 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell