PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाबुरामले भने - कम्युनिस्ट कोकाकोला, कांग्रेस पेप्सीकोला 



चन्द्रकान्त खनाल

बाबुरामले भने - कम्युनिस्ट कोकाकोला, कांग्रेस पेप्सीकोला 

रुपन्देही: नयाँ शक्ति पार्टी नेपालका  संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने दावी गरेका छन्। नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फँस्ने उनले बताए। 

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले मुलुकका दुई ठुला राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी र नेपाली काग्रेसलाई कोकाकोला र पेप्सीकोलाको संज्ञा दिदै यी दुवै काम नलाग्ने बताए।

‘देशमा कांग्रेस र कम्युनिष्ट कोकाकोला र पेप्सीकोला जस्ता ब्राण्ड बनेर बसेका छन्। कोकाकोला या पेप्सी कुनैले पनि मानव शरीरलाई हित गर्दैन’ भट्टराईले भने, ‘हामीले जनतालाई हित हुने नयाँ पेय पदार्थ दिनुपर्छ।’

नेता भट्टराईले भर्खरै सम्पन्न चुनावमा पुराना राजनीतिक शक्तिहरुले जीत हासिल गरेपनि उनीहरुले देशलाई निकाश दिन नसक्ने दावी गरे। केही वर्ष सत्तामा हालीमुहाली गरे पनि उनीहरुले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको उको दावी छ । भट्टराईले कांग्रेस र कम्युनिष्टको सट्टा नयाँ बिचार सहितको तेस्रो ध्रुव खडा गर्ने बताए। 

‘डाक्टरले मात्र क्यान्सर रोगको पत्ता लगाउन सक्छ, सामान्य आँखा र सामान्य व्यक्तिले देख्न र पत्ता लगाउन सक्दैन । मैले देखिरहेको छु यी दलले मुलुकलाई पार लगाउँदैन,’ नेता भट्टराइले भने यी दुई पार्टीले गर्न नसक्ने काम हामीले गरेर देखाउछौं। 

भट्टराईले एमाले र माओवादी केन्द्रको एकताप्रति संकेत गर्दै कम्युनिस्टको पुरानो खोल ओढेकाहरु चक्रपथमा घुमे पनि कहिँ नपुग्ने दावी गरे। नेता भट्टराईले सही विचार लिनेहरु कहिलेकाहीं एक्लै पर्ने उल्लेख गर्दै विचारको पछि नलागेर सत्ताका पछाडि लाग्नेहरु लामो समय जनता समक्ष टिक्न नसक्ने बताए।

गौतम बुद्ध पनि ६ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, ५ जनाले छाडेपछि उनी एक्लै भए । आफ्ना पिता राजाले नौ पटक बोलाउँदा पनि उनी गएनन् बरु दूतलाई नै आफ्नो विचारमा सहमत गराए,’ भट्टराईले भने, ‘पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन, तर हामी लोभमा फस्दैनौ।’

उनले छिटो सत्तामा पुगिन्छ भन्ने सोचले पार्टीका केही नेता पलायन भएको टिप्पणी गरे । ‘आफूलाई क्रान्तिकारी भन्नेहरु कमिसनखोरसँग भोजभतेर गरेका छन’ भट्टराइले भने। फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने पाँच नम्बर प्रदेश संयोजक दानबहादुर चौधरीले उल्लेख गरे। 

नयाँ शैलीमा बैठकको उद्घाटन 


नयाँ शक्ति पार्टी नेपालको आयोजनामा लुम्बिनीमा शुरु भएको संघीय परिषद्को चौथो बिस्तारीत बैठकलाई नयाँ तरिकाले उद्घाटन गरिएको छ। गमलामा रोपिएको पिपलको बोटमा जल सिंचित गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। पार्टी संयोजक डा. भट्टराईले स्टेजमा राखिएको पिपलको बोटमा झण्डै दुई मिनेट सम्म पानी राखेका थिए।

बैठक उद्घाटन गर्दै डा. भट्टराईले बुद्धभूमि लुम्बिनीबाट मुलुक र बिश्वको हितका लागि नयाँ सन्देश र विचार प्रदान गर्नका लागि बैठक आब्हान गरिएको बताए। 'भगवान बुद्धले जसरी लुम्बिनीबाट विश्व माझ शान्तिको सन्देश छरेका थिए, हामीले पनि यहीबाटै नयाँ विचार स्थापित गरी देशलाई सहि निकास दिने छौँ', उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell