PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उल्लु उत्सव गर्न खोज्दा झण्डै उल्लु भइयो



उल्लु उत्सव गर्न खोज्दा झण्डै उल्लु भइयो

  • राजु आचार्य -
संसारमा उल्लु उत्सव जम्मा तीन देशमा मात्र हुन्छ- अमेरिका र इटाली। अर्को देश नेपाल हो। सात वर्षअघि मनाउन सुरु भएको यो उत्सव जति-जति पाको हुँदै गएको छ, त्यतिनै सरकारी, गैरसरकारी तथा स्थानीयले पनि रुचि बढाउन थालेका छन्। जिरीमा भर्खरै सम्पन्न 'लाटोकोसेरो तथा हुचील उत्सव' मा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागले गरेको सहकार्य एउटा उदाहरण मात्र हो।  बाघ, भालु, गैंडा, हिउँ चितुवा, हाब्रे, हात्तीमा मात्र चासो दिनेहरु बिस्तारै यस्ता जीवहरुको संरक्षण र अनुसन्धानमा पनि चासो राख्न थालेका छन्। शुरुमा कुरा गर्दा हाँस्नेहरू अहिले सहयोग गर्न थालेका छन्। उत्सव आफ्नो क्षेत्रमा गरियोस् भनेर अनुरोध गर्न थालेका छन्। तर यो यात्रा सोचे जस्तो सहज भने थिएन।       

हाँसो अनि खिसिट्युरी !

सात वर्ष अघि धादिङका तुलबहादुर गुरुङसँग यो उत्सवबारे पहिलोपटक  कुरा गर्दा उनी अलमलिए।  हाँसे। हामीलाई खिस्सी गरे झैँ लाग्यो। नजिकै रहेका सामुदायिक वनका अभियन्ता भूमिरमण नेपालको अनुरोधलाई नकार्न भने सकेनन् र तब मात्र उत्सव गर्न सहमत भए।  १८० जना मानिसको उपस्थितिमा भएको सो 'लाटोकोसेरो तथा हुचील उत्सव' थोरैलाई मात्र जानकारी भयो। केही स्थानीय मिडियाले प्रचार प्रसार पनि गरे।

त्यतिबेला मात्र हैन, अहिले पनि शुरुमा  उत्सवको कुरा गर्दा मानिसहरु जहिले पनि हाँस्छन्। अनि आफै उल्लु भइयो कि जस्तो लाग्ने गर्छ। गोरखा जिल्लामा उत्सवको पूर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा एक जना पत्रकारले 'अब कमिला उत्सव भयो भने पनि अचम्म मान्नु पर्दैन भनेर' लाटोकोसेरो उत्सव प्रति व्यंग्य कसे। दोलखाको जिरीमा पनि एकजना रक्सीले मातिएकाले 'डलर पचाउन आउनु भएको त होला नि?' भनेर गैरसरकारी संस्थाप्रति तिखो रोष प्रकट गरेका थिए।  शुरुमा मानिसहरुको यो उत्सवलाई हेर्ने दृष्टिकोण असामान्य रहने गरेको  छ।

कुनै कुनै ठाउँमा त 'यसको अवैध व्यापारबाट मनग्य कमाई हुने भएकोले उत्सवको माध्यमबाट लाटोकोसेरो पाइन्छ वा पाइँदैन भनेर हेर्न आउनु भएको होला हैन?' भनेर शंकाको घेरामा समेत पर्ने गरिन्छ। 

सबैभन्दा बढी सोधिने प्रश्न चाहिँ 'करौडौ रुपैयाँ ल्याइएको र केही लाख उत्सवमा खर्च गर्न आएका हुन्, पैसा नभई किन उत्सव गर्छन यिनले?'।

कास्की जिल्लाको सिक्लेसमा स्वयंसेवकहरु पुग्दा 'ल आइपुगे मासुभात खाने टोली' भन्दै घर बनाउँदै गरेका ज्यामीहरुले कटाक्ष गरेका थिए। यस्ता व्यङ्ग्यहरु गरिएलान् भनेर धादिङमा उत्सव गर्नुअघि मैले र यादव घिमिरेले कल्पनासमेत गरेका थिएनौँ। आजभोलि त सामान्य लाग्न थालिसक्यो। विश्व लाटोकोसेरो महोत्सवबाट प्रभावित भएर शुरु गरिएको यो उत्सवले सकारात्मक प्रतिकृया पाउन थालेको छ।  

विश्वमा लाटोकोसेरो महोत्सवको शुरुवात

सुरुवात अनौठो तरिकाले १८ वर्ष अगाडि अमेरिकामा भएको थियो। त्यतिबेला एउटा उड्ने बेला भएको उमेरको लाटोकोसेरो भूइँमा खसेको थियो। संरक्षणकर्मीहरुले पुनर्स्थापना केन्द्रमा खबर गरे। चराको उपचार भयो। तर पखेटा भाँचिएकोले आफ्नो घर फर्किन नसक्ने भयो। विसकन्सिन शहरमा छलफल चल्यो। संरक्षणकर्मी कार्ला ब्लोयेमले सरकारको स्वीकृतिपछि त्यस लाटोकोसेरोलाई घरमा लगेर पालिन्। यसको नाम रह्यो एलाइस। एलाइसलाई संरक्षणको काममा प्रयोग गर्न थालियो। पछि यसले फुल पार्‍यो।

अंग्रेजी महिनाको मार्चमा केही विद्यार्थीहरु जम्मा भएर कोरल्ने दिवस मनाइयो। अहिले भने सोही अवधिमा हजारौं जम्मा भएर ‘अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव’ मनाइन्छ।

किन मनाइन्छ उत्सव?

नेपालबाट वर्षेनी २ हजार वटा लाटोकोसेरो चीन र भारतमा  तस्करी हुने प्रारम्भिक अध्ययनमा देखिएको छ। यो व्यापार अन्य देशहरुमा पनि हुने गर्छ। यसका लागि नेपालमा ३२ वटा बाटाहरु भएर १४ वटा नाका हुँदै तस्करी हुने गरेको छ। भर्खरै प्रकाशित 'लाटोकोसेरो कि बाठोकोसेरो' पुस्तकका अनुसार नेपालमा अभिलेख गरिएका सबै २३ (१ प्रजाति लोप भएको अनुमान) प्रजातिहरुको अवैध व्यापार हुने गरेको  छ जसमध्ये हिमाली हाप्सीलो, हाप्सीलो, महाकौसिक, मलाहा हुचील र  चश्मे उलूकको व्यापार बढी हुने गरेको  छ।

 लाटोकोसेरोको कुनै पनि प्रजातिलाई पाल्ने, नोक्सान पुराउने, व्यापार गर्ने कामहरुलाई  'राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९' ले रोकेको  छ। यो जानकारी नहुँदा स्थानीय मानिसहरु यस्तो पेशामा संलग्न हुने हुँदा सो रोक्न यो उत्सव गरिंदै आएको हो।

लाटोकोसेरोले मुसाको  संख्या नियन्त्रण गरी किसानलाई सहयोग गर्ने तथ्यबाट धेरै जानकार छैनन्। यो  जानकारी गराउन पनि उत्सव आयोजना गरेका हौँ। एक सिजनमा एउटा लाटोकोसेरोको परिवारले ३ हजारसम्म मुसाको संख्या नियन्त्रण गर्छ।  

धार्मिक हिसाबले पनि लाटोकोसेरोलाई महत्व दिएको छ। धनकी देवी लक्ष्मीको यो वाहन हो। यसका साथै संस्कृति र स्थानीय लोपोन्मुख खेलहरुको प्रवर्द्धन गरी पर्यापर्यटनलाई टेवा पुर्‍याउन पनि यो उत्सव गरिंदै आएको हो। यो उत्सवले स्थानीयलाई मात्र नभई सञ्चारको माध्यम बाटसबै क्षेत्रका मानिसलाई संरक्षण गर्न प्रेरणा दिने उद्देश्यसमेत राखेको छ।              

प्रभाव कस्तो?

थुप्रै आलोचना र समालोचनाका बीच सञ्चालित यो उत्सवको प्रभाव के रह्यो भनेर कसैले सोध्यो भने देखाउने र देखाइ हाले पनि प्रमाणित गराउन सक्ने नतिजाहरु कमै छन्। धादिङमा लाटोकोसेरो संरक्षणको लागि छुट्याइएको दुई हेक्टरको क्षेत्र, चितवन र कपिलवस्तुमा  पालिएका लाटोकोसेरोहरु  प्राकृतिक वासस्थानमा छाडिएको, नवलपरासीमा खेतको बीचमा लाटोकोसेरो बसेर मुसा खोज्न सहज होस् भनेर बनाइएको खम्बा, गोरखाको बारपाकमा गुलेली प्रतिबन्धको लागि गरिएको तयारी, जिरीमा चोरी शिकारीलाई न्यून गर्न 'युवा संजाल जिरी' ले गरेको  प्रतिवद्धता केही उदाहरणहरु हुन्। यसबाहेक अवैध तर खुलमखुल्ला हुने व्यापारमा उल्लेख्य कमि आएको  छ। यसका लागि  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, जिल्ला वन कार्यालयहरु, वन्यजन्तु संरक्षण नेपाल, पन्छी संरक्षण नेपाल, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सबैको उत्तिकै भूमिका रहने गरेको  छ।

लाटोकोसेरो देख्ने बित्तिकै सम्पर्कमा आउने, फोटो खिचेर प्रजाति पहिचान गर्न चाहने, घाइते लाटोकोसेरोको  उपचार गर्ने र उद्दार गर्ने, ठाउँठाउँमा स्वस्फूर्त चेतना शिविर चलाउने व्यक्ति र समूहहरु बढ्दै जानु यो उत्सवको सकारात्मक नतिजाहरु हुन्।

नेपालबाट मात्र नभई यो उत्सवमा भारत, बेलायत, जर्मनी र स्विजरल्याण्डबाट समेत प्रतिनिधिहरु सहभागी भइसकेका छन्। केही महिनाअघि मात्र नेपालमा गरिने यो उत्सवबारे पोर्चुगलमा सम्पन्न 'अन्तराष्ट्रिय लाटोकोसेरो सम्मेलन'मा  चर्चा र प्रशंसा गरिएको थियो।

लाटोकोसेरो महत्वपूर्ण चरा हो, यसको  संरक्षणमा सहयोगी बन्नुपर्छ भन्ने स्पष्ट सन्देश यो उत्सवले सर्वसाधारण तथा नीतिनिर्माता लगायतका सरोकारवालाहरुलाई दिएको छ।  
 

कसरी गरिन्छ यो उत्सव ?

सामाजिक सञ्जालमा अनुरोध गरिएका स्थानहरुमा 'प्रकृतिका साथीहरु' संस्थाले प्रारम्भिक छनोट गर्छन्। छनोटको मुख्य आधार कार्यक्रमको प्रभाव कस्तो रहन्छ? स्थानीयको सहयोग कस्तो रहन्छ? कार्यक्रम स्थल कस्तो छ? सांस्कृतिक तथा पुराना खेलहरु खेलाउने सम्भावना आदि हुन्छन्। स्थान छनौट भइसकेपछि काठमाडौँमा महिनौँ तयारी र २० जनाको  स्वयंसेवक समूहले १ हप्ताको  मेहनतले यो कार्यक्रम हुने गर्छ। स्वयंसेवकहरुमा कलाकार, रोबोट मेकर, विद्यार्थी, गीतकार, संगीतकार, प्रोफेसर, चराविद्, व्यवसायिक फोटोग्राफर, डिजाइनर, शिक्षक आदिको सहभागिता सधैं रहने गरेको छ। माघको तेस्रो सातामा (फेव्रुअरी महिनाको पहिलो शुक्रबार र शनिबार) यो उत्सव पर्ने गर्छ।     

यो उत्सवको लागि नेपालमा काम गरिरहेका गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरुले आर्थिक सहयोग गर्न खासै चासो राख्दैनन्। नत निजि क्षेत्रका ठूला उद्योगले नै। प्रत्येक वर्ष श्रोत जुटाउन हम्मेहम्मे पर्ने गरेकोमा स्थानीय आयोजकले राम्रो सहयोग गर्ने गरेका छन्। यसपाली जिरीमा स्थानीय आयोजकले करिब २ लाख रुपैयाँ जति खर्च जुटाएर, आउने वर्षको लागि समेत ठूलो आत्मबल जगाई दिएका छन्। 

आयोजकहरुले पनि वार्षिक रुपमा सबैसँग मागिरहनुभन्दा स्थायी श्रोतहरुको पहिचान गर्नु आवश्यक भइसकेको छ। सरकारसँगको समन्वय केन्द्रमा रहनु पर्दछ। प्रचारप्रसारलाई तीब्र पारेर यो उत्सवलाई अन्तराष्ट्रियकरण गर्नु पर्दछ। यसबाट स्रोत जुटाउन सहज हुनका साथै लाटोकोसेरोको अनुसन्धान र संरक्षणको पाटो पनि सशक्त बन्न सक्छ।  

(आचार्य ‘प्रकृतिका साथीहरु’ संस्थाका कार्यकारिणी निर्देशक हुन्)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell