PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नाइजेरियाको कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन



पहिलोपोस्ट

नाइजेरियाको कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन
फाेटाे श्राेत: newsweek.com

अबुजा: नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन्। 

राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिएको सरकारका प्रवक्ताले जानकारी दिए। 

रक्षामन्त्री मन्सुर डान अली, विदेशमन्त्री जोफ्रि ओेन्यामा र सूचना तथा संस्कृति मन्त्री मोहम्मदलाई राष्ट्रपतिले छानविनको जिम्मा दिएको हो।

नाइजेरियाको योबे प्रदेश अन्तर्गत पर्ने डाप्छी भन्ने गाउँमा रहेको सरकारी छात्रा प्राविधिक क्याम्पसमा गत सोमबार भएको आक्रमणको बारेमा घटनास्थलमै पुगेर सरोकारबालाहरुसँग बुझेर अनुसन्धान थाल्न राष्ट्रपति बुहारीले निर्देशन दिए। 

बुहारीले सरकारी सेना र अन्य सुरक्षा निकायहरुलाई पनि घटनास्थलमा सुरक्षा सतर्कता बढाउन र हराइरहेका विद्यार्थीहरुको खोजी तथा उद्धारगर्न आग्रह गर्नुभएको प्रवक्ताले जानकारी दिए। रासस

अधिकारीका अनुसार कम्तीमा ४६ जना विद्यार्थी अहिलेसम्म पनि सम्पर्कविहिन रहेका छन्। सुरुमा क्याम्पसबाट ९४ जनाभन्दा बढी विद्यार्थी हराएका थिए। 

बोको हरामका सशस्त्र लडाकूले नै ती छात्राको अपहरण गरेको अनुमान गरिएको छ। ती मध्ये २८ जनालाई मङ्गलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ। 

झण्डै चारवर्ष अघि पनि बोको हरामले २७६ जना छात्रालाई विद्यालयबाट अपहरण गरेको थियो। अपहरितमध्ये १७० जनालाई मात्र उद्धार गरिएको थियो। 

योबेको छिमेकी प्रदेश बोर्नोमा पर्ने चिबोक सहरबाट उनीहरुलाई अपहरण गरिएको थियो। सम्पर्कबिहीन छात्राहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ। 

तर अहिलेसम्म उनीहरुले ती छात्राको उद्धार गर्न सकेका छैनन्। सरकारले बोको हरामलाई आतंकवादीको सूचीमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell