PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

५ वर्षसम्म कस्तो होला सिनेरियो?



किशोर नेपाल

५ वर्षसम्म कस्तो होला सिनेरियो?

-कान्तिपुर गाथा-

संघीय संसद र सातैवटा प्रादेशिक सभाको निर्वाचन सकिएपछि नेपालमा सम्वृध्दिको युग शुरु हुनैपर्ने थियो। किनभने, यो देश धेरै लामो समयसम्म विकासको चेपमा पर्‍यो। अहिले विकासका ती चेपहरुबाट देश मुक्त भएपछि सम्वृध्दिको यात्रा शुरु हुनु त अपरिहार्य थियो। सम्वृध्दिको अर्थ के हो? त्यो नेपाली मानिसलाई मात्रै होइन, कसैलाई पनि थाह छैन। सम्वृध्दिको अर्थ “राजकीय शव्दकोष” र एकताको “विशेषकोष” कतै फेला परेन। यसो भनौं भने, मानिसहरुले मेरा विरुध्द सम्वृध्दि विरोधी भनेर नारा लगाउलान्। मेरो नाममा छापिएका सबै विषय भाइरल होलान। यस्तै केही न केही पक्कै होला।

भनेपछि, हाम्रो यो सम्वृध्दिको नारा मौलिक रहेछ। शव्दकोषमा शव्दको अर्थ नहुनु र समान किसिमका शव्दहरु कुनैसँग पनि यसको मेल नहुनु भनेको नै यसको मौलिकता हो। एकजना भाषाशास्त्रीले भनिसकेका छन्, “यो मौलिक शव्द सम्वृध्दि ‘कन्साइज’ छ।” विकास शव्द उच्चारण गर्दा सांगीतिक नसुनिने, अब यो सम्वृध्दि शव्द उच्चारण गरौं भन्दा एक प्रकारको ‘मोनोटोनी’ आउने। नेपाली जनताकै कुरा गर्ने हो भने उनीहरुले विकास शव्दको उच्चारण गरेरै जीवन बिताए। विकासका लागि धेरै शहीद भए। हुलमूलमा त कति शहीद भए भए हिसाबै छैन। मर्नेले धर्ना – जुलुसमा मरे वापत एकमुष्ठ दशलाख पाए। उतिबेला मरेको भए दश लाख पाइने रहेछ भनेर थकथकाउनेहरु अहिले पनि धेरै होलान।

अब अहिले त विकास भन्ने वित्तिकै कि निद्रा लाग्छ कि ठेकेदारको गनगन शुरु हुन्छ : समयमा ठेकदारको बिल पास गरिदिएको भए अहिले काठमाडौं बत्तिसपुतलीबाट धुलोले डाँडा काटिसकेको हुने थियो। मानिस के बुझ्दैन भने ठेकेदारले कम्पनीमा पेश गरेको बिल समयमा नै पास भइसकेको हुन्छ। त्यो पास नभएसम्म त ठेक्काको गाडी नै गुड्दैन। त्यति भइसकेपछि, ठेकदारले कामदारलाई बिलको भुक्तानी छिटो गर्दैन। 

अहिले अपूर्व गल्ली खोलिएको छ। एकताका माओवादीको महान सेना वाइसिएलले यसलाई आफ्नो संरक्षणमा लिएका थिए। साँझ–बिहान गल्लीको पूर्वी र पश्चिमी गेटमा ताला लाग्दथ्यो। जँड्याहाहरु त्यो फलामे ढोका नाध्न उक्लिन खोज्थे र पेटीमा बजारिन्थे। केही समय यस्तै चल्यो। एकदिन वाइसिएलका भाइहरु के सोचेर हो त्यहाँबाट हटे। 

त्यसपछि अपूर्व गल्ली फेरि फोहोर हुन थाल्यो। अब सम्वृध्दिको यो कालमा आएर त्यो गल्ली गल्ली रहेन। बकायदा सडक बन्यो। व्दारिका होटलले गल्लीलाई सडक बनाउन चाहिने जग्गा दियो। त्यसैगरी, स्व. नगेन्द्रप्रसाद रिजालको परिवारले आफूतिरको जग्गा बाटोका लागि छाडिदिए। त्यो अपूर्व गल्लीको पूर्वी मुखमा एकजना नव–धनाढ्य भलादमीको घर बनेको रहेछ। त्यो घर बाटोको निधारमा उठेको टुटुल्को जस्तो छ। त्यसले बाटो छेकिरहेको संसारले देखे पनि नगरविकास र भाइकाजीले देखेका छैनन कि क्या हो? यस्ता कुरामा हस्तक्षेप गरेर अडंगा लगाउने काम अदालतले नै गर्छ भन्ने सुनिन्छ। अहिले ती नव धनाढ्य घरधनीले बाटो बन्द गराउने क्रममा अदालतलाई दाम चढाउने कर्ममा लागेको सुन्न थालिएको छ। यत्रो सम्वृध्दिको युगमा आएर पनि पैसा खुवाएर बाटो थुनौला भन्ने मानिसको कत्रो आँट। 

खै, एमालेका हस्तीहरुले नै प्रधानमन्त्री केपी ओलीलाई पार्टीको हितमा काम गर्ने विषयमा भाँजी नहाले पनि सरकारले गर्नुपर्ने काम गर्न देलान जस्तो छैन। हुन त, उनी रेलमार्गको निरीक्षणका लागि केरुङ पुगिसकेका छन्। तर, प्रचण्डलाइ थाह छ कि रेल आउँछ। रेल आउने कुरामा केपीभन्दा प्रचण्ड विश्वस्त छन्। यो अघिल्लो पाँच वर्षमा रेल नआउने सूचना पाएपछि मात्रै उनी पाँचवर्ष आफू प्रधानमन्त्री नहुने भनेर पछि हटेका हुन्। अब पाँच वर्षपछि उनको कार्यकालमा रेल पक्का आउनेछ।

साँच्चै आउँदो पाँच वर्ष कस्तो होला सिनेरियो? रवीन्द्र मिश्रका रैथाने प्रति द्वन्द्वी प्रकाशमान नै होलान कि अरु कोही होलान? त्यसो भयो भने चुनावको परिणाम उल्टिएला। अहिले नै रवीन्द्र मिश्रको नाउँमा धुपाउरो सल्काएर कुर्लिने देशका महेन्द्रवादी ठेट्ना–बड्क्यौंला सुधारवादीहरुले के गर्लान्? डा. गोविन्द केसीलाई डाइरेक्ट राष्ट्रपति बनाउनुपर्छ भनेर कोही अनशन बस्लान कि नबस्लान? के होला रानी पोखरीको अवस्था? देशको भविष्य कस्तो होला? भारतीयहरुले नेपालको विकास विरोधी पाइलो पछाडि सारेकाले सम्वृध्दि त पक्कै आउला नि। कि त्यो नाम पनि नआउने हो? शंका गर्नुपर्ने विषय होइन त?

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुन्छ। )
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell