PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कांग्रेसमा 'अर्ली महाधिवेशन'को माग : केसीले भने-पार्टी गिरोहले चलाए जस्तो भो



कांग्रेसमा 'अर्ली महाधिवेशन'को माग : केसीले भने-पार्टी गिरोहले चलाए जस्तो भो

काठमाडौं: नेपाली कांग्रेसले १३ औं महाधिवेशन गरेको दुई वर्ष पुरा हुनै लागेको छ। २०७२ फागुनको तेस्रो साता सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारीको कार्यकाल अब दुई वर्षमात्र बाँकी रहेको छ।

तर कांग्रेसले अहिलेसम्म महत्वपूर्ण मानिने उपसभापति, सहमहामन्त्रीहरु चयन गर्न सकेको छैन। 

पार्टी विधिसम्मत नचलेकै कारण पदाधिकारी चयन हुन नसकेको र कांग्रेस ओरालो लागेको कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आरोप लगाए।

'उपसभापतिको के कुरा, पदाधिकारीको के कुरा? पार्टी नै विधिसम्मत चलेको छैन, पूरै गिरोहले चलाएजस्तो देखिन्छ,' केसीले पहिलोपोस्टसँग भने, 'न त भ्रातृ संगठन सक्रिय छन्, न कुनै विभागले पूर्णता पाएको छ।'

पार्टीमा ४२ वटा विभाग रहेको र ती कुनै पनि गठन नभएको उल्लेख गर्दै उनले पार्टीभित्र धेरै विषय सुधार गर्नुपर्ने बताए।

पार्टीलाई संस्थागत बनाउन नसक्नु र बलियो बन्न नदिनुमा अहिलेकै नेतृत्व दोषी रहेको केसीले दाबी गरे।

'विभागहरुले पूर्णता पाएको भए, पार्टीमा पदाधिकारीले पूर्णता पाएको भए निर्वाचनमा पनि यतिको कमजोर सावित हुने थिएन,' केसीले भने, 'नेतृत्व नै काम नगरी बसेपछि परिणाम के हुन्छ?'

पदाधिकारीले पूर्णता नपाउनुमा केन्द्रीय समितिको पनि कमजोरी रहेको स्वीकार्दै अब सशक्त ढंगले अघि बढ्ने बताए।

उनले भने, 'महाधिवेशन भएको २ वर्ष भइसक्यो। नेतृत्वले केही गरेन। त्यो देखिएकै कुरा हो। त्यसमा केन्द्रीय समितिको टिमको पनि कमजोरी छ। अब हामी अर्ली महाधिवेशनको मागको तयारीमा छौं।'

विशेष महाधिवशेन जटिलता बन्ने देखिएकाले तत्कालै महाधिवेशनको खाँचो रहेको बताउँदै केसीले अर्ली महाधिवेशन अहिलेको आवश्यकता भइसकेको दाबी गरे।

'अब तत्काल महाधिवेशनको आवश्यकता देखिसकेको छ। आइतबार बस्ने केन्द्रीय समितिमा महासमितिको माग हुन्छ। महासमिति बसेकै बेला अर्ली महाधिवेशनको माग गरिनेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell