PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एकता भत्काउन जस्तोसुकै षड्यन्त्रको खतरा : प्रचण्ड



पहिलोपोस्ट

एकता भत्काउन जस्तोसुकै षड्यन्त्रको खतरा : प्रचण्ड

काठमाडौं : वाम एकतालाई भत्काउन खोज्नेहरुले जस्तोसुकै षड्यन्त्र गर्न सक्ने खतरा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

रामराजा रेग्मीको “नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले एकतालाई अनिष्ट भयो भनेर तर्सेका दक्षिणपन्थी शक्तिहरुले वामपन्थीभित्रकै समूहलाई उपयोग गरेर एकता भत्काउन जुनसुकै सीमासम्म जान सक्ने बताए।

पार्टी एकता गर्ने पहल शुरु भएपछि विभिन्न कोणबाट विचार विमर्श भएको बताउँदै उनले एकथरीले विरोध र अर्कोथरीले समर्थन गरेको चर्चा गरे। 

“राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनताको जीवनमा असर पर्ने किसिमले पनि बहस शुरु भएको छ। एकथरीले अनिष्ट शुरु भयो भनेका छन्। अधिनायकवादतिर जान्छ, निरंकुशतिर गयो भनेर एकथरीले भनेका छन्,” उनले भने, “अर्कोथरीले बिल्कुल ठीक भयो, पहिल्यै हुनुपर्थ्यो, तर अब ठीक छ भनेर अनुमोदन गरेका छन्।"

उनले वाम एकताको घोषणाले पैदा गरेको तरंग सबैभन्दा ठूलो रहेको बताए। 'यो आम जनताका लागि सकारात्मक र अर्कोपक्षका लागि नकारात्मक पनि गुणात्मक रुपले ठूलो छु,' प्रचण्डले भने, 'मलाई के लाग्छ भने परस्पर विरोधी कित्ता र आन्दोलनभित्रकै गलत चिन्तन र प्रवृत्तिसँग सम्बन्धितहरुको कुरा गर्दा कहीँ न कतै त्यहाँ अनौठा अनौठा समीकरण देखिन सक्छन्।'

प्रचण्डले नेपालको इतिहासलाई नयाँ ढङ्गले अघि बढाउन खोजिएको भन्दै इतिहासको निर्माता जनता भएको बताए। अहिले निर्वाचनमार्फत् जनताले स्थायित्व, समृद्धि र सुशासनका लागि वाम एकतालाई अनुमोदन गरेको हुँदा त्यसबाट पछाडि हट्नै नसकिने जिकिर गरे। भने, 'पपुलर भोटको कुरा गर्दा ५१ प्रतिशत र प्रतिनिधिमूलक भोट ६७ प्रतिशत छ। त्यसैले यसलाई भत्काउन खोज्नेहरु जुनसुकै सीमामा जान सक्छन्। यसलाई भत्काउन ठूलाठूला षडयन्त्र हुनेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell