PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनलमा मध्यमाञ्चल र पूर्वाञ्चल तथा एपीएफ र सुदूरपश्चिम भिड्ने



पहिलोपोस्ट

महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनलमा मध्यमाञ्चल र पूर्वाञ्चल तथा एपीएफ र सुदूरपश्चिम भिड्ने

धनगढी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। शुक्रवार भएको समूह चरणको अन्तिम खेलपछि सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेसँगै अन्तिम चारको समिकरण बनेको हो।

शुक्रवारको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलाई ९८ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो। जितपछि पूर्वाञ्चल समूह बी को उपविजेता बन्यो। यसअघि नै समूह बी बाट एपीएफ समूह विजेताको हैसियतमा सेमिफाइनल पुगिसकेको छ। शुक्रवारै भएको दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै समूह ए को विजेता बन्यो। उद्घाटन खेलमा विजयी भएको घरेलु टोली सुदूरपश्चिम हारेपनि समूह उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो।

शनिवार हुने सेमिफाइनलमा मध्यमाञ्चलले पूर्वाञ्चल तथा एपीएफले सुदूरपश्चिमसँग खेल्नेछ।

नेपाली टोलीकी कप्तान समेत रहेकी पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको अलराउण्ड प्रदर्शन मद्दतमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित हासिल गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेक पूर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३४ रन बनाएको थियो। पुर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रन बनाइन्। मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १ विकेट लिए।

१३५ रनको लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चल १९ ओभरमा मात्र ३६ रनमा अलआउट भयो। १२ रन अतिरिक्तबाट पाएको मध्यपश्चिमका लागि कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडी खाता नखोली आउट भए। मध्यपश्चिमाञ्चललाई कम स्कोरमा अलआउट गर्न पूर्वाञ्चलकी कप्तान रुवीना क्षेत्री, अनुपमा चौधरी र संगम तामाङले २-२ विकेट लिईन्। नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भईन्।

अर्को खेलमा सुदूरपश्चिममाथि १२ रनको जित हासिल गर्दै मध्यमाञ्चल समूह ए को विजेता बन्यो। टस जितेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाएर १०५ रन बनाएको थियो। मध्यमाञ्चलका लागि सीता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४-१४ रन बनाए। सुदूरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुँवर र लक्ष्मी साउदले समान १ विकेट लिए।

१०६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई कायम राख्न नसक्दा हार बेहवर्‍यो। सुदूरपश्चिमलले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका लागी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेका थिए। कविताले २२ तथा मञ्जुले ८ रन बनाईन्। बलिङमा उत्कृष्ट प्रदर्शन गरेकी कविता जोशीले ब्याटिङमा समेत नटबउट रहदै ३९ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकिनन्। वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भईन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell