PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

ओलीको जन्मदिनमा केकै केक : यसरी अस्तव्यस्त भयो बालुवाटार



गोविन्दराज नेपाल

ओलीको जन्मदिनमा केकै केक : यसरी अस्तव्यस्त भयो बालुवाटार

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीको शुक्रवार ६७ औं जन्मदिन। मध्यरातमा पत्नी राधिका शाक्यसँगै केट काटेर जन्मदिन सेलिब्रेसन थालेका ओलीका लागि शुक्रवार दिनभर जन्मदिनमय बन्यो। प्रधानमन्त्रीले आज पटकपटक केक काटे। 

बिहानै पार्टीबाट ल्याइएको सूर्य चिन्हले सजाइएको केक काटेर प्रम ओलीले पार्टी पङ्तिसँग जन्मदिन मनाए। त्यसपछि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ल्याएको फुटबल आकारको केक काटे।
 
ओलीका लागि शुक्रवार विशेष दिन बन्यो। भारत र चीनका राजदूत बुके बोकेर जन्मदिनको शुभकामना दिन पुगे। पार्टी पङ्ति र शुभचिन्तकहरु पनि के कम? शुभकामना दिने रहर पूरा गर्न हिँडे। 
  
एमाले स्थायी कमिटीको बैठकले प्रम ओलीलाई पार्टीबाट मन्त्री छान्ने जिम्मा दियो, जन्मदिनको शुभकामना पार्टीको औपचारिक मिटिङमै हुने भइहाल्यो। त्यसबाहेक प्रम निवास बालुवाटारमा पनि दिनभरी ओलीको जम्मदिनको रौनक रह्यो। 


ओलीलाई भेट्न, फुलगुच्छा दिन जानेहरुले बर्थ डे केक पनि बोकिरहेका थिए। कुनै एउटा क्षेत्रका मानिस थिएनन् जसले ओलीलाई 'विस' गरेनन्। यसमा खेलाडीहरु पनि जोडिए। त्यसमाथि ओलीले नेपालको क्रिकेट टोलीलाई पुरस्कृत गर्ने दिन पनि आफ्नै जन्मदिन पारेका थिए। 

आज दिउँसो ३ बजे क्रिकेटरहरु बालुवाटार छिरिसकेका थिए पुरस्कार थाप्न र विदाइ लिन। नेपाली टिमका खेलाडीलगायत अफिसियलहरु तोकिएको समयमै बालुवाटार पुगिसकेका थिए। 

तर, कार्यक्रम तोकिएको समयमा सुरु भएन। बर्थ डे सेलिब्रेटसँगै ओली बालुवाटार निवासमा आराम गरिरहेका थिए। उनलाई भेट्न उनका समर्थक, कार्यकता लगायतका व्यक्तिहरुको घुँइचो थियो बालुवाटारमा। सबै ओलीको प्रतीक्षामा थिए। महिलाहरुको भिड उत्तिकै थियो ओलीलाई शुभकामना दिन। 

खेलाडीहरु भने शुभकामना दिन भन्दा पनि नगद र सम्मान बुझ्न बालुवाटार पुगेका थिए, साथै बिदाइ हुन पनि। तर, बर्थ डे सेलिब्रेसनको मुडमा रहेको बालुवाटारमा निकै अल्मलिन पर्‍यो उनीहरुले। प्रधान मन्त्रीबाट पुरस्कृत भएर बिदाइ हुनु पनि थियो। नेपालमा खेलक्षेत्रको कार्यक्रम केही ढिला हुनु सामान्य नै बनिसकेको छ। तर, प्रधान मन्त्री जस्तो व्यक्तिको उपस्थितिमा हुने कार्यक्रम पनि समयमा सुरु हुन सकेन। बालुवाटार खेलाडीको सम्मान र बिदाइमा भन्दा पनि ओलीको जन्मदिनमा रमेको थियो। 


बालुवाटारमा रहेको स्वकिय सचिवायलको हलमा ओलीलाई पर्खनेको भिडमा कलाकार, राजनीतिक दलका कार्यकर्ता, भातृ संस्थाका सदस्यदेखि पुराना राष्ट्रिय खेलाडीसम्मको उपस्थिति थियो। सम्मान थाप्न गएका नेपाली राष्ट्रिय क्रिकेट टिम बाहिर बसेर प्रधानमन्त्री आउने बाटो कुरिरहेका थिए। 

खेलाडी पुगेको एक घण्टा बित्यो, ओली आएनन्। पर्खाइले दुई घण्टा छुन लागिसकेको थियो। खेलाडीहरु अन्योलमा परिसेका थिए। सम्मान थाप्न बस्ने कि के गर्ने? तर ढिलै भए पनि प्रम ओली कार्यक्रम हुने हलमा आइपुगे। खेलाडीहरु पनि हलभित्र प्रवेश गरे।
 
अन्य कार्यक्रममा खाली हुने हल शुक्रबार भरिभराउ थियो। सम्मानित हुने खेलाडी समेत बस्ने ठाउँ थिएन। ओलीको जन्मदिनमा केकसहित पुगेका मानिसहरु कुरिरहेका थिए। त्यही कुरिरहेका मानिसहरुले उठेर खेलाडी बस्ने ठाउँ जोहो गरे।
 
त्यसपछि सुरु भयो कार्यक्रम। प्रम ओलीको कार्यक्रम भनेपछि उनले के बोल्छन् भन्ने सबैको चासो हुन्छ। तर, उक्त हलमा बस्न त के उभिने ठाउँ समेत थिएन। निकै संघर्षका साथ पत्रकारहरु एक कुनामा उभिए। युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बोलेपछि प्रम ओलीको बोल्ने पालो आयो। 

उनले बोल्ने बेला क्यामेराका लेन्सहरु त्यतै सोझिए। कोही फोटो खिच्न कोही भिडियो खिच्न तयार थिए।


ओलीले खेलाडीलाई सम्मान गरेपछि आफ्नो भाषण सुरु गरे। उनले खेलाडीको सम्मानले अरुलाई हौसला प्रदान गर्ने बताउँदै भाषण सुरु गरे। उनले सुपर खेलाडी यही देशमा हुने बताए। नेपाल पनि सुपर देश हुन सक्ने बताए। नेपाली जाति विश्वमै बहादुर र वीर जाति भनेर चर्चित रहेको प्रसंङ्ग उल्लेख गर्दै जिम्वावेमा खेल्न जाने खेलाडीलाई आत्मविश्वासका साथ खेल्न र सफलताका साथ फर्कन शुभकामना दिए।
 
ओली साहित्य, गणित, नाटक जस्ता विषय विश्वमा नहुँदा नेपालबाट सुरु भएको  बताउँदै नेपाल बुद्धको देश अग्ला हिमालको देश रहेकाले खेलाडीहरुले समेत राम्रो खेल्दै गौरव बढाएको बताउँदै माहोल जमाउँदै थिए।

'२५ सय वर्ष अगाडि यहाँका बुद्ध जन्मे। यहाँका हिमाल अग्ला छन्। यहाँको रुखै नै अग्ला छन्। यहाँ सबैको उचाई अग्लो छ,' उनले भने। उपस्थितहरुको मुहारमा हाँसो छायो।

बिहानबाट केक काट्दै सुरु भएको उनको दिनमा क्रिकेटरसँग पनि केक काटे। पारस खड्कालाई त खुवाउन पनि भ्याए। उनको जन्मदिनमा पटक पटक केक उनी आफैले काटे। नभ्याउँदा पत्नीले काटिन्। तर, केक काट्ने कार्यक्रमले बालुवाटारलाई आज अस्तव्यस्त मात्र बनाएर ओलीप्रति अपेक्षा बोक्नेहरु कति धेरै छन् भन्ने पनि उजागर गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell