PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘आइरन चक्की’ दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि !



पहिलोपोस्ट

‘आइरन चक्की’ दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि !
Photo: Facebook/Beni Hospital

म्याग्दीः जिल्लाको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ। 

विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराउन पुगेकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोल (जुकाको औषधि)को बट्टा दिएका थिए। 

कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए। 

उनीहरुले अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन्। खड्का हाल सात महिनाकी गर्भवती छिन्। स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण आमा र बच्चाको स्वास्थ्य जोखिममा परेको पीडितको गुनासो छ। 

आइरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानबिन गरी लापरबाही गर्ने कर्मचारीलाई कारबाही र गर्भबती महिलाको स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने माग गरेका छन्। 

अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले औषधि दिँदा कमजोरी भएको स्वीकार गर्दै बेनी र पोखराको अस्पतालमा भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा भने असर नगरेको देखिएको बताए। 

चेप्टेजुका परेको अवस्थामा गर्भवतीलाई समेत ९० दिनसम्म अलबेण्डाजोल खुवाउनुपर्ने तर कुँवरको स्वास्थ्य परीक्षण रिपोर्टमा जुका परेको नदेखिएको उनको भनाइ छ। 

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, बेनपा-५ का वडाध्यक्ष लक्ष्मण बानियाँ र अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको रोहबरमा सोमबार डा. न्यौपाने र पीडित परिवारबीच लापारवाही गर्ने कर्मचारीलार्इ कारवाही गर्ने सहमति भएको छ। 

कर्मचारीमाथि छानबिन गरी विभागीय कारबाही गर्ने, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र सहज रुपमा सुत्केरी हुने व्यवस्था मिलाउने सहमति भएको अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले जानकारी दिए। 

अध्यक्ष रेग्मीका अनुसार छानबिनका क्रममा लापरबाही गरेको भेटिएकाले सो दिन औषधि वितरण कक्षमा रहेकी कर्मचारी राधिका आचार्यलाई विभागीय कारबाही प्रक्रिया अघि बढाइको छ। 

पछिल्लो समय बेनी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने, प्राविधिक शिक्षालयबाट अभ्यासका लागि आएका सिकारुका भर पर्नुपर्ने, गलत औषधि दिने, घाउको टाँका लगाउँदा कपास भित्रै छोड्ने, शव परीक्षणमा ढिलासुस्ती गर्नेलगायत गुनासा आएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell