PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सेफ सापकोटाको सीप: सुनको ओभनमा पकाउँछन् पिज्जा 



पहिलोपोस्ट

सेफ सापकोटाको सीप: सुनको ओभनमा पकाउँछन् पिज्जा 

  • भरत प्रधान-

पोर्चुगल: कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन्।

घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर अढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन्।

इटालियन खानाका लागि सापकोटा युरोपमा प्रख्यात छन्। इटालियन सेफका रुपमा चर्चित सापकोटा युरोपका एक सफल व्यवसायी पनि हुन्।

सापकोटाले आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीनवटा इटालियन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ पनि सञ्चालन गरेका छन्।

आफैंले केही गरेपछि मात्र बिहे गर्ने सोच बनाएका सापकोटालाई बुबाआमाले बिहे गर्न करकाप गरे तर उनी बिहे नगरी १८ वर्षकै उमेरमै विदेशिएको सुनाउँछन्।

उच्च शिक्षा हासिल गरी नेपालमै केही गर्ने सोच बनाएका कानुनका विद्यार्थी सापकोटा सन् १९९२ मा गाउँकै एक छिमेकी दाइसँग जर्मनी छिरेका थिए। बिहान जर्मनी ओर्लेका सापकोटाले त्यही दिन साँझदेखि एक इटालियन रेष्टुराँमा काम गर्न थालेको बताए।

केही सीप नभएकै कारण शुरुमा सापकोटाले दैनिक १२ घण्टा भाँडा माझे। उनलाई यो कामदेखि निकै ग्लानि भयो। तर युरोपमा श्रमको उच्च सम्मान भएकै कारण काम गर्दै जाँदा सामान्य जस्तै लाग्यो।

नयाँ ठाउँ, भाषाको समस्या, त्यसमाथि सीप नभएकै कारण निकै दुःख भोग्नुपरेको स्मरण गर्दै सापकोटाले विगत सम्झिए। “सीप नभएकै कारण करिब डेढ महिना भाँडा माझे, भाषा नबुझेर कति दिन त भोकै पनि सुतें,” सापकोटाले भने – “धेरै दुःख भोगें। विदेश आएकामा कता कता पश्चाताप पनि लाग्यो। त्यसबखत स्वदेश फर्केर अध्ययनलाई निरन्तरता दिऊँ कि जस्तो पनि भयो।” श्रमको उच्च सम्मान अनि सबैले उस्तै मेहनत गरेको देख्दा आफूलाई पनि काम गर्ने जोश, जाँगर र उत्साह आएको सापकोटा सम्झिन्छन्।

उनी दायाँबायाँ नलागेर पाक कलामै भविष्य खोज्न तल्लीन भए। सानो छँदा आमाले मीठो–मीठो पकाएर खुवाएको स्मरण गर्दै सापकोटाले भने – “बाल्यकालदेखि नै आमासँग खाना पकाउन सिकेको थिएँ।

यसैकारणले पनि मलाई विदेशी खानाबारे थप जिज्ञासा, रुचि र मोह बढ्दै गयो। पाक कलामै सफल हुने अठोटका साथ मेहनत गर्दै गएँ।” काम गर्ने फरक शैली, इमान्दारिता, लगनशीलता र जिज्ञासु स्वभावका कारण सापकोटा रेष्टुराँ सञ्चालकको नजरमा उत्कृष्ट ठहरिँदै गएको उनले बताए।

सापकोटाको कामप्रतिको लगाव र मेहनत देखेर रेष्टुराँ मालिकले उनलाई एक पछि अर्को जिम्मेवारी दिँदै गए। भाँडा माझ्ने कामदारका रुपमा उक्त रेष्टुराँमा प्रवेश गरेका सापकोटा किचन हेल्पर, वेटर हुँदै तीन वर्षमै इटालियन सेफ बन्न सफल भए। परिश्रमले नै आफूलाई सफल सेफ बनाएको ठान्ने सापकोटाले भने – “यही क्षण नै मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण क्षण हो। ५५० युरोबाट पारिश्रमिक वृद्धि भई एक हजार १०० युरोसम्म पुगेको थियो।”

निरन्तर चार वर्षसम्म उक्त रेष्टुराँमा काम गरेपछि उनी नयाँ सोच र सपना बुनेर सन् १९९६ मा पोर्चुगल हानिए। पोर्चुगलमा फेरि अर्को संर्घष शुरु भयो। मासिक ३०० युरोमा काम शुरु गरेका सापकोटाले तीन वर्षपछि आफ्नै लगानीमा इटालियन रेष्टुराँ खोलेको बताउँछन्।

उनमा खानाबारे व्यावहारिक ज्ञान भए पनि सैद्धान्तिक ज्ञान थिएन। त्यसपछि उनी इटालीको रोमस्थित गाम्बेरो रोस्सो एकेडेमीमा इटालियन परिकारसम्बन्धी दुई वर्षे कोर्ष पढ्न शुरु गरे। ज्ञानले खारिएका सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा थप दुई वटा इटालियन रेष्टुराँ सञ्चालन गरे। सापकोटाले सञ्चालन गरेका कोमे प्रिमा, र्फोनो दे ओरो र इल मेर्कातो युरोपमै चर्चित इटालियन रेष्टुराँ हुन्।

सापकोटाका अनुसार र्फोनो दे ओरो रेष्टुराँ विश्वकै उत्कृष्ट २० पिज्जेरिया अर्थात् पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो जहाँ सुनको चुल्होमा खाना पकाइन्छ।

सुनको चुल्होमा खाना पकाइने उक्त रेष्टुराँ विश्वकै दोस्रो रेष्टुराँ भएको सापकोटाको दाबी छ। सोही सुनको चुल्होमा सापकोटाले दैनिक इटालियन पिज्जा पकाउँछन्। अन्य रेष्टुराँ भन्दा पृथक, दाउराको चुल्होको प्रयोग र विशुद्ध इटालियन परिकार पाइने भएकै कारण आफ्नो रेष्टुराँ इटालियन खानाका पारखीहरुको रोजाइमा परेको सापकोटाको भनाइ छ।

सापकोटा स्वयं अहिले पनि दैनिक १६ घण्टा खट्छन्। सापकोटाले गरेको मेहनत देखेर पोर्चुगिज नागरिकहरुले समेत उनलाई उच्च सम्मान र प्रशंसा गर्छन्। उनलाई भेट्न आउने जो कोहीले पनि उनी सेफ पोशाकमै खाना पकाइरहेको देख्न सक्छन्।

इटालियन खाना बनाउँदा छुट्टै आनन्द र रोमाञ्चको अनूभुति हुने उनको भनाइ छ। पछिल्लो समय अन्य उत्कृष्ट पेशामा झैं खाना बनाउने कलामा विशेषज्ञता हासिल गर्नेेहरुको मोह विश्वमै क्रमिक रुपमा बढ्दै गएको सापकोटाको अनुभव छ।

युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’ बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई हालै मात्र विश्व सम्पदा सूचीमा समावेश गरेको छ जसमा पोर्चुगलबाट छनौट भएका चार इटालियन पिज्जा रेस्टुराँमध्ये दुई वटा सापकोटाले सञ्चालन गरेका रेष्टुराँ परेका छन्। न्यापोलितान पिज्जाका दुई परिकार ‘मारिनारा र मागएरिता’ विश्वभरका पिज्जा पारखीहरुमाझ निकै प्रख्यात छ।

सापकोटाका अनुसार मीठो, स्वादिष्ट, स्वस्थकर, पकाउने सरल विधि र सबैको पहुँचमा भएकै कारण विश्वबजारमा इटालियन खानाको माग दिनप्रतिदिन बढ्दो छ। विश्व बजारमा निकै महंगो संसारकै सीमित रेष्टुराँहरुमा पाइने च्याउका प्रजातिबाट बनाइने खाना, आधुनिक वैज्ञानिक विधिबाट निश्चित तापक्रममा पकाइने मासुका परिकार, पिज्जा, पास्ता, चाउचाउ लगायतका खाना सापकोटाले बनाउने विशेष इटालियन परिकारहरु हुन्।

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन्। साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन्।

उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन्। इटालियन खानामा अद्भूत कौशल प्रदर्शन गरेकै कारण इटाली सरकारले सापकोटालाई उत्कृष्ट अवार्ड नै प्रदान गरेको छ। सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए। सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालियन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत लेखेका छन्।

उनले नेपालको पहिचान, कला, संस्कृति र नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानी लिस्बनमै दुई वटा नेपाली रेष्टुराँ पनि सञ्चालन गरिरहेका छन् जहाँ परम्परागत र आधुनिक नेपाली खानाका परिकारहरु पाइन्छ।

उनले सञ्चालन गरेको प्रत्येक रेष्टुराँमा प्रतिदिन ३०० देखि ३५० जनाले खाना खान्छन्। पाँच वटा रेष्टुराँका मालिक सापकोटाले ६० नेपाली र २० विदेशी गरी ८० जनालाई रोजगारी समेत दिएका छन्। सापकोटाले पोर्चुगलमा पाइने ओलिभ, चेरी लगायतका वनस्पति बाग्लुङ्गमा र नेपालमा पाइने धनियाँ, तुलसी, मरहटी पोर्चुगलमा परीक्षण खेती समेत शुरु गरेको बताए।

आफ्नो यो सफलताको श्रेय भने जर्मनीका रेष्टुराँ मालिकसँगै आफ्नो बुबाआमा र श्रीमतीलाई दिन चाहन्छन् उनी। सपरिवार पोर्चुगल बस्दैआएका सापकोटालाई उनकी श्रीमती सीता सापकोटाले व्यवसायमा सघाउने गरेकी छन्। नेपालीहरुप्रति युरोपेलीहरुको हेराइ निकै राम्रो भएको उनको बुझाइ छ।

सापकोटा गैर आवासीय नेपाली संघ पोर्चुगलका संस्थापक समेत हुन्। पोर्चुगल आउने धेरै नेपालीलाई रोजगारीको व्यवस्था मिलाइदिने, पीडित नेपालीहरुलाई सहयोग गर्ने जस्ता काममा पनि उनी अग्रसर हुन्छन्। आफूसँग रहेका पाक कलालाई नेपालमा समेत प्रवद्र्धन गर्ने उनको योजना छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell