PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


कनिकाको होली अनलाइनमै


किशोर नेपाल

कनिकाको होली अनलाइनमै

सुदिप्तीको नेतृत्वमा बनेको थियो होली टिम। तीनजना पुरुष र चार महिला। महिला भन्न अलि मिलेन क्या रे: चारजना युवती। होलीको कार्यक्रम सेट थियो साढे दश बजेका लागि। युवा सदस्यहरु अलि छिटो कार्यक्रम शुरु गर्ने मुडमा थिए। केटीहरुले छोटो खालको चोली र सारै छोटो खालको कट्टु लगाएका थिए। केटीहरु भन्दै थिए, “जाडो छ।”

होलीको दिन अनलाइनले पनि होली खेल्ने विचार गरेको थियो। हेडलाइन सुदिप्ती आफैंले लेखी – जोगीरा सररररर.... त्यसको मुनी कनिकाले न्युज लेखी – “अर्को वर्ष आजको दिन चीनको केरुङबाट रेल आउने।” त्यसको काउन्टरमा अर्को शीर्षक लेखी, “हुलाकी राजमार्ग अन्योलमा। जयनगर–बर्दिवास रेल खतरामा।”

केटाहरुले भोड्काको भाउ घटेको, व्हिस्कीको भाउ अलिकति बढेको र दाल–चामलमा धेरै नै भाउ बढेको खबर लेखे। यति लेख्दा लेख्दै अफिसमा होली शुरु भै सकेको थियो। सुदिप्तीले भनेजस्तो सन्तुलित होली खेल्ने मुडमा कोही थिएन। पूर्णिकाले आफनो ब्वायफ्रेन्ड तरंगलाई रंगले नुहाइ दिइ सकेकी थिइ। कनिकालाई गम्रङ्ग अँगालो मारेर सुदिप्तीले उसको अनुहारमा पञ्चरंगी घसी सकेकी थिई। सुदिप्तीको टीम एक–अर्कालाई नचिन्ने भै सकेको थियो। बिहान मिल्कसेक तयार पार्दा मधुले घोट्टा मिलाइ दिएको थियो त्यसमा। थोरै थियो र मात्रै नत्र त अहिलेसम्म सबै निदाइ सकेका हुन्थे। झण्डै एकघण्टा पछि सबै नर्मल भए। राकेशले सम्झायो, “हामीले मनायौं नि असली होली।”

घोट्टा नभै के मनाउनु होली। केटाहरु सबै घोट्टाकै पक्षमा थिए। केटीहरुलाई घोट्टा भनेको के हो ? थाहै थिएन। तरंगले जानकारी दियो, तपाईंहरुले रेडबुल खानु भा छ कि छैन ? हो घोट्टापनि रेडबुल जस्तै हो। केटीहरुले बियर व्हिस्की रम र ब्राण्डी सबै चाखी सकेका थिए। उनीहरु त्यति नजान्ने थिएनन। सुदिप्ती र कनिका त घोट्टाका महारानी नै थिए। तरंगले ताजा घोट्टा दियो सुदिप्ती र कनिकालाई। उनीहरुले एकै सासमा एकएक ग्लास घोट्टा पिए र गाउन थाले – जय जय शिवशंकर, काँटा लगे न कंकड...। सव आ–आफनै धूनमा, कोही टेवल ठटाउने र कोही भाँडा बजाउने...।

आज केटीहरु अनौठो पहिरनमा आएका थिए। उनीहरुको कपडा यस्तो थियो कि त्यसले दश वर्षको फुच्चेदेखि सत्तरी वर्षको बूढासम्म सबैको मनोरन्जन गर्थे। निकै बेरसम्म केटाकेटीहरु बौरिएनन। तर, केहीबेरपछि सबैलार्ई भोक लागेछ। सबैको मुखबाट भोक लाग्योको नारा लाग्न थालेपछि तरंगले केटरिङमा खबर ग¥यो। उनीहरुले हिजै केटरिङलाई कन्ट्याक्ट गरेका थिए। आइटमहरु पनि दामी दामी थिएः अक्सटेल सूप, पोर्क चप, बार्बिक्यू चिकेन, इस्पारागस वीथ हनी, कश्मिरी पुलाव...खाना ल्याउन आधा घण्टा जति लाग्यो। त्यतिन्जेलसम्म सबैले थप एकएक ग्लास घोट्टा तानी सकेका थिए। अदभूत त यो कि घोट्टाको नसा कसैलाई लागेको थिएन। सवै लागेको वहानामा थिए।

हिजोआज पत्रकारिता रमाइलो। अचेल नेपाली पत्रपत्रिकाको प्रकाशन सारै सजिलो। समाचार निस्क्यो कि निस्केन भन्दा आजकोे अंक निस्क्यो कि निस्केन? त्यो महत्वपूर्ण। किनभने, सरकारले त्यसैको आधारमा मासिक वृत्ति दिन्छ। के समाचार छाप्न हो ? के सम्पादकीय लेख्ने हो? त्यसका बारे पत्रकार नै जागरुक हुन्छन। अझ अनलाइनमा त झन सजिलो। सरकारले पैसा पनि दिन नपर्ने, चाहेको जस्तो समाचार पनि छापिने। त्यसैले अहिले मानिस पिछेका अनलाइन छन। केही न केही लेखिरहेका छन। त्यसैले तिनको महत्व छ। सरकारले पत्रकारलाई रु १९५०० महिनाको तलब दिनुपर्ने नियम वनाएको छ। तर, अनलाइनमा त महिनाको रु ४०००० घटी काम गर्ने मानिस नै पाईंदैन।

होली सकियो। बल्ल टीम जाग्न थाल्यो कान्तिपुर गाथाको।
 



कनिकाको होली अनलाइनमै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट