PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बिजुली बचाउन कुलमानको अर्को 'ट्रिक' के?



अमर बडुवाल

बिजुली बचाउन कुलमानको अर्को 'ट्रिक' के?

काठमाडौं : लोडसेडिङको चर्को मार खेपेका जनतालाई विद्युतको कुशल व्यवस्थापन गरेर राहत दिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले पनि कसरी विद्युत खपत कम गराउन सकिन्छ भन्ने रणनीतिमै सक्रिय छन्।

नेपाल विद्युत प्राधिकरणले दुई करोड थान एलइडी बल्ब किन्ने निर्णय गरेको एक वर्षपछि २ लाख थान सिलिङ पंखाको लागि टेण्डर आह्वान गरेको छ।

एलइडी बल्ब किन्दा सार्वजनिक खरिद ऐन विपरित मन्त्रिपरिषदबाट निर्णय गराएको भन्दै चर्को आलोचना भएपछि प्राधिकरण पछि हटेको थियो।एलइडी बल्ब किन्ने निर्णय त सफल भएन तर एलइडी ल्याएर २०० मेगावाट विद्युत बचाउने योजना भने मिडियाको बहसले सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्।

गत वैसाख २१ गतेको मन्त्रिपरिषद बैठकबाट दुई करोड थान एलइडी बल्ब किन्ने निर्णय गरिएको थियो। यतिबेला भने प्राधिकरणले सार्वजनिक खरिद ऐन अन्तर्गत नै रहेर पानी तान्ने मोटर र सिलिङ पंखाको लागि सार्वजनिक बोलपत्र आह्वान गरेको छ।

दुई लाख पंखाबाट २०० मेगावाट विद्युत बचत हुने


अहिले प्रयोग भएका र नयाँ बनाएका घरमा ३२ वाटका दुई लाख पंखा जोडी २०० मेगावाट बिद्युत बचत गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी भरत खड्काले बताए।

चलनचल्तीमा रहेका ८० वाटका पंखा विस्थापित गर्दै करिब एक तिहाई मात्र विद्युत खपत गर्ने ३२ वाटका उर्जा वचत गर्ने पंखा प्रयोग गर्दा २०० मेगावाट विद्युत बचत गर्न सकिन्छ। जसबाट ग्राहकको दुई तिहाई भन्दा बढी बिजुलीको महशुलमा समेत बचत हुन्छ।बिजुली बचत गरी औद्योगिक क्षेत्रमा पनि विद्युत कटौती गर्न नपरे त्यसको गुणात्मक फाइदा लिन सकिने प्राधिकरणको विश्वास छ।

अहिले औद्योगिक क्षेत्रमा तीन सय मेगावाट विद्युत पिक समयमा दुईदेखि तीन घण्टासम्म कटौती गर्नुपरिरहेको छ। उर्जा बचाएर उर्जा उत्पादनको काम गर्नु नै उर्जा दक्षता कार्यक्रमको मुल उद्देश्य भएकाले तत्काल २०० मेगावाट विद्युत उत्पादन गर्न नसकिने अवस्थामा २०० मेगावाट विद्युत बचाउने उपायमा प्राधिकरण लागेको हो।


उर्जा बचत गर्ने पंखाको मूल्य कति?

बजारमा पाइने सामान्य पंखा र उर्जा कम खाने पंखाको बजार मूल्य भने खासै फरक छैन। सामान्य पंखा भन्दा उर्जा कम खाने पंखाको मूल्य एक हजारदेखि दुई हजार रुपैयाँ बढी पर्ने देखिन्छ।

सामान्य पंखाको बजार मूल्य दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मै छ। रिमोट कन्ट्रोल भएका उर्जा बचत गर्ने पंखाको मूल्य पनि तीन हजार देखि छ हजार रुपैयाँसम्म छ। कम्पनी र प्रविधि अनुसार पंखाको मूल्य फरक भए पनि नेपालमा ग्लोबल टेण्डरबाट ल्याइने हुँदा बजार मूल्यभन्दा सस्तोमै पाइनेछ।

परम्परागत पंखाको प्रयोगले लगातार बढी विद्युत महशुल तिर्दा उपभोक्तालाई  आर्थिक भार परिरहेको हुन्छ। तर, सामान्य पंखाभन्दा एक हजारदेखि दुई हजार रुपैयाँ बढी तिर्दा विद्युत महशुलमा हुने बचतले पंखाको मूल्य दुई वर्षमै फिर्ता हुन्छ।

प्राधिकरणले ग्लोबल टेण्डर गरेकाले सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीले प्राधिकरणको काउन्टरबाटै पंखा बेच्न पाउनेछ। तीन वर्ष वारेन्टी भएका त्यस्ता पंखा बजार मूल्यभन्दा सस्तोमा पाउन भन्ने प्राधिकरणले चाहेको जनाएको छ। त्यसैले पनि प्राधिकरणले आफ्ना वितरण केन्द्रबाटै बेच्न दिने गरी टेण्डर आह्वान गरेको हो।


तराईमा कम भोल्टेज समस्याको समाधान हुने

उर्जा दक्षता कार्यक्रम अन्तर्गत ल्याइएको यो कार्यक्रमले सफलता पाएमा तराईमा हाल देखिँदै आएको  कम भोल्टेजको समस्या पनि समाधान हुनेछ।

तराईमा गर्मी मौसम हुँदा सबैतिर पंखा चलाउनु पर्छ। तर परम्परागत पंखाले विद्युतको खपत बढी गर्ने हुँदा पंखा चलाए पनि कम भोल्टेजको समस्याले पंखा नघुम्ने समस्या तराईमा व्याप्त छ। गर्मी समयमै दुई लाख पंखा ग्राहकलाई दिन सके तराईको समस्या समाधान हुने प्राधिकरणको विश्वास छ। तराईमा गर्मी समयमा ४० डिग्री भन्दा माथि तापक्रम हुन्छ। सबैतिर पंखा प्रयोग गर्दा प्राधिकरणको वितरण प्राणालीमा समस्या आई पंखा नघुम्ने समस्या हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell