PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जुत्ता सिलाएर अात्मनिर्भर देवी: १६ वर्षमा जबर्जस्ती डोली चढिन्, चौबिस वर्षमै सिन्दुर पुछियो



पहिलोपोस्ट

जुत्ता सिलाएर अात्मनिर्भर देवी: १६ वर्षमा जबर्जस्ती डोली चढिन्, चौबिस वर्षमै सिन्दुर पुछियो

रोल्पाः दाङ जिल्लाको रामपुरकी-२ की देवी नेपाली, बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमै डोली चढिन्। अभाव र गरिबीका कारण कक्षा ४ मा पढ्दा पढ्दै विद्यालय छाड्न बाध्य भइन्। 

छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपर्ने भयो। घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्थिनन्। 

आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थियो। तर सोचेजस्तो कहाँ हुन्थ्यो र ? 


२४ वर्षको उमेरमै सिन्दुर पुछियो। जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँध्य भइन्।
 
जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती नै सिन्दुर पुछियो। परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी त्याग्दै जानु परेको छ देवीले। 

विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो। विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो। 

रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भयो। देवीका अनुसार उनले घरधन्दा गर्थिन्,   श्रीमान् पसल चलाउँथे। 

पसलबाट राम्रै तरिकाले गुजारा चलिरहेको थियो। दैवले देवीको जीवनमा यो खुसी देख्न चाहेनन्। अकस्मात् उनको जीवनमा ठूलो बज्रपात भयो। आफन्त भेट्न दाङ गएका श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो। 

श्रीमानको निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उनमा जिम्मेवारी पनि थपियो। श्रीमानले उनलार्इ एक्लै छाडेर गएका थिएनन्। साथमा दुई सन्तानको जिम्मा पनि सुम्पिएर गएका थिए। 

श्रीमानको निधन हुँदा देवीको नत आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप नै। श्रीमानको काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किइन्। 

शुरुशुरुका दैनिकी आँशुकै साथमा वित्यो। काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक बीचबाटोमै भक्कानिइन्। 

कतिपटक त मध्यरातमा छिमेकीले ढोका खोलेर देवीका आँशु पुछे। तर यसरी सधैँ रोएर बिलौना गरेर जीवन चल्दैनथ्यो। साथमा दुर्इ सन्तानलार्इ पनि हुर्काउनुपर्ने जिम्मेवारी काँधमा थियो। 

गुजारा चलाउनकै लागि श्रीमानले गर्दै आएको कामलाई निरन्तरता दिन थालेकी उनी अहिले अात्मनिर्भर भएकी छिन्। 

'शुरुशुरुमा श्रीमानले मजधारमा ल्याएर छोडेको पसल सञ्चालन गर्न निकै गाह्रो भयो,' उनले भनिन् 'तर विस्तारै काम गर्न सिक्दै गएँ व्यापार राम्रो चल्न थाल्यो।' 

यसले विस्तारै उनको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थालेको थियो। श्रीमानको निधन भएको करिब एक महिना नपुग्दै साढे दुई लाख रूपैयाँको तमसुकसहित साहु आए। 

दुःख गरेर एक वर्षमै श्रीमानले लिएको ऋण तिरिन्। 

'शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो। जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन। तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो' उनले भनिन्। 

करिब दुई लाख रूपैयाँबाट सञ्चालन भएको व्यवसाय हाल आठ लाख रूपैयाँ बराबरको पुगिसकेको छ। उनका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा अध्ययनरत छन्। 

सम्पूर्ण घरखर्च कटाएर मासिक रु २०-२२ हजार बचत हुँदै आएको छ। त्यही पैसाले कोहलपुरमा एउटा घडेरीसमेत जोडेकी छन् देवीले। 

'आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु' उनले भनिन्। 

सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ। 'समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहनुभएको छ । उहाँहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु' देवीले भनिन्। 

कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइदो रहेछ भन्ने राम्रो उदाहरण बन्न सफल भएकी छन्, देवी। 

यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा आज देवीलाई पाँच हजार रूपैयाँ नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ। 

महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले देवीको प्रशंसनीय कामको खु्ल्ला हृदयले प्रशंसा गरिन्। उनका अनुसार जिल्लामा देवीजस्ता अरुकै खुशीमा रमाउनु पर्ने बाध्यता बोकेका महिलाको संख्या ठूलो छ। विभिन्न कारण तथा विभिन्न बाध्यतामा महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन्। 

तर पनि देवीजस्तै संघर्ष गर्नसके अन्य महिलाको जीवनस्तरमा पनि सुधार आउने उनको धारणा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell