PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘राज्जा रानी’ घुम्ती सो नेपालको १० जिल्लामा, भारत प्रदर्शनको पनि तयारी



पहिलोपोस्ट

‘राज्जा रानी’ घुम्ती सो नेपालको १० जिल्लामा, भारत प्रदर्शनको पनि तयारी

काठमाडौं: मधेशमा व्याप्त दाइजो प्रथामाथि बनेको फिल्म ‘राज्जा रानी’ सिनेमा हलको पहुँचबाट टाढा रहेका गाउँहरुमा देखाइने भएको छ। गत पुस २१ गते प्रदर्शनमा आएको फिल्मको मैथिली भर्सन घुम्ती सिनेमामार्फत गाउँ गाउँमा प्रर्दशन गरिन लागेको हो। 

मैथिली भर्सनको निर्माण र प्रर्दशन अधिकार लिएको भोर कम्पनीले घुम्ती सिनेमा संचालन गर्नेबारे जानकारी दिएको हो। प्रदेश नम्बर १ र २ मा पर्ने मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँहरुमा घुम्ती सिनेमा संचालन गरिन लागेको भोर कम्पनीका अध्यक्ष एवं ‘राज्जा रानी’ मैथिली भर्सनका निर्माता राजकुमार महतोले जानकारी दिए।

शनिबारबाट फिल्म प्रदर्शन कार्यक्रम शुरु हुँदैछ। 'सप्तरीको तिरहुतस्थित लोहजुरा गाउँबाट हामी यो अभियानको शुभारम्भ गर्दैछौं। प्रत्येक जिल्लाका ६ देखि ८ स्थानमा ३ देखि ५ वटासम्म शो गर्नेछौं। प्रत्येक दर्शकबाट ५० रुपैयाँ शुल्क उठाउने उद्देश्य छ’, महतोले जानकारी दिए।

मधेशको ठूलो जनसंख्या नेपाली फिल्मको पहुँचबाट टाढा भएको यथार्थलाई मध्यनजर गर्दै फिल्म देखाइन लागेको राजकुमार महतोले जानकारी दिए। भने, ‘सुरुमा नेपाली भाषामा मात्रै बनेको ‘राज्जारानी’ले मधेशको दाइजो समस्यालाई उठाएको थाहा पाएपछि यसलाई हामीले मैथिली भाषामा डब गर्ने प्रर्दशन गर्ने निर्णय लियौँ। अब घुम्ती सिनेमा अभियानले हाम्रो दाइजोप्रथा विरुद्धको अभियान र फिल्मको विस्तार दुवै कुरामा सघाउ पुर्‍याउने पक्का छ।’

‘राज्जारानी’मा केकी अधिकारी र नाजिर हुसेन प्रमुख भुमिकामा छन्। ‘राज्जा’को भुमिका निर्वाह गरेका नाजिरले कार्यक्रममा यसरी आफ्नो फिल्म गाउँ–गाउँमा देखाउन लागेको खबरले खुशी व्यक्त गरे। ‘मैले पनि पहिलोपल्ट नेपाली फिल्म हलमा नहेरेर बाहिर पर्दामा नै हेरेको थिएँ,’ उनले भने, ‘फिल्म हल नभएका कारण सिनेमाको पहुँचबाट टाढा रहेका थुप्रै दर्शकलाई यो घुम्ती सिनेमा अभियानले उत्साहित बनाउँला भन्ने मलाई लागेको छ।’

घुम्ती सिनेमाबाट उठेको पैसा पनि सामाजिक काममै खर्चिने जानकारी पनि दिइयो। भोर बालविवाह र दाइजोप्रथा विरुद्ध काम गर्दै आएको संस्था हो। संस्थाले फिल्मको भारत प्रदर्शन पनि चाडै तय हुने बताएको छ। भारतको ३५ हलमा प्रदर्शनको तयारी भएको र पटना प्रदर्शनको अन्तिम निर्णय चिफ मिनिस्टरबाट आउन बाँकी भएको राजकुमार महतोले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell