PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

समातेर कहाँ राख्ने? हिरासतमा ठाउँ छैन 



सविन ढकाल

समातेर कहाँ राख्ने? हिरासतमा ठाउँ छैन 
फाइल फोटो

काठमाडौं : गत बुधवार प्रहरीले सार्वजनिक अपराधको अभियोगमा ४० जनालाई पक्राउ गर्योक। महानगरीय प्रहरी परिसर टेकुले सोही दिन थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद लियो।   

यहाँसम्म त ठीकै थियो। तर, त्यसपछिको बन्दी व्यवस्थापन भने कठिन बन्यो। उनीहरुलाई मुद्दा दायर गर्न पुगेका प्रहरी अधिकृतले आफूभन्दा माथि ब्रिफ गरे - 'सर म्याद त थपियो तर यिनीहरुलाई कहाँ राख्ने? यहाँ त राख्ने ठाँउ नै छैन।' 
प्रत्युत्तरमा निर्देशन आयो – मातहतका वृत्तमा १०/१० जना गरी पठाउनु। 

सार्वजनिक अपराधमा प्रहरीले अदालतबाट २५ दिनसम्म म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। तर, अहिले प्रहरीलाई थुनुवा कहाँ राख्ने टाउको दुखाइको विषय बनेको छ।

त्यसैले अपराधी पक्राउ गर्ने भन्दा पनि समातिएकालाई कहाँ राख्ने भन्ने समस्याले काठमाडौं प्रहरीलाई सताउँछ। ठगी, सार्वजनिक अपराध, साइबर क्राइम, लागू औषध कारोबार लगायतका अभियोगमा पक्राउ पर्नेको ग्राफ दिनानुदिन चुलिँदो छ।

परिसरमा मात्र होइन अहिले मातहका वृत्तमा पनि थुनुवाको चाप उस्तै छ। परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल थुनुवा राख्ने ठाउँ नहुँदा समस्या भएको स्वीकार्छन्। 'एकै दिन ठूलो सङ्ख्या पक्राउ पर्दा झनै समस्या हुन्छ,' उनले सुनाए।


परिसरमा ११४ थुनुवा,  १४ वृतमा ४५१

बिहीवारको प्रहरी थुनुवा रेकर्ड अनुसार महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा रहेको हिरासतमा १ सय १४ थुनुवा छन्। परिसरबाट मुद्दा चलेकामात्र होइन, महानगरीय अपराध महाशाखाबाट म्याद थप गरिएका अभियुक्तलाई पनि परिसर टेकुमा नै पुर्याइन्छ। परिसरको मातहतमा रहेका १४ वटा वृत्तमा पनि थुनुवाको चाप थेगिनसक्नु छ। एउटा वृत्तमा अहिले ‌औशत ३० जनाभन्दा बढी थुनुवा छन्। परिसरको मातहतका वृत्तमा बिहीवारको तथ्याङ्कअनुसार ४ सय ५१ जना थुनुवा छन्। यो सङ्ख्या दैनिक तलमाथि भइरहन्छ। प्रहरीका अनुसार पछिल्ला महिनामा हिरातबाट बाहिरिनेभन्दा हिरासतमा भित्रिने सङ्ख्या छ।  

महानगरीय प्रहरी वृत्त गौशाला, बौद्ध, दरबारमार्ग, लैनचौर, नयाँ बानेश्वरमा, महारागञ्जमा सबैभन्दा बढी थुनुवा छन्। 'वृत्तमा भौतिक संरचना अनुसार हेर्ने हो भने थुनुवालाई खप्टिएर राख्नेसमेत ठाउँ हुँदैन,' पोखरेलले भने। यी स्थानमा अपराध सबैभन्दा बढी हुने भएकाले थुनुवाको सङ्ख्या बढी हुने गरेको प्रहरीको भनाई छ।
 

हरेक दिन साँझ ‍औशत १ सय ४० पक्राउ 

प्रहरीको थुनुवामा रहेका अभियुक्तमध्ये सबैभन्दा बढी लागू औषध कारोवारी रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ। केही समयदेखि प्रहरीले राति सर्च अपरेसन चलाएपछि औशत दैनिक १ सय ४० जना नियन्त्रणमा पर्ने गरेका छन्। यसरी नियन्त्रणमा आएकामध्ये ४० देखि ५० जनाविरुद्ध भने मुद्दा चल्ने गरेको पोखरेलले जनाए। 'मुद्दा नचल्नेलाई कहाँ राखेर अनुसन्धान शुरु गर्ने भन्ने समस्या छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell