PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कथा : तरवारबाजी



कथा : तरवारबाजी
प्रतीकात्मक फोटो : thefearlessindian.in

  • लिलाराज खतिवडा-
एउटा केटालाई तरवारबाजी सिक्‍ने हुटहुटी थियो। गुरु बेगर यो विद्या सिक्‍न सम्भव नहुने महसुस भएपछि ऊ गुरुको खोजमा निस्कियो। तर, केही वर्ष भौतारिँदा पनि उसले उचित गुरु भेट्न सकेन। गुरुको खोजमा ऊ अहोरात्र खटिएको थियो।

कति स्थानमा ऊ गुरुको नाउँमा ठगियो पनि। डण्डा चलाउन नजान्नेले पनि ऊसँग पैसा दाग्‍न तरवार चलाउने आश्वासन दिए। कतिपय ठाउँमा त उसले अनाहकमा कुटाइ पनि खायो। तर, पनि उसले हिम्मत हारेन। 

खोज्ने हो भने ईश्वर पनि भेटिन्छन् भन्ने उसले सुनेको थियो। अनि उसले आफ्नो खोजलाई जारी राख्यो। नभन्दै एक दिन एउटा गाउँको मान्छेले उसलाई बतायो कि दक्षिण भारतको पुडुचेरी भन्ने स्थानको समुद्री किनारमा एक जना गुरु बस्छन् जो तरवारबाजी सिकाउने गर्दछन्। त्यो गाउँलेलाई उसले उक्त गुरुका बारेमा धेरै कुरा सोधेर केरकार पनि गर्यो। खबर झूठो पनि हुन सक्थ्यो। ऊ यसपाली ठगिन चाहँदैन थियो। आश्वस्त भएपछि मात्रै उसले यात्रा तय गर्यो।

पानी जहाजमा केही दिन यात्रा गरेपछि ऊ पुडुचेरी भन्ने ठाउँमा पुग्यो। खोज्दै जाँदा, गाउँलेले बताए झैं समुद्री किनारमा एउटा आश्रम फेला पर्यो। 

साँझ परिसकेको थियो। आश्रम सुनसान थियो। आफूसँग भएको कागजको चिर्कटोमा उल्लेख घर नम्बर आश्रमको पर्खालमा टाँसिएको जानकारीसँग दुरुस्त मिलेपछि उसले मूलद्वारमा दस्तक दियो। केही बेरको चकमन्नता चिर्दै ढोका खुल्यो। ढोकामा कालो बस्त्र लगाएका एक बृद्घ देखा परे। उनका कपाल र दाह्री लामालामा थिए। आँखा ठूलाठूला। उनले भोटो लगाएका र कछाड बेरेका थिए। शरीर उनको बडा सुगठित देखिन्थ्यो। घाँटीमा केही अनौठा मालाहरु पनि उनले लगाएका थिए।

“के चाहियो ?” डरलाग्दो आवाजमा उनले केटाका आँखामा गढेर हेर्दै सोधे।

“म...म... तरवारबाजी सिक्न यहाँ आएको हुँ, हजुर।” उसले डराइडराइ भन्यो। तरवारको तेज धार जस्तो लाग्यो केटालाई बाबैको हेराइ। 

“आजकल म सिकाउँदिन,” उनले यत्ति भने र भ्वाक्क केटाको छातीमा एक मुक्का हाने। केटो अलिक पर उछिटियो र डङ्रङ्ग उत्तानोचित् खायो।

अनि उनी सरासर भित्र पसे र ड्याम्म ढोका लगाए।

केटो चोट खाएको छाती छाम्दै बिस्तारै उठ्यो    र बस्यो। छातीमा उसलाई असह्य दर्द भइरहेको थियो। सास पनि रोकिएला जस्तो। अनि उसका सारा आशा र भरोसामा अचानक बाढी पनि उर्लिन पुगेको थियो। ऊ किंकर्तव्यविमूढ भएर त्यहीँ आँगनमा पसारिरह्यो। समुद्री हावाको हंसै उडाउन खोज्ने चिसो प्रहारले रात बिताउन निकै हम्मे पनि परिरहेको थियो। भोरमा उसलाई लुगलुग काम छुटिरहेको थियो। प्राण नै जाला जस्तो भयो, गाँठे, कहाँ फँसियो ? अति भएपछि ऊ मैदानमा कुदेर जीउ तताउन थाल्यो। बडो मुश्किलले उज्यालो पनि भयो। यो चिसो, सन्त्रासमय र कठोर एक रात कटाउन केटालाई युग बिताएसरह भएको थियो। 

रातभर नखुलेको ढोका बिहान घरक्क उघ्रियो। 

केटो डरायो।
 
ढोकाबाट करीब साठी वर्षको उमेर भएका तिनै डरलाग्दा बाबै निस्किए। उनको अनौठो रौब देखेर केटाको सातो पुत्लो उड्ला जस्तो भयो।

“यो केटो त अझै यहीँ रहेछ। ओय, सुनिनस् तैंले ? म आजकल तरवारबाजी सिकाउँदिन भन्ने कुरा?,” उनको आवाज सिंहको गर्जन जस्तै थियो।

केटो हुत्तिएर उनको नजिक गयो र उनको पाउ पकड्दै भन्यो, “मलाई माफ गर्नुहोस् गुरुजी, म टाढाबाट यहाँ आएको हुँ। मलाई जसरी भए पनि तरवारबाजी सिकेर जानु छ।” 

“तैंले सुनिनस् म आजकल सिकाउँदिन भनेर ?” उनले भने र उसलाई एक लात हानेर हुत्याए। केटाले फेरि चित खायो।

अनि उनले गढेर केटाका आँखामा हेरे। केटो त्रसित थियो। 

केटाले जुम्ल्याह हात गरेर अनुनय गर्यो, “गुरुजी मलाई जसरी भए पनि तरवारबाजी सिकाइदिनुहोस्। म टाढाबाट आएको हुँ।”

केटाको कुरा नसुने झैं गरेर उनी भित्र पसे। तर अचानक उनी फनक्क फर्किए र केटालाई सोधे, “साँच्चै सिक्ने हो ? यहाँ त खाली मजाक गर्नेहरु मात्रै आउने गर्छन्।”

“म अरु जस्तो होइन। म साँच्चै नै सिक्न आएको हुँ।”

“मेरा केही शर्त छन्।”

“म जुनसुकै शर्त मान्न पनि तयार छु, गुरुदेव।” उसले फेरि दुवै हात जोडेर भन्यो। केटाको आवाजमा केही रोदन पनि मिसिएको थियो।

“भित्रै आऊ।” बाबैले अलिक नरम मिजाजमा भने। 

बाबैको नरम आवाज र तँबाट तिमीको सम्बोधन सुनेर केटाले लामो सास फेर्यो। घुटुक्क थुक निल्यो र सुस्तरी उठेर उनको पछिपछि लाग्यो।

भित्र पुगेपछि बाबैले उस्तै ओजले भने, “मैले जे भने पनि मान्नु पर्ने छ। मेरा ब्यवहार र आदेशहरु उपर कुनै सवाल पनि गर्न पाइने छैन।”

केटाले दृढ आवाजमा भन्यो, “म तयार छु, गुरुदेव।”

बाबैले आदेश दिए, “ल, त्यसो भए त्यहाँ धारामा केही लुगा भिजाएर राखेको छ। त्यसलाई सफा पारेर धोऊ।”

केटो भोकाएको र लामो यात्राले थाकेको थियो। केही रातको अनिँदो पनि थियो, ऊ। तर गुरुको पहिलो आदेश चुपचाप शिरोपर गर्ने बाहेक वर्तमानमा ऊसँग अर्को बिकल्प थिएन। अनि धारामुनि टुक्रुक्क बसेर ऊ लुगा धुन थाल्यो। 

लुगाको रास ठूलो थियो। ऊ मजाले साबुन लगाइलगाइ धमाधम लुगा धोइरहेको थियो। केही बेर लुगा धोएपछि, अचानक...

पछाडिबाट उसको टाउकोमा एउटा जोडदार प्रहार भयो। ऊ रनन्न रन्थनियो। उसले दिउँसै तारा देखेको थियो। बिस्तारै पछाडि फर्किएर हेरेपछि उसले देख्यो, लठ्ठी बोकेर गुरु खडा थिए। 

आँखा जुधेपछि गुरु चुपचाप फर्किए। अनि एकातिर ओझेल भए।

ऊ छक्क पर्यो। किन खाएँ मैले लठ्ठी ? टाउको छाम्दै उसले आफैंलाई सवाल गर्यो। तर कुनै जवाफ सुझिरहेको थिएन। ऊ चुपचाप पुनः लुगा धुनमा नै जुट्यो। 

टाउको भने फुट्ला जसरी दुखिरहेको थियो। कसोकसो उसले लुगा धोइसक्यो। अनि सबै लुगा लगेर बाहिर डोरीमा सुकाइदियो। कमजोरी महसुस भएर बेलाबेला आँखा वरिपरी अँध्यारो छाउँथ्यो। चक्कर लागेर ढलिएला झैँ पनि हुन्थ्यो।

यसबीच उसलाई लाग्यो कि कतै ऊ फेरि एक पटक जिन्दगीमा गलत ठाउँमा त आइपुगेको छैन ? कहाँ तरवारबाजी सिक्न आएको मान्छे यहाँ लुगा धुन र लठ्ठी खान जो ब्यस्त भएको छ !

“काम सकियो भने यहाँ बसेर खाजा खाऊ,” गुरुको यो आवाज सुनेर झस्कियो, ऊ।

अनि गुरुले एउटा थाल उसको अगाडि राखिदिए। थालमा केही फूख्ला च्यूरा थिए। 

गुरुले भने, “पानी चाहिए धाराबाट सारेर खानू।”

उसलाई हनहनी भोक लागेको थियो। ऊ अबेर नगरी च्यूरा चबाउन थाल्यो। उसले बडा स्वादले पानीसँग फूख्ला च्यूरा निल्यो। अनि एउटा भनाइ पनि संझियो, भोजन मिठो कि भोक ?

ठ्वाङ्ग !

फेरि एक पटक उसको टाउकोमा केही बज्रियो। उसले पुनः दिउँसै तारा देखेको थियो। पछाडि फर्किएर हेर्दा उसरी नै गुरु एउटा हातमा लठ्ठी लिएर खडा थिए। आँखा जुधेपछि गुरु एकातिर लागे।

ऊ रन्थनिएको थियो। केही सोध्न पनि मिल्दैन थियो। मबाट के गल्ती हुन पुग्यो र बाबैले मलाई फेरि ठटाए ? आखिर म त यहाँ च्यूरा खाँदै थिएँ। कि छिटोछिटो खा भनेर हानेका हुन् त बाबैले ? मुखैले भन्या भए पनि त भइहाल्थ्यो नि। टाउकै फुट्ने गरी...?
 
उसले टाउको छाम्यो। टुटुल्को उठेको थियो। अघिको टुटुल्को बिसेक भएकै थिएन, अहिले फेरि अर्को! अचम्मका कोइलाहरुले उसलाई छातीमै भत्भती पोलिरहेका थिए।

“च्यूरा खाइसक्यौ भने, बाहिर केही दाउरा चिर्ने काम छ। मुढा र बन्चरो पनि त्यहीँ छन्।” कताबाट अचानक पुनः टप्किएका गुरुले आदेशात्मक लवजमा भने। 

अहिले उनको हातमा लठ्ठी त थिएन। तर पनि ऊ डराइडराइ उठ्यो र दाउरा चिर्न लाग्यो। गुरुको हातमा कुनै लठ्ठी नदेख्दा उसले केही राहतको सास फेरेको थियो।

निकैबेर दाउरा चिरिसकेपछि ऊ लखतरान भयो। साँझ पनि पर्यो। गुरुले खाना खान बोलाए।

गुरुले एक थाल भात र रस हालेको सागको तरकारी दिए। उसले खपाखप खायो। अनि पानी पिएर ढ्याऊ गर्यो।

गुरुले भने, “लु अब सबै भाँडा माझ्नू। अनि सुत्नू।”

उसले चुपचाप सकारात्मक टाउको हल्लायो। अनि भाँडा माझेर सुत्यो। ऊ यति थाकेको थियो कि कतिखेर निदायो, पत्तै भएन।

भोलिपल्ट बिहानै उसलाई गुरुले नै उठाए र बारी खन्न लगाए। ऊ कहाँ फसेँ भन्दै बारी खन्न थाल्यो। अचानक,
फेरि उसले पछाडिबाट गुरुको एक लठ्ठी खायो। पछाडि फर्किएर हेर्यो। गुरु लठ्ठी हातमा लिएर ओझेल हुँदै थिए। एक पटक त उसलाई कोदालोसोदालो मिल्काएर घरतिर कुदुँ जस्तो पनि नलागेको होइन। तर उसले मन बुझायो।

टाउको सुम्सुम्याउँदै ऊ पुनः बारी खन्न थाल्यो। दिउँसो गुरुले खाना खान बोलाए। उसले थपीथपी खाना खायो।
अनि भाँडा मस्काउन थाल्यो। ऊ दायाँबायाँ अनि पछाडि फर्किएर पल्याकपुलुक हेर्दै बडो सचेत भएर भाँडा मोलिरहेको थियो।

अचानक उसले पछाडि एउटा पदचाप सुन्यो। अनि फरक्क फर्कियो। पछाडि त ...

गुरुले उसैलाई हान्न लठ्ठी उज्याउँदै रहेछन्। दुवैका आँखा जुधे। गुरु मुसुक्क मुस्कुराएर फर्किए। यसपाली उसको टाउकोमा लठ्ठी बज्रिएन। उसले आफ्नो प्यारो टाउको छाम्दै सुकुनको लामो सास फेर्यो।

उसलाई एउटा कुरामा अचम्म पनि लाग्यो कि यसपाली गुरुले उसको टाउकोमा लठ्ठी किन बजारेनन् ?

केही दिन बिते। ऊ निकै सजग भएर काम गरिरहेको थियो। जबजब ऊ आफ्नो पछाडि कुनै आवाज वा पदचाप सुन्थ्यो, तबतब ऊ फनक्क फर्किन्थ्यो। लठ्ठी उज्याइरहेका गुरुसँग आँखा जुधेपछि गुरु उसलाई प्रहार नगरी फनक्क फर्किए जान्थे। यो थाहा पाएर ऊ केही मुस्कुराउन पनि सफल भएको थियो। 

यसरी छ हप्ता बिते। उसले थप कुनै लठ्ठी खाएन। 

तर एक मध्यरात उसले निद्रामा लठ्ठी खायो। मस्त निदाएका बेला टाउकोमा अचानक लठ्ठी बज्रिएको थियो। जुरुक्कै उठेर बस्यो ऊ। गुरु भने उसलाई प्रहार गरेको लठ्ठी बोकेर बाहिरिँदै थिए।

अर्को रात उसलाई निद्रा लागेन। रातभर उसका आँखा खुल्लै रहे। यो त अति भयो। निद्रामा पनि लठ्ठी ? यस्तै मनोवेगमा ओल्टेकोल्टे फेर्दै उसले रात कटायो।

गुरु पनि उसलाई हान्न आएनन्।

आँखा मिच्दै ऊ दिनभरी अनेक काममा जुट्यो। ऊ हरपल सचेत रहने प्रयास गर्थ्यो। दायाँ, बाँया, अघि, पछि चारैतिर हेर्दै चनाखो भएर ऊ काम गर्ने गर्थ्यो।

खाना खाएर ऊ सुत्यो। अघिल्लो रातको निद्रा पनि बाँकी नै थियो। ऊ मस्त निदायो।

ठ्वाङ्ग !

मस्त निद्रामा एउटा तेज चोट खाएर केटो ब्युँझिन पुग्यो। उसले आँखा खोलेर हेर्दा गुरु लठ्ठी बोकेर एकोहोरो उसैलाई हेरिरहेका थिए। ऊ जुरुक्कै उठेर बस्यो। गुरु चुपचाप फर्किए।

उसको टाउको झन्झनाइरहेको थियो। असह्य दर्द पनि भइरहेको थियो। निकैबेर ऊ टाउको थामेर ओछ्यानमै बसिरह्यो। 

ऊ यहाँ तरवारबाजी सिक्न आएको थियो। तर लठ्ठी खाइरहेको छ। के ऊ गलत ठाउँमा छ ?

अहिलेसम्म उसले तरवारको एक झलक पनि देख्न पाएको होइन। न त बाबै यसको कुरा नै गर्छन्। खाली लठ्ठीका लठ्ठी ? यो के भइरहेको छ ?

तर पनि आशा आशा हो। मान्छे यही आशाको भरमा टिकेको छ। एकातिर त्यस केटालाई टाउकामा खाएका चोटहरुका कारण आफ्नो भविष्य प्रति कहाली लागेर आउँथ्यो भने, अर्कातिर ऊ एउटा सुदूर प्रकाशको झलकले उत्साहित पनि हुन्थ्यो। कताकता उसलाई राम्रा सपनाहरु पनि आइरहेका थिए। उसले हिम्मत हारेको थिएन। लठ्ठी खाएका भन्दा लठ्ठी नखाएका पलहरु ज्यादा थिए।

यस्तैमा केही दिन अरु बिते।

आश्रममा धेरैजसो काम नै गर्नु पर्थ्यो। सजग र सचेत पनि उत्तिकै रहनु पर्थ्यो। भनौं न, मनमा हमेशा एउटा त्रास कायम रहन्थ्यो। गुरुले कुनै पनि बेला आफ्नो पुरानै पाराले आक्रमण गर्न सक्ने सम्भावना थियो। चारैतिर पल्याकपुलुक हेरेर काम आदि गर्नु पर्थ्यो।

अब त राति निदाएका बेला पनि ...

छ महिना बिते।

केटाले निद्रामा पनि आधा दर्जन लठ्ठी खाइसकेको थियो। अब ऊ हरपल सचेत रहने प्रयास गर्थ्यो। अहिलेसम्म तरवारको उसले नाकमुख देखेको थिएन। बेलाबेला अझै कहाली लागेर आउँथ्यो। तर आजकल गुरुका आँखामा हेर्दा कताकता एउटा अनौठो शक्तिको एहसास पनि हुन थालेको थियो, उसलाई। नजाने कुन गुमनाम शक्तिको वशमा परिसकेको थियो, ऊ। गुरुले जे काम लगाए पनि पूरै शक्ति झिकेर गर्थ्यो। उसको शरीरमा स्फूर्ती र आँखामा तेज पनि बढेको महसुस हुन्थ्यो।

यसपछि उसले निद्रामा पनि गुरुको आहट थाहा पाउन थाल्यो। गुरुले हान्न लठ्ठी उज्याउँदै गर्दा उसका आँखा खुल्न थाले। मार खानुपूर्व आँखा खुल्दा ऊ जोगिन्थ्यो।

केही दिन अरु बिते।
 
एक रात गहन निद्राबाट हठात् ब्यूँझियो केटो।

तेस्रो आँखामा केही तनाव भएर उसको निद्रा टुटेको थियो। आँखा खोलेर हेर्छ त...

गुरुको हातमा तरवार थियो। उनी उसलाई हान्न उज्याइरहेका थिए। आधा पल पनि केटाले आँखा खोल्न बियाँलो गरेको भए आज उसको टाउको दुई टुक्रा हुने रहेछ। अचम्म अनि खतरनाक!

उसले आँखा खोल्नासाथ गुरुले तरवार रोकेका थिए।

यो त अति भयो। केटो जुरुक्क उठ्यो र गुरुको पाउ पकड्दै गिड्गिडायो, “अहिलेसम्म कहिल्यै कुनै सवाल गर्ने हिम्मत गरिनँ। तर आज गर्छु। आएकै दिनदेखि लठ्ठी त खाएकै थिएँ। तर आज यो तरवार ? मैले आँखा खोल्न ढिलो गरेको भए त आज म दुइ टुक्रा नै हुने रहेछु। प्रभु, यस्तो किन ? अलिकति दया त राख्नूस् यो गरिब उपर !”

“आज बताउँछु,” गुरुले भने र उसको पाखुरामा समाएर तान्दै बाहिर फराकिलो आँगनमा लगे। जुनेली रात थियो। रातको नीरबतामा वातावरण शान्त थियो। 

गुरुले भने, “जुनदिन यहाँ आएका थियौ, तिमी एउटा लाश जस्तो थियौ। तिम्रो निद्रा गहन थियो। तिम्रो सजगता सुस्त थियो। तरवारबाजी खेल्न अति धारिलो सचेतना चाहिन्छ। यस खेलमा एक स्यानो भन्दा स्यानो गल्तीले पनि गर्धन चेट् हुन सक्छ। त्यही भएर मैले जगाउनको लागि तिमीलाई भेटेकै पलदेखि कैयन प्रहारहरु गर्नु पर्यो। भुत्ते चेतना तिखार्न तिमीलाई कैयन झट्काहरु पनि हान्नु पर्यो। त्यसो त तिम्रा आँखामा मैले शुरुमै एउटा जुनून पढेको थिएँ। आज बल्ल तिमी मसँग तरवारबाजी खेल्नको लागि तयार भयौ र तिमी यस लायक पनि छौ।”

गुरुका कुरा सुनेर केटाका आँखा रसाए।

केही बेरको चकमन्नता चिरेर गुरुले हातको तरवार 
ऊतर्फ हुत्याउँदै भने, “लु समात।” 

केटाले फूर्तिसाथ हावामा हुत्तिँदै आइरहेको तरवारको बिँडमा च्याप्प समात्यो।

गुरुले कम्मरमा भिरेको म्यानबाट अर्को उस्तै तरवार झिके र भिड्नका लागि केटालाई उक्साउन थाले। 
बिहान घाम छिप्पिँदासम्म उनीहरुले तरवार लडाइरहे।

केटाको तरवारबाजी सिक्ने त्यो पहिलो दिन थियो।

समाप्त।

नोट : ओशोले पनि न्यारेट गरेको यो धेरै पुरानो कथा हो। अन्य केही आध्यात्मिक गुरुले पनि यस कथालाई आत्म जागृतिको उदाहरण स्वरुप आफ्ना प्रवचनमा समावेश गरेको भेटियो। यसलाई आफ्नै पाराले पुनर्लेखन गरेको हुँ। जसरी तरवारबाजी खेल्न धारिलो चेतना वा होश साध्नु पर्छ उसै गरी तेस्रो नेत्र खोल्न पनि धारिलो चेतना वा होश साध्नु पर्ने हुन्छ। अन्तर के भने, तरवारबाजी खेल्न आँखा खोलेको हुनुपर्छ। ध्यान गरेर तेस्रो नेत्र खोल्न चाहिँ आँखा बन्द गर्नु पर्दछ। चोट दुवैमा अनिवार्य।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell