PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खाडी यात्रामा ह्याट्रिक गरेका हरि भन्छन्: पाखोमै सुन फल्ने रहेछ, बल्ल माटो चिनें



पहिलोपोस्ट

खाडी यात्रामा ह्याट्रिक गरेका हरि भन्छन्: पाखोमै सुन फल्ने रहेछ, बल्ल माटो चिनें

  • फुलमान तामाङ-

हरि तामाङ, वर्ष ४० । परिचय: तीनपटक वैदेशिक रोजगारमा पुगेर पनि रित्तो हात।

हो, एक वर्ष अघिसम्म उनको परिचय यही थियो। पैसा कमाउने सपना बोकेर तीनपटक खाडी पुगे उनी। तर, फर्किँदा रित्तो हात। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नवलपुरका उनले आफ्नो युवाअवस्था जागिर खोज्दै काठमाडौंमा घुमेरै विताए।

२८ वर्ष लागेपछि विदेशिन बाध्य भए। पहिलोपटक पुगे साउदी। तीन वर्ष साउदी बसाईमा कमाई राम्रो भएन। गाउँमै फर्के। गाउँमा केही काम नभएपछि उही निस्क्यो अन्तिम उपाय। फेरि विदेश जाने। 

दोस्रोपटक पनि पुगे साउदी नै। अहो, त्यो यात्रा झनै फापेन। घाटा सहेरै फर्के काठमाडौं। परिवारमा आर्थिक भार थपिदै थियो। छोराछोरी कक्षा उक्लिदै थिए। त्यसपछि साथीभाईको सहयोगमा काठमाडौंकै इन्द्रचोकमा चप्पल पसल खोले।

केही समय पसल राम्रै चलिरहेको थियो। नगरपालिकाले सडक बढाउने भएपछि उनी ठाउँ छाड्न बाध्य भए। उनी सम्झन्छन्, 'पसल चलाउन लिएको ऋण त तिर्नु नै थियो। नेपालमा चुप लागेर बस्ने चान्स नै थिएन।' उनी पुन विदेशिन बाध्य भए। पुगे मलेसिया।

कुनै बेला वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्य मानिने मलेसिया उनी पुग्दा असुरक्षित बनिसकेको रहेछ। धेरैपटक लुटेराहरुको सामना गर्नुपर्यो। 'काम गर्ने ठाउँमै लुट्न आउँथे, कुटपिटमा उत्रन्थे, त्यसपछि ज्यान जोगाउन भएपनि मलेसिया छाड्ने निधो गरे। उभो लागिन्छ कि भनेर तीनचोटि त विदेश गएकै हो, तर त्यो सालको ताल पनि त्यस्तो भयो,' हरि सुस्ताए।

थपिएको ऋण र परिवारको भरोसा बनेकाले केही त गर्नै पर्यो। उनी काठमाडौंमा डेरा गरी बस्थे। छोराछोरी निजी स्कुलमा भरसक पढाउँदैथिए। तीनपटकको विदेश यात्रा असफलताले छोराछोरी सरकारी स्कुलमा सरे। बसाइ गाउँमा झर्यो।

त्यसपछि उनले दिउँसै सपना देख्न थाले, राति पनि अनिदै सपना बुन्न थाले। भने, 'कुनै समय मैले धेरे रंगीन गलैंचाहरु बुनेको थिएँ, तर आफ्नो जीवन त्यस्तो किन बन्दैन भनेर सोच्न थाले।' अन्तत: पाखो खेतबारीमा तरकारी खेती र बाख्रापालन गर्ने योजना बनाए तामाङले।

योजना सुनाएर हारगुहार गरेपछि साथीभाईबाट सहयोग पाए। अनि पाखाकै चित्रे गोठको भित्तामा गत सालकै चैतमा झुन्डियो-थाकन पशुपालन तथा कृषि उद्योगको प्रमाणपत्र। साथी नभइ एक्लै जाँदा डर लाग्ने त्यो पाखो खेतमा सुरु भयो बास। साथमा थियो-बाख्रा र कुखुराको फार्म। गोलभेडा, काँक्रो, फर्सीका विरुवाले पाखो ढाक्दै थियो।  

'श्रीमतीको साथ पाएँ, कुखुरा/खसी किन्न ग्राहक फार्मसम्मै आउन थालेपछि अहिले कमाई राम्रो हुन थालेको छ,' हरि भन्छन्, 'आफ्नै पाखामा निर्धक्क काम गर्न पाउँदाको आनन्दले तीनपटक विदेशिएको पीडा बिर्सदैछु। पाखोमै यस्तो हुने रहेछ। बल्ल माटो चिनें।'

उनलाई यसरी गाउँमै गरीखाने आँट भने खाडी हुँदै तनहुँको साथीले दिएका रहेछन्। 'तनहुँको साथीले नै मलाई बाख्रापालन गर्ने साहस दियो, अनि भाईहरुले पनि होस्टेहैसे गरे। सुरुमा ३ ओटा बाख्रा किनेको थिएँ, अहिले १९ ओटा माउसहित ३५ बाख्रा भएका छन्,' खुसी हुँदै तामाङले भने 'त्यसपछि गोलभेडाको टनेल लगाइ गोलभेडा र काँक्रो फलाए।'

एक वर्ष पुग्नै लागेको छ हरिले आफ्नै पाखामा पाखुरा बजार्न थालेको। कमाई पनि थपिदै छ। पहिलो वर्ष खर्च कटाएर बस्यो - २ लाख। भन्छन्, 'पाखाकै कमाईले खाडी जाँदा लागेका ऋण तिर्न थालेको छु।'

अहिले तामाङको दैनिकी खसी, बोका, बाख्रालाई सफासुग्घर राख्न र घाँस काट्नेदेखि कुखुराको हेरचाहमा बित्छ। यसका अलावा सिजनअनुसार तरकारी खेतीमा पनि व्यस्त छन्। गोलभेडा, काँक्रो, काउली, फर्सी फल्न थालेको छ। बजार राम्रै पाएको छ। 

'पहिलो वर्षमै राम्रो भयो, अहिले ३५ वटा बाख्रा, ३० ओटा कुखुरा छन, बेच्दा पनि बढिरहेकै छ,' खुसी हुँदै तामाङले सुनाए। यही व्यवसायमा निरन्तरता दिने योजनामा छन् हरि, गाउँमै सुन फलाउने अठोट छ उनको। भन्छन्, 'सुन गाउँमै फल्ने रहेछ, म भने चारतिर भौतरिएँ। अब यही पाखोमा पसिना बगाउने हो।'

अहिले उनको परिचय फेरिएको छ - नाम उही हरि तामाङ, वर्ष ४१। परिचय: पाखो खेतमै बाख्रापालन र तरकारी खेती गरी सफलतातर्फ लम्किरहेका कृषक।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell