PahiloPost

May 21, 2018 | ७ जेठ २०७५

हिमाल र तराईबीच 'किड्नी एक्स्चेन्ज'ले बनाएको नयाँ नाता

हिमाल र तराईबीच 'किड्नी एक्स्चेन्ज'ले बनाएको नयाँ नाता

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको पहिलो तल्ला। पीडा र समस्याले ग्रस्त उदास मानिसहरुको चाप छ यहाँ। बाँच्ने आशा र बचाउने उद्देश्य लिएर आएकाहरुको ‘जक्सन’ भएको छ यो ठाउँ।ओपिडी, एक्स्रे र फार्मेसी सबैतिर उस्तै भिड।

अरु सरकारी अस्पतालतिरजस्तो दुर्गन्ध छैन्। अस्पतालकै बिरामी प्रतीक्षालयमा गफिँदै छन्, हिमाली जिल्ला मुगु र तराई सिरहाका दुई परिवार। दुई परिवार जसले एकअर्कामा मिर्गौला साटेका छन्।

बाँच्ने आशा मारेर खिन्न भएका उनीहरुले नयाँ जीवन मात्र हैन, नयाँ सम्बन्ध पनि पाएका छन्। सम्बन्ध - दाजुभाइको।

रोगले उनीहरुको सम्बन्ध जोडियो। मिर्गोला रोगले थलिएका दुई परिवारको एक एक सदस्यको उपचारको उपाय बन्यो - ‘मिर्गौला एक्सेन्ज!'

फरक— फरक परिवारमा ‘मिर्गौला एक्सेन्ज!'

आश्चर्य लाग्न सक्छ। तर, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गएको २० महिनामा १२ परिवारमा ‘पियर एक्सेन्ज’ गरिसकेको छ। 

ती मध्यकै दुई परिवार फलोअपको लागि आएका छन् यहाँ। डाक्टरको अपोइन्टमेन्टको प्रतीक्षा छ उनीहरुलाई।

मुगुको मानवीर बुढा र उनकी पत्नी शिवकला। साथमा छन्, सिरहा लहानका विष्णूकुमार सिंह र उनकी श्रीमती शान्तिकुमारी। शिवकला शान्तिकुमारीको मिर्गौलाले बाँचिरहेकी छिन्। विष्णु मानवीरको मिर्गौलाले। यी दुवै जीवनको दोस्रो इनिङ्सका साझेदार बनेका छन्। 

‘कसरी साटियो त दुई परिवारबीच मिर्गौला?’ 

जवाफको लागि 'रुम नम्बर' सात नै पुग्नुपर्यो।

पहिलो तल्लाकै रुम नम्बर सात।बिरामीको लाइन छ। एक जना नर्स बिरामीलाई भन्दैछिन्, ‘चिन्ता लिनु पर्दैन्। ब्लड रेडी छ। अलिअलि पैसाको जोहो गर्नु।’ 

उनले केही छिनमै  हिसाब निकाल्दै भनिन, ‘अहिलेलाई तीन लाख जति भए पुग्छ।’

‘धन्यवाद सिस्टर’ भन्दै बिरामी बाटो लागे।

'सिस्टर'ले हामीलाई मुस्कानसहित स्वागत गरिन्। त्यसपछि तयार भए उनीहरु ‘पियर एक्सचेन्ज’को कथा सुनाउँन।

+++

सिस्टरहरुले ‘लोकेसन’ जुराइदिए-अस्पतालको तेस्रो तल्ला। प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठको मिटिङ हल।

‘हामी जोइपोइ वैसाखदेखि आएका, मुगु फर्कन पाएको छैन। साना छोरीहरुको विजोग होला उता,’ मानवीरले सुरुमै दुखेसो पोखे, ‘ज्यान त बाँच्यो, तर १५ लाख ऋण कसरी पो तिर्नु।'

शिवकला धैरै समयदेखि बिरामी थिइन्। खाना रुच्दैनथ्यो। वान्ता गर्थिन्। शरीरको तौल घट्दै थियो। हातगोडा सुन्निएका। मानवीरले धामीझाँक्री लगाए। भूत र बोक्सी लागेको भन्दै देवतालाई कुखुरा र बोका भोग दिए। तर, शिवकला झनै दिनहुँजसो बेहोस हुन थालिन्।

नजिकै अस्पताल थिएन। औषधिको नाममा सिटामोल मात्रै उपलब्ध थियो। त्यही किन्न पनि एकदिन पूरा हिँड्नुपर्ने। सामान्य चेकअपका लागि नेपागन्ज नझरी सुखै थिएन। मानवीरले अन्तिम विकल्प अस्पताललाई लिए। नेपालगन्ज झरेपछि थाहा भयो— शिवकलाको दुवै मिर्गौला फेल!

'३९ वर्षमै दुवै मृर्गौला फेल!,' मानवीरलाई विश्वास लागेन। 

डाक्टरलाई फेरि सोधे। डाक्टरले पहिलेकै शब्द दोहोर्याए— हो दुवै मिर्गौला फेल।

मानवीरलाई उभिएको जमिन फनफनी घुम्यो। रिंगटा लाग्यो। थचक्क भुइँमा बसे। दिमाग शून्य भयो। शिवकला एकोहोरो उनलाई नै हेरिरहेकी थिइन्। लामो सास तान्दै मानवीरले भने, ‘चिन्ता नगर बुढी तलाई म जसरी नि बचाउँछु।’ 

शिवकलाले भनिन्, ‘के भयो र मलाई, म बाँच्दिन हो?’

मानवीरले हामीसँगै अतित् स्मरण गरिरँदा शिवकला उनलाई नै हेरिरहेकी थिइन्। भनिन्, ‘मलाई त मिर्गौला फेल भन्ने थाहा नै थिएन। यति धेरै पैसा र समय खर्च हुँदो रहेछ।’ 

+++

त्यसपछि जोइपोइ हानिए काठमाडौंतिर। ४ दिनको बस यात्रापछि काठमाडौं आइपुगे। सुरु भयो अस्पताल चहार्ने काम। एकबाट अर्को, अर्कोबाट अर्को। अन्त्यमा आइपुगे भक्तपुरको प्रत्यारोपण केन्द्र। डायलासिस सकियो। ‘क्रस म्याच भेरिफिकेसन’ मा २ लाख सकियो। त्यसपछि मानवीरले बल्ल थाहा पाए शिवकलालाई बचाउन सकिन्न।उनीहरुको ‘क्रस म्याच भेरिफिकेसन’ म्याच भएन। शिवकलालाई मिर्गौला दिन परिवारका अन्य कोही राजी भएनन्।

त्यसपछि अर्को तनाव सुरु। डायलासिसको भरमा सधै बाँच्न सम्भव थिएन्। आफ्नै आफन्तले मिर्गौला दिन इन्कार गरे। 

‘मर्ने मान्छेलाई खर्च गरेर ऋण नबोक्नुस्,’ भन्दै शिवकलाको दाइले मानवीरलाई सम्झाएका थिए।

मानवीर कसैको कुरा सुन्ने पक्षमा थिएनन्। काठमाडौंमै बसेर डायलासिस गराइरहे।। ऋणमाथि ऋण थपिँदै थियो। परेको सहने मनस्थिति बनाएर काठमाडौंमै बसे।

+++

मंसिर २० गतेको एउटा दिउँसो। जाडो महिनाको पारिलो घाम। मानवीरको बुढाबुढी घाम तापेरै बसिरहेका थिए। मोबाइलको रिङ टोन बज्यो।

‘तपाईँहरुको लागि मिर्गौला भेटियो तुरुन्त अस्पताल आउनू।’

फोन रिसिभ गर्नासाथ सुनेको त्यो आवाज प्रत्यारोपण केन्द्रकी नर्सको थियो। तैपनि, मानवीरलाई विश्वास लागेन। उनले आफ्नो परिवारबाहेक अन्य मानिसले मिर्गौला दिन नमिल्ने सुनेका थिए।

बाटोभरि मनमा कुरा खेल्यो कसले दिन लाग्यो मेरी श्रीमतीलाई मिर्गौला?

अस्पतालमा उनीहरुलाई कुरिरहेका थिए, विष्णु र शान्ति। उनीहरुपनि जीवनको आशा मारेर बस्नेहरु मध्येका थिए। प्रत्यारोपण केन्द्रको फोनले ती दुई परिवारलाई भेटायो। त्यो फोन नै दुइटै परिवारको 'टर्निङ पोइन्ट' बन्यो।

‘तपाईँहरु अब बाँच्न सक्नुहुन्छ। ट्रान्सप्लान्टको लागि तयार रहनुस्।’ 

दुवै परिवार ढुक्क भए। मानवीरले उत्साहित हुँदै त्यो दिन सम्झिए, ‘खुशीले रातभरि निद्रा लागेन। अबचाहिँ बाच्न सकिन्छ भन्ने भयो। पैसा जोहो कसरी गर्ने सोच्दैमा रात बित्यो।’

+++

विष्णुकुमार पनि हामीसँगै थिए, मानवीरको ‘भ्वाइस टोन’ सुनेर मुस्कुराउँदै। बीचबीचमा पियर एक्सचेन्जको अनुभव सुनाउँदै पनि।

विष्णु २०५८ सालको समयतिर फर्कन्छन्।

विष्णु सरकारी जागिरे। पोष्ट गाविस सचिव। सिरहाको अधिकांश गाविसमा काम गरिसकेका छन् उनले। २०५८ सालमा डायबेटिज भयो। सँगसँगै प्रेसर पनि। औषधि नियमित खान थाले। तैपनि रोगले च्याप्दै गयो। २०६६ सालमा फेरि चेकअप गरे। रिजल्टले मिर्गौलामा ‘यल्लो सिग्नल’ देखाइदियो।औषधि खाए अन्य उपचारतिर लागेनन्।

२०७३ सालमा थलिन थाले। हातगोडा सुनिने, बान्ता हुने हुन थाल्यो। न त खानामा रुची थियो न काम गर्ने जाँगर। एकदिन काम गर्दै गरेको बेला बेहोस भए। त्यहीँकै विराट अस्पतालको आइसियूमा भर्ना भए।

‘अस्पतालले डायलासिस बिगार्यो। २ लाख त्यही सकियो! धन्न ज्यान जोगियो,’ विष्णुले विगत सुनाए, ‘त्यसपछि काठमाडौं आएको बल्लबल्ल बाँचियो।’

काठमाडौँमा सुरुमा अस्पताल चहार्दै ठिक्क। डायलासिस ओम अस्पतालबाट गरे। ‘क्रस म्याच भेरिफिकेसन’गर्न निदान अस्पताल जानुको विकल्प थिएन। दुईपटक क्रस म्याच भेरिफिकेसन गर्दा १ लाख सक्किसकेको थियो। तैपनि, शान्तिले विष्णुलाई मिर्गौला दिन नमिल्ने भयो। क्रस म्याच भेरिफिकेसनले 'रेड सिग्नल' देखाइदियो।

त्यसपछि मिर्गौला खोजी ब्यापक भयो। दिन मिल्ने आफन्तहरुले दिन चाहेनन्। सबैको जवाफ हुन्थ्यो, ‘आफ्नो जिन्दगी धरापमा पारेर किन मिर्गौला दिनु।’

विष्णुले काल पर्खने बाहेक अन्य विकल्प देखेनन्। 

उपचारमा भएभरको सम्पति सकियो। भक्तपुर दुवाकोटमै नाङ्लो पसल थापे। इन्जिनियर पढ्दै गरेका २ छोराहरु पढाइ छोड्न बाध्य भए। बाँच्ने छाँटकाट देखिएन्। भने, ‘मैले आशा मारिसकेको थिएँ। अस्पतालले उहाँहरुलाई भेटाइदिएपछि बाँचियो। यसरी दुई परिवार मृगौला साट्न मिल्ने कुरा थाहा थिएन्।’ 

मानवीरले बीचमै बोले, ‘संयोगले भेट भो हाम्रो। यताको मिर्गौला झिकेर उता राख्ने पो भगवान। उता त झारफुक गर्छन आफूले आफैलाई देवता भन्छन्। त्यस्ता देवता मानेर बसेको भए मेरो स्वास्नी मरिहाल्थी!’

चारैजना गलल्ल हाँसे। लामो समयसम्म हाँसो रोकिएन। 

प्रत्यारोपण केन्द्रका निर्देशक पुकारचन्द्र श्रेष्ठको मिटिङ रुममा ‘इन्ट्री’ भयो। सोधे, ‘सबै ठीक छ नि?’

‘एकदम ठीक छ?’ मानवीरले जवाफ फर्काए। श्रेष्ठले केही निर्देशन दिन भ्याए। उनीहरु आज्ञाकारी विद्यार्थी झै चुप लागेर सुनिरहे। श्रेष्ठले जाँदै गर्दा भने, ‘मान्ठा अब ६ महिनापछि मुगु जाँदा हुन्छ।’

‘हुन्छ’ मानवीरले फिस्स हाँस्दै टाउको हल्लाए।

+++

मंसिर २५ गतेको बिहान। ट्रान्सप्लान्ट गर्ने दिन। चारैजना अस्पताल आए। डाक्टरहरुको निर्देशन सुने। त्यसपछि गए अपरेसन थिएटर। ढोकामा पुगेपछि विष्णुको पाइला अघि बढेन। ‘बड्डा डराउनुभयो। म डराइनँ, म त मान्ठा नै पागल,’ मानवीरले ट्रान्सप्लान्टको दिन सम्झिए, 'सुई लाएपछि केही थाहा पाइन। सजिलै भयो।’

अपरेसन सफल भयो। ज्यान पनि बाँच्यो। तर, तनावले छोडेन। महिनाको ४० हजारको औषधि। हप्तैपिच्छे‘ट्रयाक लेभल जाँच’, एकपटकको ३ हजार। फलोअपको लागि अस्पताल धाइरहनु पर्ने बाध्यता। डेराको बसाई।  सोचेभन्दा अत्यास लाग्दो खर्च।

यस्ता तनाव कति कति। मानवीर भन्छन्, ‘ऋण कहिले तिर्नु? काम गर्न सकिन्नँ। घर जान अझै मिल्दैन। जीवनभर औषधि खानुपर्छ। बच्चा सानै छ, तनाव नै तनाव।’

दुइवटै परिवारको कथा व्याथा उस्तै। चारै जना एउटा मात्रै मृगौला लिएर ऋणको भारले थिचिएका छन्। कन्फयुजनमा छन्, 'ट्रान्सप्लान्ट त गरियो जीवनभर यस्तो महँगो औषधि खान सकिन्छ कि सकिन्न?'

+++

ऐन संशोधनपछि ‘पियर एक्सेन्ज’


डा श्रेष्ठका अनुसार पहिलोपटक पियर एक्सचेन्ज २०७३ साउनमा भयो। मानव अंग प्रत्यारोपण कानुन (मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५) संशोधन भएपछि यो सम्भव भएको हो।  

‘हामीले अघिल्लो वर्ष ऐन संशोधन गर्दैगर्दा यो व्यवस्था गरेका थियौं। सोही अनुसार एक अर्काको परिवार बीच पनि म्याच भएको खण्डमा प्रत्यारोपण गर्न सकिन्छ। त्यसको लागि दुई परिवारबीच सहमति हुनुपर्छ,’ डा श्रेष्ठले भने।

श्रेष्ठका अनुसार ‘पियर एक्सचेन्ज’ विधिमा क्रस म्याच नहुँदा हुनसक्ने जोखिम र खर्च कम लाग्छ। तर, दुई जोडीकै मिर्गौला एकैपटक झिक्ने र प्रत्यारोपण गर्ने भएकोले जनशक्ति र अप्रेसन थिएटर बढी चाहिन्छ। एकैपटक मिर्गौला झिक्नुपर्ने भएकाले चारवटा अप्रेसन थिएटर एकैपटक चल्नुपर्छ।

हप्तामा दुईपटक हुने प्रत्यारोपणमा चिकित्सकको ठूलो टोली खटिने गरेको छ।अहिलेसम्म ‘पियर एक्सचेन्ज’ गरेको केस शत् प्रतिशत सफल भएको श्रेष्ठ बताउँछन्।

+++

कुराकानी सकेर भर्याङबा झर्दै थिए विष्णु। ‘एउटा कुरा चाहिँ लेख्न नबिर्सिनुस है,’ उनको आग्रह थियो, ‘मृर्गौला दिँदैमा मान्छे मर्दैन। कमजोर हुन्न। मान्छे मर्छ भन्नु भ्रम रहेछ।’ 

मानवीरले सही थापे, ‘हो हो, एउटा मिर्गौलाले पनि मान्छे बाँच्छ। नपत्याए हामीलाई नै हेर्नुस्।’


ट्रेन्डिङ पोस्ट