PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्मकाण्डी विश्वासको मत



कर्मकाण्डी विश्वासको मत
फोटो : रासस

  • केदार वाशिष्ठ -

विश्वासको कडी

मेरा एकजना सहकर्मी छन् – विश्वास रेग्मी। ज्यादै निकटता दर्शाउन कुनै कुनै बेला म भन्ने गर्छु – विश्वास नामधारी सबै मान्छे अविश्वासी हुन्छन्। उनी केही भन्दैनन्, फिस्स हाँसेर उडाइ दिन्छन्। उनलाई मैले भनेको के  लाग्दो हो त्यसको खोजी आजसम्म मैले गरेको छैन। मेरो मनमा उनीप्रति विश्वास वा अविश्वास के छ त्यसको परीक्षण पनि गर्न सकिने कुरा होइन। मेरो भनाइ र उनको फिस्स हाँसोका बिचमा एउटा नजानिँदो विश्वासको सम्बन्ध सूत्र छ। यस्तो सम्बन्ध सूत्र कहिले र कतिबेला स्थापना भयो मलाई यकीन छैन। यो कुनैएक पटकको भेटमा वा धेरै लामो समयको उठबसमा निर्माण भएको हुनसक्छ। हरेक मानिसमा कुनै एक मानिसप्रति एउटा न एउटा अवधारणा रहेको हुन्छ त्यसैले विश्वास वा अविश्वास सृजना गरिदिन्छ। त्यो नै विश्वास वा अविश्वासको सम्बन्धको आधार हुने गर्दछ।

गत शुक्रवार मेरो साप्ताहिक बिदा भए पनि कार्यालयमा काम गर्दै थिएँ। सामान्यतः साप्ताहिक बिदामा काम नगरेको हप्ता हुँदैन। मेरो निकटमा थिए उनै विश्वास रेग्मी। साँझतिर अचानक हावा हुन्डरीसहित केही पानी पर्यो। पानी परेको थाहा थियो तर परे नपरेको यकीन गर्न उनैलाई सोध्न पुगेँछु। उनले हो भने अर्थात् पानी परेको सत्यलाई विश्वासको लेपलगाइ दिए। उनी बिचमै निस्के म अलि पछि काम सकेर निस्कँदा भुइँ भिजेको थियो अर्थात् पानी परेका कारण भुइँ भिजेको थियो। कार्यकारण सम्बन्धको स्थापना भएको थियो। म पानी परेको कुरामा पूर्णतः विश्वस्त भएँ। कार्य कारणको सम्बन्धले सत्य स्थापित गर्दछ।

त्यो पानीले मलाई प्रत्यक्षतः केही असर गरेन। घर आउँदा र खाना खाँदासम्म म सद्दे नै थिएँ। तर राती अचानक ज्वरोले रन्थनिएँ। केही भएकै थिएन अकारण ज्वरो आयो तर त्यसको दोष साँझ परेको पानीतिर सोझियो। ज्वरो आएपछि मसँग भेट भएका र सम्पर्कमा आएका सबैले त्यही पानी परेका कारण मलाई ज्वरो आयो भन्ने गरेका छन्। पानी परेको पनि सत्य र ज्वरो आएको पनि सत्य। तर तिनलाई यसमा कार्य कारण सम्बन्ध स्थापना भएको छैन। सत्य कुरा के हो भने म भिजेकै छैन अनि कसरी त्यही पानीका कारण मलाई ज्वरो आउँथ्यो ? धेरै कुरा हामी अनुमानका आधारमा कार्यकारण सम्बन्ध स्थापना गर्दै सत्यको निकट पुग्ने प्रयास गर्दछौँ र त्यस्ता कुरालाई बानीका रुपमा व्यवहारमा उतार्दछदौँ। यस घटनामा पानीले दोष पायो। धेरै समय नपरेको पानी पर्दा पनि दोष उसको देखाइयो। मानिसका हकमा पनि कतिपय अथवा धेरै अवस्थामा नै दोषारोपण यस्तै गरी हुने गर्दछ। अनाहकको दोषारोपण बढी।

स्वाभाविक रुपमा भोलिपल्ट शनिवार म अफिस जान नसक्ने अनुमान गरेँ र भन्नु पर्ने जति सबैलाई बिहानैभनेँ। फोन गरेर सबैलाई भन्नु भन्दा मोबाइलमा समूहमा छोटो सन्देश पठाएको थिएँ। त्योआत्मरतीमा रमाउने लालसाभन्दा पनि साँच्चै नै गर्नु पर्ने कर्तव्य थियो। त्यो बेलासम्म सद्दे मान्छे बिरामी भनेर सन्देश आउँदा कतिपयलाई अनौठो पनि लाग्यो होला कतिपयलाई अविश्वास पनि। लाग्न त जे पनि पाउँछ नै।खासमा त्यसमा प्रतिक्रियाको आवश्यकता पनि थिएन। त्यसैले कतिका प्रतिक्रिया आए कतिका आएनन्।त्यसरी आदान प्रदान हुने सन्देशमा कर्तव्य र जिम्मेवारी जवाफदेहिताका साथैअक्षर र शब्दका साथमा मानवीय संवेदना पनि अभिन्न भएर आएका हुन्छन्। पढ्नेले त्यो अनुभूत गर्दछ। भाषाको शक्ति भनेकै भावनाहरुको आदान प्रदान गर्नु हो।

कामको संयोजन उतैबाट गर्नु पर्ने थियो त्यो अवश्य भयो नै। कामको प्रकृतिका आधारमा पत्रकारको काम अरु प्रशासनिक कामभन्दा बेग्लै हुने गर्दछ। दैनिक पत्रिकाको कामको नतिजा भोलिपल्ट निस्कने पत्रिकाबाट देखिन्छ प्रशासनमा जस्तो यो काम अलिकति बाँकी रह्यो अब भोलि गरौँला भनेर त्यसै छाड्न मिल्दैन। गुणस्तरका बारेमा मूल्याङ्कनको संयन्त्र पनि बेग्लै हुन्छ अर्थात् कामको प्रकृति फरक भए जस्तै मूल्याङ्कन विधि पनि फरक हुन्छ। सञ्चारगृहमा स्थापना भएको एउटा प्रणाली अनुसार पत्रिका निस्कन्छ त्यसमा सम्पादक शीर्षमा रहने गरी सामूहिक जिम्मेवारी रहन्छ।

सूचना प्रविधिको विकासको फाइदा प्रायः सबै समक्षसूचनाको पहुँच हुनु हो। बिरामी परेका दिनमा पनि सूचनाको उपभोग गरियो। सञ्चारकर्मी भएरभन्दा पनि सूचनाको उपभोक्ताका नाताले ग्रहण गरेका सूचना नेपालका लागि दूरगामी महत्वका धेरैछन्। देश सङ्घीय संरचनामा गइ सकेपछिको पहिलो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेदेखि अर्थमन्त्री डा युवराज खतिवडाको भनाइप्रति लगानीकर्ताको अविश्वाससम्मका समाचारको पाठक बनेको छु।

विश्वासको मत

संसदीय व्यवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिने एउटा प्राविधिक प्रक्रिया हो। त्यसै अनुरुप प्रधानमन्त्रीले प्रतिनिधि सभाका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सिद्ध गर्न विश्वासको मत लिन लागेका हुन्। मङ्सिरमा भएको निर्वाचनमा स्पष्ट बहुमत पाएको वाम गठबन्धनका तर्फबाट नियुक्त भएका प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत एउटा प्राविधिक प्रक्रिया हो। संवैधानिक व्यवस्था हो। यसमा कसैले विरोध जनाउने अवस्था छैन तर सरकार गठन भएको एक महिना पुग्न लाग्दा पनि सरकारलाई पूर्णता दिन नसकेको तर दुई तिहाइको खोजीमा सरकार लागेको कुरालाई हेर्ने हो भने विश्वासको मतलाई कर्मकाण्डी भन्न सकिन्छ। 

जग जाहेर कुरा के छ भने एमाले र माओवादीलगायतको गठबन्धनले तिनै दलहरु बिचको गठबन्धनका लागि भनेर जनतासँग भोट मागेका थिए। जनताले तिनै दलहरुको गठबन्धनको सरकार बनाउन पुग्ने गरी विश्वासको मतसाथ सुविधाजनक बहुमत पनि दिए। तर अहिले आएर वाम गठधन्धन सरकारलाई पूर्णता दिनुको साटो दुई तिहाइको खोजीमा लागेको छ। यो भनेको जनताको विश्वासको मतको अपमान हो। बरु जनमतकै कदर गर्ने हो भने अहिले एमाले र माओवादी भन्ने दुई पार्टीका नाम हुनु हुँदैन थियो। एक भइ सक्नु पर्ने थियो। त्यसका लागि दुई तिहाइ मतको खोजी आवश्यक छैन।

सरकारले दुई तिहाइ मतकै आधारमा गर्नु पर्ने काम भने छन्। संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मतका लागि अरु दलको समर्थन कार्यगत आधारमा गर्न सकिने कुरा हो। त्यसैका लागि सरकारमा नै दुई तिहाइ पुर्याशउन खोज्नु चाहिँ आश्चर्यको विषय हो। संविधान संशोधन कै कुरा गर्ने हो भने फेरि त्यो बाम गठबन्धनको एजेन्डा नै होइन। एमालेले विगतमा मधेसवादी दलको माग बमोजिम संविधान संशोधनको कुरालाई ठाडै अस्वीकार गर्दै आएको हो र निर्वाचनमा वाम गठबन्धनले पाएको मतमा त्यसको हिस्सा छ। यस आधारमा आफूले पाएको मतको अविश्वास गर्नेले विश्वासको मतमा नै दुई तिहाइ खोज्नु जनमतको अपमान हो।

समृद्धिमा अविश्वास?

सरकारगठन भएपछिको अपूर्ण सरकारमा अर्थ मन्त्रीको जिम्मेवारी डा युवराज खतिवडाले पाएका छन्। आर्थिक जमात र सञ्चार क्षेत्रले विश्वास गरेका अर्थशास्त्रीलाई प्रधानमन्त्रीले विश्वास गर्नु राम्रो हो। तर यहाँनिर पनि जनमतप्रति अविश्वास भएको छ। डा खतिवडाको क्षमतामा प्रश्न उठाउने अवस्था नरहे पनि जनविश्वास आर्जन गरेको वाम गठबन्धनको सरकारमा उनी अर्थमन्त्री हुनु हुँदैन थियो। किनकि उनी बाम गठबन्धनका दलका तर्फबाट राष्ट्रिय सभाका सदस्य बनेका हैनन्। उनी स्वतन्त्र हैसियतमा सरकारबाट मनोनित भएका हुन्। मनोनयनको प्रक्रिया पनि विवादको अर्को पाटो बनेको छ। सर्वोच्च अदालतले राष्ट्रिय सभाको सदस्यका रुपमा सपथ ग्रहण गर्न नै उनलाई रोकेको छ। अर्थात्संसद्को सदस्य नै नभई उनी अहिले सरकारमा सामेल छन् तथापि यो असंवैधानिक नै भने होइन।

हरेक दल नेता तथा सरकारले देश विकास र आर्थिक समृद्धिका कुरा गर्न् गरेका छन्। त्यसका लागि पुँजी पहिलो सर्त हुन्छ। पुँजी निर्माणका विभिन्न स्रोतहरुमध्येको एउटा पुँजी बजार सेयर बजार हो। तर अर्थमन्त्रीले सेयर बजारलाई पुँजी निर्माणको आधार हो भन्ने कुराका विपरीत त्यो अनुत्पादक क्षेत्र हो र त्यसमा लगानी गर्नु अर्थहीन भन्ने अभिव्यक्ति दिँदा पुँजी बजारले एकै दिन ४८ अर्ब गुमाएको छ। यो लगानीकर्तामाथि अर्थमन्त्रीको अविश्वास र लगानीकर्ताको अर्थमन्त्रीप्रतिको अविश्वास थियो।

के कुरा बुझ्नु जरुरी हुन्छ भने जुनसुकै विषय क्षेत्रमा पनि विश्वास एउटा अत्यन्तै पारदर्शी त्यान्द्रोका रुपमा रहेको हुन्छ। यो असाध्यै संवेदनशील आस्थाको त्याद्रो हो तर त्यसैमाथि असाध्यै धारिला अविश्वासका तरवारको प्रहार भइ रहेको हुन्छ। विश्वास बोली र व्यवहारबाट आर्जन हुँदै जान्छ। त्यसरी आर्जित विश्वासलाई कहिँ कतै मतले सिद्ध गरि रहनु पर्दैन। खाली विगतका आफ्ना बोली, व्यवहारर प्रतिबद्धतामा तालमेल गर्दै काम गरे पुग्छ। त्यस्ता सबै काममा कार्यकारण सम्बन्ध पनि स्थापना भएको हुन्छ न कि भुइँफुट्टा उत्पत्ति।

twitter: @KedarMr
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell