PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कसरी सार्वजनिक भयो टावर र पाइलटबीचको संवाद?



उमेश श्रेष्ठ

कसरी सार्वजनिक भयो टावर र पाइलटबीचको संवाद?

जनकपुर:  सोमबार दिउँसो युएस बंगला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भयो।

विमानमा सवार चालक दलका चारसहित ७१ यात्रुमध्ये ४९ जनाको मृत्यु भयो भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

विमान दुर्घटनाको केही समयपछि नै विमानको ककपिट र टावर - एयर ट्राफिक कन्ट्रोलर (एटिसी) बीच भएको कुराकानी सार्वजनिक भयो। यही कुराकानीबाट दुई बीच जेरो टु कि टु जेरो कुन रनवेमा विमान अवतरण गर्ने भन्ने अन्यौल भएको बुझिन्छ।

सामाजिक सञ्जाल र मिडियामा छ्याप्छ्याप्ती भएको यो अडियोको स्रोत प्रायले खुलाएनन्। सर्वसाधारणको त के कुरा, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले समेत अति गोप्य प्रकृतिको सूचना बाहिरिनु अपराध भएको बताए।

यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि प्राधिकरणलाई अडियो सार्वजनिक प्रकरणमा स्पष्टिकरण सोध्ने तयारी गरेको खबर बाहिरिएको छ।

पढ्नुस्ः  विमान दुर्घटनाबारे युएस बंगला एयर र विमानस्थलको आ-आफ्नै दाबी, कसरी भयो दुर्घटना?


संवेदनशील सूचना बाहिरिएपछि त्यसका विषयमा विभिन्न धारणा बाहिरिएपछि मन्त्रालयले प्राधिकरणलाई स्पष्टिकरण सोध्ने तयारी गरेको हो।

मिडियामा प्राधिकरणका महानिर्देशकले दिएको 'कोट'बाट थाहा हुन्छ, उनी समेत यो अडियो कसरी सार्वजनिक भयो भन्नेमा जानकार छैनन्।

खासमा यो अडियो लाइभ एटिसी डट नेटबाट सार्वजनिक भएको हो। लाइभ एटिसीको एन्ड्रोइड र एप्पल एपहरु पनि छन्। यसबाट विश्वका विभिन्न देशका एटिसीको लाइभ र रेकर्ड गरिएको आर्काइभ्ड संवाद सुन्न सकिन्छ।


डेभिड पास्कोले अमेरिकाको बोस्टनस्थित लोगान एयरपोर्टको लाइभ एयर ट्राफिक संवाद वेबसाइटबाट सेयर गर्न यो साइट सुरु गरेका हुन्। उड्डयन क्षेत्रमा रुचि राख्ने, विद्यार्थी पाइलट, विद्यार्थी एयर ट्राफिक कन्ट्रोलर, एयरलाइन अपरेटरहरुबीच लोकप्रिय हुन थालेपछि यो साइटले आफ्नो क्षेत्र विस्तार गर्न थाल्यो।

विश्वका धेरै कुनाका विमानस्थलको एटिसी संवाद यहाँ सुन्न सकिन्छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थललाई 'भिएनकेटी' संकेत दिएको छ। त्यही संकेतबाट सर्च गरे यो साइट र यसको एपमा लाइभ र रेकर्डेड संवादहरु सुन्न सकिन्छ।

काठमाडौँ एप्रोचको १२०.६००, काठमाडौँ कन्ट्रोलको १२६.५०० र काठमाडौँ टावरको ११८.१०० फ्रिक्वेन्सीमा भइरहेको संवाद यसबाट लाइभ सुन्न पाइन्छ।

साइटमा ३० दिनसम्मको अडियो आर्काइभ राखिएको हुन्छ।

एसियामा नेपालमात्र हैन चीन, फिलिपिन्स, पाकिस्तान, जापान, रुस, हङकङ आदि देशका अडियो पनि यसबाट सुन्न सकिन्छ।

दुर्घटना भएको बेलाको कुराकानीको अडियो यसमा सुन्न सकिन्छ।  

सुन्नस् अडियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell