PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

'केएमसीमा छु, आमालाई भन्दिनुहोला,' फोनमा यति बोलेकी प्रिन्सी आइसियुमा: दुबईबाट फर्केकी शोभा भगवान पुकार्दै



सागर बुढाथोकी

'केएमसीमा छु, आमालाई भन्दिनुहोला,' फोनमा यति बोलेकी प्रिन्सी आइसियुमा: दुबईबाट फर्केकी शोभा भगवान पुकार्दै

काठमाडौं: 'म काठमाडौं जाँदै छु ममी, तपाई कहिले फर्कनुहुन्छ?' सोमबार बिहानै ढाकाबाट प्रिन्सी धामीले आमालाई फोन गरेकी थिइन्।

'म चाँडै आउँछु छोरी। राम्रोसँग जाउ। पुगेपछि कल गर्नु, टेक केयर,' दुबईमा रहेकी शोभाले छोरीलाई जवाफ फर्काइन्।

आमासँगको फोन संवादको केहीबेरमै प्रिन्सी चढेको विमान ढाकाबाट काठमाडौंका लागि उड्यो। काठमाडौंमा आफू उत्रेको जानकारी दिन नपाउँदै उनी चढेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो।

दुर्घटनापछि उद्दार टोलीले उनलाई सिधै सिनामंगलस्थित केएमसी अस्पताल पुर्यायो। 

'म प्लेन क्र्यासमा परेर केएमसी अस्पतालमा आइपुगेको छु। ममीलाई पनि भन्दिनुहोला,' अस्पताल पुगेपछि प्रिन्सीले फोन गरिन्-उनकी माइजु सीतालाई। 

यति भन्नासाथ उनी बेहोस भइन्।

०००

प्रिन्सी यतिबेला काठमाडौं मेडिकल कलेज सिनामंगलको आइसियूमा छिन्। उपचारमा संलग्न चिकित्सककाअनुसार उनको अवस्था सुधारोन्मुख छ।

प्रिन्सीकी माइजु सीताले कल गरेर शोभालाई सुनाइन्, 'प्रिन्सी प्लेन क्र्यासमा परेकी रहेछिन्। अहिले केएमसीको आइसियुमा छिन्।'
 
बिहानमात्र कुरा गरेको छोरी दुर्घटनामा परेको खबर शोभालाई विश्वास लागेन। नेपाली मिडिया हेरिन्। सबैतिर उही विमान खसेको समाचारमात्र।

शोभाले तत्कालै नेपाल आउने टिकट बुक गरिन्। श्रीमानसँगै  बिहानै ९ बजे त्रिभुवन विमानस्थलमा ओर्लिन्। र, सिधै केएमसी पुगिन्।
शोभाको एकमात्र छोरी हुन्, प्रिन्सी। छोरी डाक्टर बनेको हेर्ने चाहना थियो उनको। भन्दै थिइन्, 'डाक्टर बन्छु भनेकी छोरी अहिले अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छिन्।' 

अस्पतालमा छोरीको खबर लिन आइसियु गेटअघि कुरिरहेकी शोभाको अवस्था पनि नाजुक छ। 'छोरी छोरी...' भनेर आइसियु कक्षा अगाडि बर्बराउँदै थिइन्, 'हे भगवान, मेरी छोरीलाई बचाइदेउ।'

बंगलादेशबाट एमबिबिएस सकाएर आएकामध्ये प्रिन्सी र समिना व्यन्जनकार यतिबेला मृत्युसँग संघर्ष गरिरहेका छन्।  उपचारमा संलग्न चिकित्सकका अनुसार प्रिन्सीको कम्मरमा 'फ्याक्चर' भएको छ। देब्रे हात जलेको छ। पुरानो 'ब्लड' सबै जलेको कारण १० 'पाउन्ड' नयाँ ब्लड दिएको छ।

त्यस्तै समिनाको परिवारको अवस्था पनि शोभाको भन्दा फरक छैन। प्रिन्सीझैं एमबिबिएस सकाएर नेपाल आएकी समिना पनि आइसियुमै छिन्। समिनाको कम्मर फ्याक्चर भएको छ। 

दुइटै परिवारको आफन्त आइसियु गेटअघि भावविह्वल भएर कुरिरहेका छन्।

सोमबार दिउँसो युएस बंगला एअरको विमानमा काठमाडौं आएका उनीहरु दुर्घटनामा परेपछि अस्पतालमा भर्ना भएका छन्। ७१ जना सवार भएका मध्य ५० जनाको मृत्यु भइसकेको पुष्टी भएको छ। त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज शवहरु पोष्टमार्टमको लागि लगिएको छ। मृतको आफन्तले शव पाउन अझै पाँच दिन लाग्ने शिक्षण अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार

कसरी सार्वजनिक भयो टावर र पाइलटबीचको संवाद?

विमान दुर्घटना: टिचिङमा भावविह्वाल आफन्तहरु, फोटोमा हेर्नुस्

विमान दुर्घटनापछि एटीसीमा कार्यरत ६ कर्मचारीको सरुवा, किन सरुवामा परे कर्मचारी?

झ्याल फोडेर हामफालेकी बंगलादेशी अहमदले भनिन्: चाँडो उद्दार नभएको भए कहाँ बाँचिन्थ्यो र


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell