PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के नेपाली आकाश असुरक्षित हो? यस्तो छ दुर्घटनाको श्रृङ्‍खला



पहिलोपोस्ट

के नेपाली आकाश असुरक्षित हो? यस्तो छ दुर्घटनाको श्रृङ्‍खला

काठमाडौँः सन् १९४८ मा बेलायती नागरिक एच वेल्डरले पहिलो पटक काठमाडौंको गौचरमा परीक्षणस्वरुप जहाज अवतरण गराए। अर्को वर्ष सन् १९४९ मा भारतीय वायुयान डकोटा– ३ अवतरण गर्‍यो। २००७ (सन् १९५१) मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले काठमाडौंका लागि वाणिज्य उडान सुरु गर्‍यो। त्यसको तीन वर्षपछि सन् १९५४ मा शाही नेपाल वायुसेवा निगम (हालको नेपाल वायु सेवा निगम) को स्थापना भयो। पछि नेपालमा विमानस्थलको संख्या बढ्दै गए।

नेपालमा विमान सेवाको इतिहासभन्दा अगाडि २००३ साल वैशाख २५ गते (मे ७, १९४६) पहिलोपटक विमान दुर्घटना भएको थियो। वेलायती सेनाको डकोटा–३ सिमरामा दुर्घटना भएको थियो। यो दुर्घटनामा कुनै मानवीय क्षति नभएको एभिएसन सेफ्टी नेटवर्कको तथ्यांकमा उल्लेख छ। त्यसपछि नेपाली आकाशमा सुरु भएको हवाई दुर्घटनाको क्रम पछिल्लो सात दशकमा ६३ पुगेको छ।

यीमध्ये ३८ दुर्घटनामा मानिसको ज्यान गएको छ। हालसम्म नेपालमा भएका विमान दुर्घटनामा ७५० जनाको मृत्यु भएको एभिएसन सेफ्टी नेटवर्कको तथ्यांकमा उल्लेख छ।

 

नेपालमा अन्तर्राष्ट्रिय विमान दुर्घटना

अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकका ठूला दुर्घटनामध्ये सोमबारको दुर्घटना तेस्रो ठूलो दुर्घटना हो। नेपालमा २०४९ साल असोज १२ (२८ सेप्टेम्बर १९९२) पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको कराँचीबाट काठमाडौँका लागि उडेका फ्लाइट २६८ ललितपुरको भट्टेडाँडामा दुर्घटना भएको थियो। यो नेपाली इतिहासमा भएको सबैभन्दा ठूलो विमान दुर्घटना हो।

त्यस्तै, २०४९ असार २९ (१३ जुलाई १९९२)मा थाइ एयरवेज इन्टरनेशनलको विमान गोसाइकुण्ड नजिकै घोप्टेभीरमा दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो।

त्यसभन्दा अगाडि नेपालमा इन्डियन एयरलाइन्सको विमान दुर्घटना भएको थियो। सन् १९५८ मा काठमाडौँमा भएको विमान दुर्घटनामा २० जनाको मृत्यु भएको थियो। त्यस्तै सोही एयरलाइन्सको विमान सन् १९५६ मा दुर्घटना भएको थियो। काठमाडौँमै भएको दुर्घटनामा १५ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै सन् १९५५ अगस्ट ३० मा कालिंगा एयरलाइन्सको विमान सिमरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो।

त्यस्तै सन् २०१५ मार्च ४ मा टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो।

विमान दुर्घटनामा कुनै मानवीय क्षति भने भएको थिएन।

 

नेपालको हवाई सुरक्षामा प्रश्न

नेपाली आकाश असुरक्षित रहेको र नेपाली विमान सेवा कम्पनीहरुको अवस्था हेर्दै युरोपेली संघले नेपाललाई कालोसूचीमा राख्दै नेपालका विमान कम्पनीलाई युरोपेली आकाशमा उड्न समेत प्रतिवन्ध लगाएको छ।

सन् २०१३ मा युरोपियन युनियनले नेपाली आकाश विमान उडानका लागि असुरक्षित रहेको भन्दै कालोसूचीमा राखेको थियो।

पछिल्लो समय नेपाली आकाश हवाई उडानका लागि सुरक्षित भएको भन्दै नेपालले पहल गरिरहेको अवस्थामा फेरि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुनुले नेपालको प्रतिवन्ध थपिन सक्ने सम्भावना समेत बढेर गएको छ।

युरोपियन युनियन एभिएसन सेक्युरिटी काउन्सिलले नेपाललाई २०१३ यता कालोसूचीमा राख्दै आएको छ। हवाई सुरक्षा, दुर्घटनापछिको उद्दारलगायतका क्षेत्रको अध्ययनपछि उसले यो सूचीमा राख्दै आएको हो।

एभिएसन क्षेत्रका विभिन्न ८ वटा विधाको अध्ययनपछि प्राप्त अंकका आधारमा यो सूची तयार गरिन्छ।

इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेशन (आइकाओ)ले तयार पारेको ८ वटा अडिट क्षेत्रमध्ये नेपाल चार वटामा पछाडि छ। आइकाओको सन् २०१७ को अडिट रिपोर्ट अनुसार नेपाल चार वटा क्षेत्रमा विश्वको औसत अंकभन्दा कम अंक पाएको छ।

अडिट रिपोर्ट अनुसार विश्वको हवाई सेवा सम्बन्धी संगठन, दुर्घटनाको अनुसन्धान, लाइसेन्सिङ, एयर नेभिगेशन सर्भिसमा नेपाल पछाडि परेको देखाउँछ।

नेपालमा हवाई दुर्घटनाको अनुसन्धान कम हुने गरेको अडिट रिपोर्टले देखाउँछ। यस क्षेत्रमा नेपालले १०० मा १८ दशमलव २८ अंक मात्र पाएको छ। विश्वमा औसत दुर्घटना अनुसन्धानको अंक ५५ दशमलव ५४ रहेको छ।

त्यस्तै संगठनमा नेपालले ५० अंक पाएको छ। त्यस्तै लाइसेन्सिङमा ६८ दशमलव ६७ प्राप्त गरेको छ। विश्वको औशत लाइसेन्सिङ अंक ७२ दशमलव ८७ रहेको छ।

त्यस्तै नेभिगेशन सर्भिस समेत औसतमा फितलो रहेको छ। विश्वमा औसत ६२ दशमलव ४३ अंक पाउँदा नेपालको औशत अंक ५५ दशमलव ५६ रहेको छ।

नेपाल फेडरेशन अफ एभियसन एडमिनिस्ट्रेसनको इन्टरनेशनल एभिएसन सेफ्टी एससेमेन्ट प्रोग्राम (आइएएसए)मा रेटिङमा परेको छैन।


नेपालमा यात्रुको ज्यान लिने गरी भएका विमान दुर्घटना दुर्घटना

+  १२ मार्च २०१८ युए–बंगला काठमाडौँ ५०

+  ३० मे २०१८ नेपाल आर्मी बाजुरा १

+  २७ मे २०१७ समिट एयर लुक्ला २

+  २४ फेव्रुअरी २०१६ तारा एयर म्याग्दी २३

+  १६ फेव्रुअरी २०१४ नेपाल एयरलाइन्स सन्धिखर्क १८

+  २८ सेप्टेम्बर २०१२ सिता एयर काठमाडौँ १९

+  १४ मे २०१४ अग्नी एयर जोमशोम १५

+  १८ अक्टुबर २०११ नेपाल आर्मी ढोरपाटन ६

+  २५ सेप्टेम्बर २०११ बुद्ध एयर काठमाडौँ १९

+  १५ डिसेम्बर २०१० तारा एयर ओखलढुंगा २२

+  २४ अगस्ट २०१० अग्नि एयर मकवानपुर १४

+  अक्टुबर २००८ यति एयर लुक्ला १८

+  ३ जुन २००६ यति एयर जुम्ला ९

+  २५ मे २००४ यति एयर लुक्ला ३

+  २२ अगस्ट २००२ सांग्रिला एयर पोखरा १८

+  १७ जुलाई २००२ स्काइलाइन सुर्खेत ४

+  २७ जुलाई २००२ नेपाल एयरलाइन्स डडेलधुरा २५

+  २५ डिसेम्बर १९९९ स्काइलाइन एयर सिमरा १०

+  ५ सेप्टेम्बर १९९९ नेकोन एयर काठमाडौँ १५

+  ७ जुलाई १९९९ हिन्दुजा  काठमाडौँ ५

+  १८ जनवरी १९९९ नेकोन जुम्ला ५

+  २१ अगस्ट १९९८ लुम्विनी एयरवेज म्याग्दी १८

+  २५ अप्रिल १९९६ नेपाल एयरलाइन्स काठमाडौँ २

+  ३१ जुलाई १९९३ एभरेस्ट एयर भरतपुर १९

+  २८ सेप्टेम्बर १९९२ पीआइए काठमाडौँ १६७

+  १३ जुलाई १९९२ थाइ एयरवेज काठमाडौँ ११३

+  १० जुलाई १९९१ नेपाल आर्मी सुर्खेत ३

+  ३० डिसेम्बर १९९८५ नेपाल आर्मी धनगढी २५

+  २२ डिसेम्बर १९८४ नेपाल एयरलाइन्स भोजपुर १५

+  १० मे १९७३ थाइ एयरवेज काठमाडौँ १

+  १३ सेप्टेम्बर १९७२ नेपाल वायुसेना पाँचखाल ३१

+  २७ फेव्रुअरी १९७० नेपालीज रोयल फ्लाइट जोमसोम १

+  १२ जुलाई १९६९ नेपाल एयरलाइन्स हेटौँडा ३५

+  ५ नोभेम्बर १९६० नेपाल एयरलाइन्स भैरहवा ४

+  २४ मार्च १९५८ इन्डियन एयरलाइन्स काठमाडौँ २०

+  २४ मार्च १९५६ इन्डियन एयरलाइन्स काठमाडौँ १५

+  ३० अगस्ट १९५५ कालिंगा एयरलाइन्स सिमरा २

स्रोतः एभिएसन सेफ्टी नेटवर्क



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell