PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विमान दुर्घटना : ४१ शवको पोस्टमार्टम सकियो, पहिचान खुलेको शव भोलिदेखि आफन्तलाई बुझाइने



सागर बुढाथोकी

विमान दुर्घटना : ४१ शवको पोस्टमार्टम सकियो, पहिचान खुलेको शव भोलिदेखि आफन्तलाई बुझाइने

काठमाडौं : वंगलादेशको एयर युएस बंगलाको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम आज सकिँदैछ। 

'अहिलेसम्म ४१ वटाको पोस्टमर्टाम भयो, भरेसम्म सबै सकिन्छ,' त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डाक्टर प्रमोदकुमार श्रेष्ठले भने। 

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। विमान दुर्घटनामा परी नेपाली, वंगलादेशी र चिनियाँ नागरिकको मृत्यु भएको थियो। मृत्यु हुनेमा वंगलादेशमा मेडिकल शिक्षा लिइरहेका विद्यार्थी र चिकित्सकको संख्या सबैभन्दा धेरै छ।

आज पोस्टमार्टम सकिएका र पहिचान खुलेका शव भोलिबाट अस्पतालले उनीहरुका आफन्तलाई बुझाउने तयारी गरेको छ। 'पहिचान भएका शव भोलिबाट दिनेछौं। विदेशीको शव सम्बन्धित दूतावासलाई नै बुझाइनेछ,' डाक्टर श्रेष्ठले भने। 

विमान दुर्घटनामा परेपछि केही यात्रु झ्याल फुटाएर निस्किएका थिए भने केहीको उद्दार गरिएको थियो। विमानमा लागेको आगोमा झोसिएकाले धेरैको मृत्यु भएको थियो। आगोमा परेकाहरुको शव पहिचानमा समस्या देखिएको हो। पहिचान नखुलेको शवको संख्या फरेन्सिक विभागमा  आधाभन्दा धेरै छ। प्रमुख श्रेष्ठका अनुसार डीएनए परीक्षणपछिमात्रै त्यस्ता शवहरु उनीहरुका आफन्तलाई जिम्मा लगाइनेछ। 

जलेका कारण सबैजसो शव उस्तै देखिएकाले पहिचान खुलाउन डीएनए परीक्षण आवश्यक भएको हो। त्यसैले पहिचान नखुलेका शव आफन्तलाई बुझाउन थप समय लाग्ने भएको छ। 

फागुन २८ गते भएको विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए। दुर्घटनामा परेकै दिन ३ जना भने प्राथमिक उपचार पछि घर फर्केका थिए। बाँकीको अझै विभिन्न अस्पतालमा उपचार जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell