PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विमान दुर्घटना : अझै भएन शव हस्तान्तरण, कुरिरहेका आफन्त आक्रोशित 



सागर बुढाथोकी

विमान दुर्घटना : अझै भएन शव हस्तान्तरण, कुरिरहेका आफन्त आक्रोशित 

काठमाडौं : बंगलादेशको एयर युएस बंगलाको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम आज सकिएको छ।

'४९ मध्य २३ वटा शवको फिंगर प्रिन्ट पहिचान भएको छ। डिएनएको लागि नेपाल प्रहरीले दुई वटा र बंगलादेशको प्रहरीले दुई वटा स्याम्पल कलेक्सन गरेको छ,' त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फोरेन्सिक विभागकf उपप्राध्यापक डा रोजन श्रेष्ठले भने।

२३ जना फिंगर प्रिन्ट मिलेको मध्य नेपाली र विदेशी कति भन्ने यकिन नभएको श्रेष्ठ बताउँछन्।

आज पोस्टमार्टम सकिएका र पहिचान खुलेका शव र विदेशीको शव आइतबारबाट अस्पतालले उनीहरुका आफन्तलाई बुझाउने तयारी गरेको छ। 

'पहिचान भएका शव आइतबारबाट दिनेछौं। सम्बन्धित दूतावासलाई नै बुझाइनेछ,' डाक्टर श्रेष्ठले भने। 

फिंगर प्रिन्ट मिलेको शव पहिचान गर्न १५ घण्टा लाग्ने श्रेष्ठले बताए। 'सबै शवलाई डिएनए गर्नु नपर्ने भएकाले आइतबारबाट पहिचान भएका शव दिन सम्भव भएको हो।' भने, 'शव जाँच गर्ने ठाउँको अभाव भएकाले शव परीक्षण गर्न ढिलो भएको हो।'

श्रेष्ठका अनुसार एक पटकमा तीन वटा शव मात्र परिक्षण गर्न मिल्छ। अरु बेलामा यो ठाउँ ठीकै भएपनि यस्तो बेला सरकारले बेवास्ता गरेको कारण ठाउँ अभाव भएको उनको गुनासो छ। 

डिएनए ब्लडबाट टेष्ट गर्नको लागि मात्र एक हप्ताको समय लाग्ने उनले बताए। ब्लडबाट टेष्ट गर्न असम्भव भएका शवहरु हड्डीबाट टेष्ट गर्ने भएकाले तीन हप्ता लाग्छ। रिपोर्ट आउन अर्को पाँच दिन लाग्छ। 

उनले भने, 'अहिलेसम्म कतिवटा शव डिएनए टेष्ट गर्नुपर्ने हो, यकिन भएको छैन। त्यसमा कति नेपाली र विदेशी छन्, अहिले नै भन्न सकिन्न।'
२० प्रतिशत शवको लागि डिएनए गर्नुपर्ने अवस्थामा रहेको श्रेष्ठ बताउँछन्। 'आइतबारबाट ३० देखि ४० वटा शव बुझाउन सक्छौँ।'

श्रेष्ठले भने,  '३० वटा जति शवमा चिन्न सकिने आधार छ। तर त्यही ३० वटामै फिंगरप्रिन्ट मिलेको पनि छ। परिवारले चित्त नबुझाए हामी फिंगर प्रिन्ट मिलेको शव पनि डिएनए गर्न पठाउँछौं।'

जलेका कारण सबैजसो शव उस्तै देखिएकाले पहिचान खुलाउन डीएनए परीक्षण आवश्यक भएको हो। 

मंगलबारदेखि नै मृतकका आफन्तहरु फोरेन्सिक विभाग अगाडि शव लिन कुरिरहेका छन्। शव पाउन ढिलो भएकाले उनीहरु आक्रोशित छन। मृतकका एक आफन्तले भने, 'यस्तो संवेदनशील अवस्थामा पनि शव दिन ढिलाई गरिएको छ। सरकाले यत्रो जनताको छोराछोरी मर्दा शव कसरी चाँडो दिने सोचेको छैन।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा  युएस बांग्ला एयरको विमान फागुन २८ गते दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु हुनेमा नेपाली, बंगलादेशी र चिनियाँ नागरिक छन्। 

विमान दुर्घटनामा परेपछि केही यात्रु झ्याल फुटाएर निस्किएका थिए भने केहीको उद्दार गरिएको थियो। विमानमा लागेको आगोले धेरैको मृत्यु भएको थियो। आगोमा परेकाहरुको शव पहिचानमा समस्या देखिएको हो। 

विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए। दुर्घटनामा परेकै दिन ३ जना भने प्राथमिक उपचार पछि घर फर्केका थिए। बाँकीको अझै विभिन्न अस्पतालमा उपचार जारी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell