PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

विमान दुर्घटनामा बाँचेका दयारामको सुझाव : हवाई यात्राका बेला रक्सी नखानू, नसुत्नू



विमान दुर्घटनामा बाँचेका दयारामको सुझाव : हवाई यात्राका बेला रक्सी नखानू, नसुत्नू

काठमाडौँ : यसै साता काठमाडौँमा भएको विमान दुर्घटनामा परी बाँचेका एक नेपाली ट्राभल एजेण्टले हवाई यात्राका क्रममा यात्रुहरुले रक्सी खान नहुने र विमान उडान र अवतरण गर्ने बेलामा निदाउन नहुने सुझाव दिएका छन्। 

अस्पतालको शैय्यामा रहेका दयाराम ताम्राकारले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसित कुरा गर्दै आफू होसमै रहेका कारण विमान दुर्घटना हुँदा आपतकालीन ढोका फोडेर आँफूसँगै अन्य यात्रुलाई समेत निकाल्न सहयोग गर्न सकेको बताए।

‘विमान दुर्घटना हुँदा म आफ्नो सीटबाट बाहिर निस्किन सकेँ, तत्कालै सिट बेल्ट खोल्न सकेँ र आपतकालीन द्वार खोल्न सकेँ। किनकि म चनाखो थिएँ,’ उनले भने। 
उनले विमानमा आगो लागेको सुन्नु अगाडि नै आफूसँगै अरु यात्रुहरुलाई समेत सहयोग गर्न सकेको र विमानबाट फाल हान्ने निर्णयमा पुगेको बताए। 

यो उनको तत्कालै आएको सोच भएको उनी ठान्छन्। अन्य यात्रुहरुले पनि विमानको आपतकालीन द्वार छिटो फोड्न सहयोग गर्दा धेरैको ज्यान जोगिएको उनी बताउँछन्। 

४९ जनाको ज्यान जाने गरी सोमबार भएको विमान दुर्घटनामा २२ जना यात्रु बाँचेका छन्। 

‘जब कसैले आगो भनेर भन्यो, त्यतिबेला विमानबाट ओर्लनुपर्ने थियो। विमानबाट फाल हानेर हेरेँ, विमानको पुच्छर जलिरहेको थियो’ उनले भने, ‘सेना र आपतकालीन उद्दारकर्मी खटिइसकेका थिए, सम्भवतः यसले पनि धेरैको ज्यान बचाउन सफल भयो।’

विमान अवतरणको केही समय अगाडि उनले विमान धेरै तल उडिरहेको महसूस गरिरहेका थिए। त्यतिनै बेला विमान भुँइमा बजारियो, मानिसहरु चिच्याइरहेका थिए।  

‘मानिसहरु सहयोगका लागि याचना गरिरहेका थिए, प्रार्थना गरिरहेका थिए। मैले सुनिरहेको थिएँ केही मानिसहरु अल्लाह, अल्लाह भनिरहेका थिए,’ उनले भने, ‘विमान दुर्घटनापछिको अवस्था एकदम भयानक र अन्यौलपूर्ण थियो।’

‘म बाँच्न सफल भएँ, यसैमा म कृतज्ञ छु, यद्यपि मेरा केही साथीहरु बाँच्न सकेनन्’ उनले भने। 

उनी नेपालका १४ जना ट्राभल सञ्चालकहरुसँग यात्रा गरिरहेका थिए। उनीहरुलाई एउटा अवार्ड वितरण कार्यक्रममा विमान कम्पनीले बंगलादेश लगेको थियो। 

अधिकांश जीवित यात्रुहरु अहिले पनि उपचाररत छन्। मृतकहरुको शव क्षतविक्षत रुपमा जलेका कारण पहिचानमा समस्या भइरहेको छ।

यो पनि हेर्नुस्-
विमान दुर्घटनामा परेर पनि मृत्युलाई जितेकी एयरहोस्टेस प्रज्ञाको अठोट - 'अझै माथि उड्छु'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell