PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

पाटनको बेग्लै एकल घोडाजात्रा : १७ फोटो, ११ तथ्य

पाटनको बेग्लै एकल घोडाजात्रा : १७ फोटो, ११ तथ्य


काठमाडौँ : टुँडिखेलमा राष्ट्रप्रमुखसहित विशिष्टहरुको उपस्थितिमा तामझामका साथ घोडाजात्रा मनाइरहँदा वाग्मती नदी पारीको अर्को जिल्ला पाटनमा भने एक्लो घोडा दौडाएर जात्रा मनाइयो। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन यो जात्राका विशिष्ट थिए। उनले घोडचढीलाई पूजा गरेर विदाइ गरे। 

यो जात्राका ११  तथ्य यस्ता छन्-
  • यो जात्रा मल्लकालदेखि पाटनका नेवार समुदायले निरन्तर मनाउँदै आएका छन्। जात्रा मल्ल राजा शिवसिंहको पालादेखि सुरुवात भएको विश्वास गरिन्छ। 
  • जात्राको सञ्चालन मंगलबजार वल्खु चिबहा टोलस्थित भिमसेन गुठी च्योखलका स्थानीय ज्यापु समुदायका गुठियारहरुबाट परापूर्वकालदेखि सञ्चालन गरिँदै आएको छ। 
  • पाटनमा दौडाइए पनि घोडा काठमाडौँको सिंहदरबारबाटै ल्याइने हो। घोडेजात्राका दिन गुठियारहरुले पाटन दरबार क्षेत्रस्थित भिमसेन मन्दिरको देवताको शिरमा चाँदीको किकिंपा (शिरबन्दी) राखी भिमसेनको पूजा गरेपछि गुठी संस्थानको अनुरोड्ढमा सिं‌हदरबारको क्याभलरीबाट एउटा घोडा पाटनको मूलचोकमा ल्याई गुठियारहरुको जिम्मा लगाइन्छ। 
  • गुठियारहरुमध्ये एक जना घोडा चढ्ने चुनिन्छन्। गुठियार आजुहरुले टीका र फूलमाला लगाई घोडा जिम्मा लगाउँछन्। सोही गुठियारले घोडा चढी पाटन दरबार क्षेत्रदेखि जात्रा सुरु गरिन्छ। 
  • घोडासँगै मल्ल राजाको प्रतीक स्वरुप खड्ग बोकाई, छत्री ओढाइ म्वायली बाजा सहितको टोलीले जात्रालाई पछ्याइन्छ। 
  • घोडालाई वल्खु चिवहा टोलमा लगी केही समय पाटीमा बाँधी विधिपूर्वक पूजाआजा गरिन्छ। त्यसपछि घोडालाई त्यहाँबाट न्यौट, लोहल हुँदै भोलगणेश टोलसम्म पुर्‍याइन्छ। 
  • भोलगणेश टोलदेखि बालकुमारी मन्दिरसम्म घोडालाई रफ्तारमा दौडाउन सुरु गरिन्छ। शक्तिकी देवी बालकुमारी मन्दिर र भोलगणेश मन्दिरलाई घोडा दौडाइ तीन तीन पटक परिक्रमा गरेपछि अन्तमा बालकुमारी मन्दिर छेउको पाटीमा बसी घोडचढी गुठियारलाई गुठी संस्थानका प्रतिनिधिले सुपारी, पान र दक्षिणा दिई विदावारी गरेपछि पाटनको एकल घोडाजात्रा सम्पन्न हुन्छ। 
  • भिमसेन गुठीका गुठियारहरु पहिले मल्लकालीन दरबारमा घोडाका सुसारेहरु थिए। एक दिन मल्ल राजा घोडसवारमा जान ढिला भइसक्दा पनि सुसारेले घोडा ल्याइ नपुर्‍याउँदा तवेलामा गई हेर्न जाँदा सुसारे मस्त सुतिरहेको र उसलाई पन्चशिर भएको नागले ओत दिइरहेको देखेपछि राजाले उनै सुसारेलाई घोडा चढाइ यो जात्राको सुरुवात गरेको जनविश्वास छ। 
  • यो जात्रालाई पहिले अन्धो घोडा दौडाउने जात्रा भने पनि अन्धो घोडा दौडाउने भने हैन। 
  • विगतमा झैझगडा हुने गरेकोले केही वर्ष यो जात्रा अवरुद्ध भयो। पछि सेनाका जवानले नै घोडा दौडाउने गर्न थालियो। २०६२ सालदेखि भने संस्कृतिप्रति सचेत समुदायको पहलमा पुनः गुठियारले नै घोडा चढेर यो जात्रा मनाउने गरिन्छ। 
  • चैत्र शुक्ल पक्ष चतुर्दशीदेखि पाँच दिनसम्म मंगलबजारस्थित भिमसेन मन्दिर, पश्चिमतर्फ रहेको सत्तलमा बसेर भिमसेन मन्दिरमा राँगाको बली दिने, पूजाआजा, भजन स्त्रोत्रगान भोजभतेर चल्ने गर्छ।  


ट्रेन्डिङ पोस्ट