PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किन खस्किँदैछ उपकप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन?, यस्तो छ पछिल्लो १२ खेलमा प्रदर्शन



पहिलोपोस्ट

किन खस्किँदैछ उपकप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन?, यस्तो छ पछिल्लो १२ खेलमा प्रदर्शन
फोटो : रमन शिवाकोटी

काठमाडौं :  २ टुर्नामेन्ट, १२ खेल, १२ पटक ओपनिङ, १४२ रन।

पछिल्लो दुई टुर्नामेन्टमा ओपनिङ गरेका राष्ट्रिय क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन हो यो।

यस क्रममा ज्ञानेन्द्रले ३२२ बल खेले। ९ चौका र २ छक्का हाने। एक खेलमा विकेटकिपिङ सम्हाल्दा २ स्टम्पिङसमेत गरेका थिए। 

ज्ञानेन्द्रले गत फेब्रुअरीमा नामिबियामा भएको वर्ल्ड क्रिकेट लिग डिभिजन टू र जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्ड कप क्वालिफायर दुवै प्रतियोगिताको सबै खेल खेले। सबैमा ओपनिङ गरेका उनको प्रदर्शन सोचेजस्तो हुन सकेन। यसअघि तेस्रो क्रममा ब्याटिङ गर्दै नेपालको मिडल अर्डर धानेका ज्ञानेन्द्रले ओपनिङ गर्दा भने टिमको लागि सोचेजस्तो योगदान दिन सकिरहेका छैनन्।

नेपाली टिमको सबैभन्दा क्लासिकल ब्याट्सम्यान मानिएका ज्ञानेन्द्रको प्रदर्शन पछिल्लो समय खस्किँदै गएको छ। उनको पछिल्लो १२ खेलको प्रदर्शन र रन स्कोरिङ डेटाले पनि यही देखाउँछ।

कुनै पनि टिमको ओपनरको काम भनेको टिमलाई गतिलो सुरुवात दिलाउने, राम्रो ओपनिङ साझेदारी गर्ने हो। ओपनरको प्रदर्शनले टिमको स्कोरलाई प्रभाव पार्छ। टिमले कति स्कोर बनाउने वा लक्ष्य पछ्याउँदा कसरी खेल्ने ओपनरमा धेरै भर पर्छ।

अझ सिनियर खेलाडीले सुरुमै राम्रो प्रदर्शन गर्न नसक्दा मिडल अर्डरमा ठूलो प्रेसर पर्छ। नामिबियाबाट डिभिजन टू खेलेर फर्केपछि कप्तान पारस खड्कालाई सिनियर खेलाडी चलेनन् नि भन्ने प्रश्न सोध्दा खड्काले त्यसको बचाउ गर्दै सबै खेलमा सबै खेलाडी चल्न नसक्ने तर टिममा सबैको उत्तिकै योगदान रहेको बताएका थिए।

कुनै पनि टिममा पर्नको लागि राम्रो प्रदर्शन गर्नुपर्छ नै टिमलाई नतिजा दिलाउन कहिलेकाँही इन्डिभिजुअल परफरमेन्स पनि देखाउनुपर्छ। नामिबिया र जिम्बावेमा खेल्दा नेपालका केही खेलाडीले राम्रो प्रदर्शन देखाए। तर ज्ञानेन्द्रले सम्झन लायक त्यस्तो प्रदर्शन गर्न सकेनन्। हुनत ओपनर भएर पनि होला, ओपनरले कमै मात्रामा फिनिसिङ अवसर पाउँछन्। तैपनि ज्ञानेन्द्रको पछिल्ला प्रदर्शनले सबैलाई निराश बनाएको छ। राष्ट्रिय टिमको उपकप्तान, अनि ओपनर गर्ने खेलाडीले राम्रो प्रदर्शन गर्दा अन्य खेलाडीलाई पनि सहज हुने थियो। तर त्यसो हुन सकिरहेको छैन।

२०१५-१७ को वर्ल्ड क्रिकेट लिग च्याम्पियनसि अन्तर्गत स्कटल्याण्ड र पपुअ न्यूगिनी विरुद्धको दुई चरण (४ खेल) पछि ज्ञानेन्द्रले नेपालको लागि ओपनिङ गर्दा थालेका हुन्। च्याम्पियनसिपमा उनले त्यसपछि सबै ९ खेलमा ओपनिङ गरे। तर केन्या विरुद्ध ६४* तथा युएई विरुद्ध ५४ रन बनाउनु बाहेक अन्य खेलमा मल्लको प्रदर्शन सम्झनलायक रहेन।

जिम्बावेमा खेल्न जाँदा एसोसिएट नेशनको रुपमा गएको नेपाली टोली अब वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटससहित फर्कदैछ। मल्ल त्यस टिमको उपकप्तान हुन् र अबको वान डे इन्टरनेशनल नेशन नेपालको पनि उपकप्तान हुन्।

सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वर्ल्डकप क्वालिफायरबाट नेपालको लागि लिस्ट ए क्रिकेटमा डेब्यु गरेका ज्ञानेन्द्रले त्यसयता ३७ खेल खेलिसकेका छन्। जसमा उनले ४ अर्धशतकसहित ९०४ रन बनाएका छन्। सन् २०१५ को डिभिजन टू मा केन्या विरुद्ध बनाएको नटआउट ९१ रन उनको व्यक्तिगत उच्च स्कोर हो। 

दुई वर्षे वर्ल्ड क्रिकेट लिगमा ज्ञानेन्द्रले १३ खेल खेल्दै २ अर्धशतकको मद्दतमा ३९४ रन बनाएका थिए।

नेपालले आगामी ४ वर्षको लागि ओडिआई स्ट्याटस हात पारिसकेको छ र यस्तो उपलब्धी नेपालको ३० वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहास र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षीय इतिहासमा पहिलो पटक हो।

यो अवसरलाई अझै सफलता र उपलब्धिमूलक बनाउनका लागि कप्तान, उपकप्तान कोच अन्य खेलाडी लगायत सबैको प्रदर्शन उत्तिकै जरुरी छ।

 

पछिल्लो दुई प्रतियोगितामा ज्ञानेन्द्रको प्रदर्शन नम्बरमा

क्रिकेट वर्ल्डकप क्वालिफायर : ७३ रन, १८५ बल

भर्सेस नेदरल्याण्ड्स   १६ बल ४ रन

भर्सेस पिएनजी       ३ बल १ रन

भर्सेस हङकङ        ३१ बल १२ रन        १ छक्का

भर्सेस अफगानिस्तान  ६९ बल २३ रन        २ चौका

भर्सेस स्कटल्याण्ड    ७ बल १ रन

भर्सेस जिम्बावे       ५९ बल ३२ रन         ३ चौका

 

डिभिजन-२ : ६९ रन, १३७ बल

भर्सेस युएई     २५ बल २४ रन   १ चौका

भर्सेस क्यानडा   २५ बल ९ रन   १ छक्का

भर्सेस केन्या     १४ बल ९ रन   १ चौका २ स्टम्पिङ

भर्सेस युएई      ११ बल ५ रन

भर्सेस ओमान     ४५ बल १५ रन  १ चौका

भर्सेस नामिबिया  १७ बल ७ रन    १ चौका

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell