PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

विमान दुर्घटनापछि किशोरको 'बोनस लाइफ'! एयरलाइन्समा आगो लाग्दाको क्षण यसरी सम्झिन्छन्



सागर बुढाथोकी

विमान दुर्घटनापछि किशोरको 'बोनस लाइफ'! एयरलाइन्समा आगो लाग्दाको क्षण यसरी सम्झिन्छन्

काठमाडौं: अस्पतालको बेडमा किशोर त्रिपाठी मुस्कुराइरहेको भए पनि अनुहारभरि चोट प्रस्ट देखिन्छ। हात भाँचिएकाले स्टिल हालेर प्लास्टर गरिएको छ, खुट्टामा पनि चोट उस्तै। तै पनि हिँडडुल गर्न सक्‍ने अवस्थामा छन्, उनी।

'मैले जीवनको आशा मारिसकेको थिएँ। साथीले निकालेर बचाए। तर, म खुशी छैन। यति धेरै मान्छे मरेका छन्,' ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको नवौं तल्लाको बेड नम्बर ९११ बाट त्रिपाठी विमान दुर्घटनाको विभत्स दृश्यहरु सम्झँदैछन्।

घटना उनको स्मृतिमा ताजै छ। सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ उनको। विमानबाट निस्किएपछि देखेका विभत्स दृश्यले मानसपटल अझै खल्बल्याएको छ। धेरैको शरीर डढेको। कालो कोइला झै ठुटा मान्छे। मान्छे जल्दै गर्दा चिच्याइरहेका, कोही बाँच्न संघर्ष गरिरहेका। दमकलले पानी हाल्दा अनौठोसँग निस्किएको आवाज, अत्यन्तै भयानक र विभत्स।

अस्पतालको बेडबाट बोलिरहेका उनको यो 'बोनस लाइफ' हो। परिवारका लागि व्याख्या गर्न नसकिने 'सरप्राइज' सावित भएका छन्।

परिवारले उनी यो अवस्थामा हुन्छन् भन्ने कल्पनासम्म गरेको थिएनन्। तर, सबैले आशा मारेका त्रिपाठी अस्पतालको बेडबाट मुस्कुराउँदै कुराकानी गरिरहेका छन्। यस्तो ठूलो विमान दुर्घनामा कसरी मान्छे बाँच्न सक्छ भन्ने केही उदाहरणमध्येका एक बनेका छन् उनी।

त्रिपाठी ओशो ट्राभल्स एजेन्सीमा काम गर्थे। विमान कम्पनीकै निम्तो मान्दै बंगलादेशमा भएको अवार्ड कार्यक्रममा पाहुना बनेर गएका थिए। शुक्रबार मात्रै गएका उनीहरु सोमबार कार्यक्रम सकेर फर्कँदै थिए। १४ जना गएका मध्ये २ जना अघि नै फर्किसकेका थिए। १२ जनाको सोमबार फ्लाइट थियो। १२ जना मध्येकै उनी पनि एक थिए।

त्रिपाठी दुर्घटना हुनुभन्दा अघिको अवस्था यसरी सुनाउँछन्-

'दुर्घटना हुनुभन्दा २ मिनेटअघि जमिनमा ल्याण्ड हुन लागेको प्लेन फेरि माथि उड्यो। आकाशमा पुगेर एक राउण्ड घुमेर हल्लिन थालेपछि हामीले भगवान पुकारिरहेका थियौं। बाँचिन्छ भनेर सोच्ने कोही थिएन,' त्रिपाठीले भने, 'समथिङ रङ' भन्ने थाहा पायौं। सबै आत्तिन नपाउँदै प्लेन जमिनमा ठूलो आवाज आएर ठोक्कियो।'

विमान ल्यान्ड हुँदै थियो,जमिन छुनै लाग्दा बायाँ मोडिन थाल्यो। विमानभित्र सबै चिच्याउँदै थिए। पछाडि हेर्दा आगो दनदन दन्किरहेको।  भुइँमा 'डवाङ्ग' गरेर विमान ठोक्कियो। सँगै बसेका साथीले ढोकालाई लात्ताले हाने। बाटो खुल्यो। तर, उनको हात खुट्‍टा थिचिएको थियो। उनी धुँवाको मुस्लोले निसास्सिएका थिए।

'लौन, आगो लागिसक्यो छिटो निस्क,' साथीले आत्तिँदै भने।

'म त सक्दिन। थिचिएको छु,' उनले साथीलाई जवाफ दिए।

त्यसपछि साथीले उनको सिट बेल्ट खोलिदिए। तानेर निकाले। विमान ठोक्किएको २ मिनेटमा यो सब भइसकेको थियो। संघर्ष गरेर निस्किनेमध्ये उनी अन्तिममा थिए।

उनलाई तानेर निकाल्ने साथी थिए, विनोद पौडेल। जसले अन्य दुई जनालाई पनि निकालेर बचाएका थिए। अहिले विनोद पनि ग्राण्डी अस्पतालमै उपचार गराइरहेका छन्।

यो घटना अहिले उनलाई सपना जस्तो लाग्छ। उनी आफै विश्वास गर्न सकिरहेका छैनन्। विमानबाट निस्किँदा धुँवाको मुस्लो निस्किरहेको थियो। यात्रुहरु डढिरहेका थिए। त्यतिकैमा कसैले उनीहरुलाई एम्बुलेन्समा हालेर काठमाडौं मेडिकल कलेज सिनामंगल ल्याए। त्यहाँबाट तत्काल ग्राण्डी रिफर गरियो।

अहिले उनको उपचार भइरहेको छ। अस्पतालले आइतबार डिस्चार्ज गर्ने सूचना दिएको छ।  'न बाँचेकोमा खुशी छु न विस्मात्,' त्रिपाठी सुनाउँछन्। अहिले उनी बेडबाट निस्किएर हिँडडुल गर्न सक्छन्। खाना आफै खान्छन्। र, बाथरुम पनि आफैं जान्छन्। अर्थात् उनी दुर्घटना परेको ५ दिनमै फिट भइसकेका छन्।

त्यसैले चमत्कारले बाँच्न सफल भएको अनुभव गरेका छन उनले।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा  युएस बांग्ला एयरको विमान फागुन २८ गते दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु हुनेमा नेपाली, बंगलादेशी र चिनियाँ नागरिक थिए।

विमान दुर्घटनामा परेपछि केही यात्रु झ्याल फुटाएर निस्किएका थिए भने केहीको उद्दार गरिएको थियो। विमानमा लागेको आगोले धेरैको मृत्यु भएको थियो।

विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रारत थिए। दुर्घटनामा परेकै दिन ३ जना भने प्राथमिक उपचारपछि घर फर्केका थिए। बाँकीको अझै विभिन्न अस्पतालमा उपचार जारी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell