PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मार्समेलो र सलमान खानपछि खेसारी लाल पनि आएनन् नेपाल



मार्समेलो र सलमान खानपछि खेसारी लाल पनि आएनन् नेपाल

  • राधेश्याम पटेल
वीरगंज : शनिबार वीरगंजको नारायणी रंगशालामा हुने भनिएको भोजपुरी सुपरस्टार खेसारी लाल यादवको कन्सर्ट रद्द भयो।

राधिका मुभिज प्रोडक्सन प्रालिले वीरगंजको नारायणी रंगशालामा मनोरञ्जनात्मक प्रस्तुतिको लागि उनीसहित ७ जनाको टिम, भोजपुरीकै अर्का कलाकार यश मिश्र, नेपाली कलाकार रोमा न्यौपानेलगायतलाई बोलाउने कार्यक्रम राखेको थियो।

तर, न भोजपुरी फिल्मका अभिनेता तथा गायक खेसारी लाल हिजोको सोमा आए न  उनको टिम नै सहभागी भयो। यता, एकखुट्टाले नाचेर चर्चामा आएकी रोमा न्यौपाने ठगी मुद्दामा जेलमा परिसकेकी छिन्।

कार्यक्रम रद्द भएपछि टिकट लिएकाहरु आक्रोशित बनेका छन्। वीरगंज १४ पिपराका अनिल पटेलले ५ सय रुपैयाँ खर्चेर खेसारीलालको प्रस्तुति हेर्ने टिकट काटेका थिए। वीरगंजका आयोजकहरुले दर्शकलाई ठग्न मात्र जानेको आरोप उनले लगाए। यसअघि पनि वीरगंजका एउटा आयोजकले भोजपुरीका चर्चित अभिनेता पवन सिंह आउँदै छन् भनी लाखौँ ठगी गरेको घटना उनले सुनाए। जसको पैसा आयोजकले लिएको छ, त्यो फिर्ता गर्नु पर्ने पनि उनले माग गरेका छन्।

उता खेसारीलालले भने कार्यक्रम हुने दिनभन्दा एक दिन अगाडि (शुक्रबार राति) नै सोसल मिडियामा भिडियो राख्दै भनेका थिए, 'मलाई केही सूचनै छैन। जबसम्म म आफ्नो मुखले आउन लागेको बताउँदिनँ, तबसम्म नमान्नुहोला। वीरगंज जुन शो राखिएको छ, त्यो गलत छ। म त्यहाँ जाँदिनँ। '


यस्तो छ खेसारीले जारी गरेको भिडियो क्लिप

 

आयोजक राधिका मुभिज प्रोडक्सन प्रालिका अध्यक्ष सुरेश साह कानुले प्राविधिक कारणवश सो रद्द गरी आगामी वैशाख १ गतेको लागि सारिएको दावी गरेका छन्।  

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले अायोजकको लापारवाहीले गर्दा सयौँ ठगीमा परेको सुनेको बताए। उनले भने,'उजुरी पर्‍यो भने जिल्ला प्रशासन कार्यालय पर्सालाई सिफारिस गर्छौँ।' 

यसअघि गत पुसमा काठमाडौँको दरबारमार्गस्थित क्लब डेजाभुमा डिजे मार्समेलो आउने भन्दै टिकट बेचेर गरिएको कार्यक्रममा उनी नआएपछि क्लब सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको थियो। 

त्यसैगरी फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको कन्सर्ट पनि हुनसकेको थिएन। आयोजकले वैशाख १ गते कार्यक्रम हुने भनी अनौपचारिक जानकारी दिए पनि अहिलेसम्म त्यसको घोषणा सलमान खानले गरेका छैनन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell