PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'रियालिटी सो' जहाँ धन र यौवनको बार्गेनिङ हुन्छ



सविन ढकाल

'रियालिटी सो' जहाँ धन र यौवनको बार्गेनिङ हुन्छ

काठमाडौँ : 'डान्स नेपाल डान्स'को अन्तिम चरणमा पुगेकी थिइन् योगिशा खत्री। नौ वर्षकी योगिशाको कलासामु परिवार नतमस्तक थिए। सानैमा 'रियालिटी सो' को विजेता बनाउन परिवार सक्रिय बनेको थियो। कसैगरी पनि जिताउन उनीहरु डटिरहेका थिए।  

'रियालिटी सो'मा शीर्ष १० छनोट भइन् उनी, ४ सय जनाबाट। छानिएकासँग १ देखि ८ लाख रुपैयाँसम्म आयोजकले मागे। एसएमएस भोटिङमा जसले बढी मत ल्यायो, उसको शीरमा ताज हुने भन्दै भोट बढी आएको देखाउन पैसा मागियो। 

योगिशाको परिवारले पनि उनलाई जिताउन रकम जोरजाम गर्न थाले, अरु सहभागीहरु पनि त्यसरी नै भिडिरहेका थिए। 

'बहिनीको एसएमएस भोटिङ लगायत अन्य खर्च गरेर ६ लाख ५० हजार रुपैयाँ बुझायौं,' खत्रीकी दिदीले भनिन्, 'होस्टेल बस्दा र खानाको खर्च त छुट्टै।'

रियालिटी सोको फिनालेमा योगिशा अब्बल ठहरिइन्। टाइटल अवार्ड नै पाएपछि गरेको लाखौंको लगानी खेर नगएको ठहर्‍यायो परिवारले। जितको खुशी र सँगै पाउने पुरस्कारको रकम, विदेश यात्राको आशले त्यसबीचका संघर्षहरुलाई छायाँमा पार्योव।

तर, यो खुशी केही दिनको पाहुनामात्र बन्यो उनका लागि। विजेतालाई एक लाख रुपैयाँ र विदेश भ्रमण गराउने भनिएको थियो। योगिशाकी दिदीले भनिन्, 'अहिलेसम्म पुरस्कारको रकम नै पाएको छैन। आयोजक सम्पर्कमै आएनन्।'

डान्स नेपाल डान्सको पहिलो सिजन २०६८ जेठ २७ गतेबाट सुरु भएको थियो जसमा ३ सय जना सहभागी थिए। दोस्रो सिजन भने २०७३ साल साउन २६ गतेबाट सुरु भएको थियो जसमा विजेता बनेकी थिइन् योगिशा। 

योगिशाको परिवारले आयोजककहाँ पटक-पटक धाउँदा र सम्पर्क गर्दासमेत केही लागेन। त्यसपछि महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिए – जितेको रकम पाउँ भन्दै। यतिखेर खत्री परिवारमात्र होइन, उजुरी दिनेको संख्या १५  पुगिसकेको थियो। 

धेरैको उजुरीपछि रंगिन 'रियालिटी सो'को कालो पक्ष सामुन्नेमा  आयो। त्यसपछि प्रहरीले केही दिनअघि मात्र राजधानीबाट डान्स नेपाल डान्सका संचालक २९ वर्षीय विक्रम अछामीलाई पक्रियो। ठगी मुद्दामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

अछामीले भी एण्ड भाइरस नामको नृत्य प्रशिक्षण केन्द्र संचालन गर्छन्। र, त्यहीबाट 'डान्स नेपाल डान्स' टेलिभिजन रियालिटी सो चलाएका थिए। 

महाशाखाका एसपी नरेन्द्र उप्रेती भन्छन्, ‘ठगिएको भन्दै उजुरी आउने क्रम बढेको छ। १ लाख रुपैयाँदेखि ६ लाखसम्म विभिन्न बहानामा पैसा लिएको देखियो।'

खत्री परिवार जस्तै रंगिन दुनियाँका नाममा ठगीमा पर्नेहरुको सूची लम्बिँदो छ। समातिएका अछामीले ठगीमात्र होइन, यौन दुर्व्यवहार गरेका घटनामा समेत छानबिन भइरहेको अनुसन्धानमा संलग्न प्रहरीले पहिलोपोस्टलाई जानकारी दिए। 

'मोबाइलमा धेरै युवतीहरुसँग अश्लील क्रियाकलाप गरेका तस्बिरहरु धेरै भेटियो,' अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले भने, 'सहमतिमा भएको थियो वा प्रलोभनमा, त्यो अनुसन्धान गर्दैछौं।'

सौन्दर्य प्रतियोगितामा उस्तै

रियालिटी सोमात्र हैन सौन्दर्य प्रतियोगिताका नाममा हुने 'सेक्स डिल'ले  थप बदनाम गरिरहेको छ। 'विजेता बन्ने हो भने सेक्सको प्रस्ताव स्वीकार्नु पर्ने रे?,'  फेस अफ दि वर्ल्ड नेपालमा सहभागी भएकी पिङ्की जोशीले पहिलोपोस्टलाई सुनाइन्, 'हाकाहाकी प्रस्ताव राख्ने र मान्नेलाई सिधै उपाधि पनि दिँदा रहेछन्। आफ्नै अगाडि यौनको बार्गेनिङ देखियो।'  

केही रियालिटी सो र ब्युटी कन्टेस्टका नाममा गलत धन्दा हुने गरेको उजुरी आउन थालेपछि प्रहरीको सक्रियता बढेको छ। 'यो क्षेत्रमा यस्तो धेरै विकृति रहेछ, अब हामी सूक्ष्म तरिकाले अनुसन्धान गर्छौं,' एसपी नरेन्द्र उप्रेतीले भने।

यो पनि हेर्नुस्  
'विनर' बन्न १० लाख, 'रनरअप'लाई अलि कम, कति दिने? आयोजकले यसरी गरे बार्गेनिङ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell