PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एकै वर्षमा नसके पनि पाँच वर्षभित्र चमत्कार गरेर देखाउछौं: यातायात मन्त्री महासेठ



पहिलोपोस्ट

एकै वर्षमा नसके पनि पाँच वर्षभित्र चमत्कार गरेर देखाउछौं: यातायात मन्त्री महासेठ

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन्।

आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने दाबी गरे।

साक्षात्कारमा मन्त्री महासेठले पाँच वर्षभित्रमा काठमाण्डौमा रेलमार्ग निर्माण हुने बताए। महासेठले केही दिनभित्र नै काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाण्डौ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे।

विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न उनले आग्रह गरे। “विगतलाई बिर्सौँ। अहिले हाम्रा राजनेताहरुमा ईच्छाशक्ति छ। प्रधानमन्त्री ओलीले विकास निर्माणसँग सम्बन्धित सबै मन्त्रालयको सोझै निगरानी गरिरहनुभएको छ।”

अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको आरोप लगाउँदै उनले आफूहरु उच्च मनोबलका साथ काम गरेर सबै समस्या हल गर्ने बताए।

विगतको जस्तो अस्थिर सरकार अहिलेको नभएकाले पाँच वर्षभित्रमा सबै काम गर्न सकिने उनको जिकिर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell