PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बलेवा विमानस्थलमा तारा एयरको परीक्षण उडान, ९ गते देखि नियमित सञ्चालनमा अाउने



पहिलोपोस्ट

बलेवा विमानस्थलमा तारा एयरको परीक्षण उडान, ९ गते देखि नियमित सञ्चालनमा अाउने
फोटोः सांसद सूर्य पाठकको फेसवुकबाट

पर्वतः विगत साढे दुई दशकदेखि बन्द रहेको बलेवा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान गरेको छ। 

तारा एयरको 'नाइन एन एक के एल' कलसाइन भएको टुइनअटर विमानले अाज परीक्षण उडान गरेको हो। 

विमानस्थललार्इ चैत ९ गतेदेखि नियमित सञ्चालनमा ल्याइने तयारीमा नागरिक उड्डयन प्राधिकरण रहेको छ। 

पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएको छ। 

विमानलाई चालक सन्तोष शाह, प्रभात घिमिरे र एयर होस्टेज सिर्जना हुमागाईंको टोलीले विमानस्थलमा सफल अवतरण गराएको हो।

उनीहरुले पटक पटक विमानस्थल वरिपरिको क्षेत्रमा समेत उडान गरेर नियमित सञ्चालनका लागि उपयुक्त दिशाको निरुपण तथा अझै बनाउनुपर्ने संरचनाका बारेमा अध्ययन गरेका थिए। 

स्थानीयवासी तथा धौलागिरि क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको पटक पटकको प्रयासपछि विमानस्थल नियमित सञ्चालनमा आउने भएको हो। विमानस्थलको एक महिनादेखि लगातार बागलुङ नगरपालिका र नागरिक उड्डयन प्राधिकरणको पहलमा मर्मत गरिनाका साथै वरपरका संरचना हटाइएको थियो। 

गौचरनमा परिणत भएको विमानस्थल सञ्चालनमा आउने भएपछि स्थानीयवासी हर्षित बनेका छन्। विमानस्थलमा धावन मार्ग मर्मत, पुरानो टावरको जाँच तथा मर्मत र विमानस्थल वरपरका अग्ला संरचना हटाइएको थियो। 

नियमित उडानका लागि यात्रुको अभाव भएमा बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि पहिलो चरणमा तारा एयर र सरकारी ध्वजावहाक नेपाल वायु सेवा निगमको विमानले नियमित उडान भर्न सहमत भएका छन्। 

विमानस्थल सञ्चालन गर्न धौलागिरिवासीले पटक पटक यसअघि पनि माग गर्दै आएका थिए। सो विमानस्थलमा नियमित हवाई उडान शुरु भएपछि धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका जनतालाई ठूलो सहयोग पुग्ने भएको छ। 

यो विमानस्थल बागलुङका नारायणस्थान, पैयुँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडालगायत करीब १४ गाविसका जनताले श्रमदानमा २०१८ सालमा निर्माण गरेका थिए। 

पोखरा बाग्लुङ राजमार्ग बनेसँगै विमानस्थल बन्द भएको थियो। यो विमानस्थल बन्द हुनुपूर्व २०४८ सालभन्दा अघि बलेवाबाट टुइनअटर विमानले काठमाडौँ, पोखरा र भैरहवा उडान भर्ने गरेको थियो। विमानस्थल अहिले गौचरनमा परिणत भएको छ। 

सो विमानस्थलबाट घाँस बेचेर प्राप्त आम्दानी स्थानीय क्याम्पस सञ्चालनका लागि प्रयोग हुँदै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell