PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीन तहको निर्वाचन खर्च ११ अर्ब, सवा आठ अर्ब कर्मचारी व्यवस्थापनमै!



पासाङ ठकुल्ला

तीन तहको निर्वाचन खर्च ११ अर्ब, सवा आठ अर्ब कर्मचारी व्यवस्थापनमै!

काठमाडौंः निर्वाचन आयोगले तीन तहको निर्वाचन सम्पन्न गर्न सवा ८ अर्ब रुपैयाँ बराबरको रकम कर्मचारीहरुका लागि खर्च गरेको छ। आयोगले २०७४ मा संघीय संरचना अनुसारका तीन वटै तह र राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न गरेको थियो। 

यी निर्वाचनका लागि आयोगले करिब ११ अर्ब रुपैयाँ खर्च गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। यो रकमको ७५ प्रतिशत भन्दा बढी रकम अर्थात करिब सवा ८ अर्ब रूपैयाँ कर्मचारी व्यवस्थापनका नाममा आयोगले खर्च गरेको हो। 

‘निर्वाचनमा परिचालन गरिएका कर्मचारीको व्यवस्थापन, उनीहरुको दैनिक भत्ता लगायतमा धेरै खर्च भएको छ,’ आयोगका प्रवक्ता ढकालले पहिलो पोस्टसँग भने, ‘निर्वाचनको कुल खर्चको ७५ प्रतिशत भन्दा बढी खर्च कर्मचारी व्यवस्थापनमा भएको छ।’

कर्मचारीले नियमानुसार प्राप्त गर्ने भत्ता र निर्वाचनसँग सम्बन्धित अन्य भत्ताका कारण निर्वाचनमा खटिएका कर्मचारीहरुको व्यवस्थान खर्च बढी भएको उनले बताए। 

आयोगले स्थानीय तहको निर्वाचनमा एक लाख ८६ हजार कर्मचारी निर्वाचनमा खटिएका थिए। यस्तै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा २ लाख २५ हजार बढी कर्मचारी आयोगले निर्वाचनमा परिचालन गरिएको थियो। 

आयोगले सबै भन्दा बढी स्थानीय तहको निर्वाचनमा बढी खर्च गरेको छ। प्रवक्ता ढकालका अनुसार स्थानीय तहको निर्वाचनमा ५ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको हो। स्थानीय तहको निर्वाचनमा भएको कुल खर्चको ८ प्रतिशत रकम आयोगले काठमाडौँ स्थित केन्द्रीय कार्यालयमा खर्च गरेको छ। 

त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको ढकालले जानकारी दिए। आयोगले क्षेत्रीय निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट सो रकम खर्च गरेको हो। 

राष्ट्रियसभा र राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका खर्च विवरण आयोगमा प्राप्त भइनसकेको प्रवक्ता ढकालले जानकारी दिए। 

आयोगले चरणबद्ध रुपमा राष्ट्रिय सभा, राष्ट्रपति-उपराष्ट्रपति सहित तीन तहको निर्वाचन सम्पन्न गरेको थियो। स्थानीय निकायको निर्वाचन तीन चरणमा निर्वाचन सम्पन्न गरेको थियो। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा सम्पन्न भएको थियो।

निर्वाचन सम्पन्न गर्नका लागि अायोगलार्इ १० अर्ब रकम विनियोजन गरेको थियो। बाँकी एक अर्ब रकम अायोगले अन्तरिक रूपमा व्यवस्थापन गरेको प्रवक्ता ढकालले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell