PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युएस विमान दुर्घटना : बंगलादेशीका ३ शव किन रोकिए?



सागर बुढाथोकी

युएस विमान दुर्घटना : बंगलादेशीका ३ शव किन रोकिए?

काठमाडौं: युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २६ बंगलादेशीमध्ये तीन जनाको शव सनाखत हुन सकेको छैन। पहिचान नभएका तीनवटा शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा छ। वंगलादेशी भन्ने भए पनि शव कसको हो पहिचान हुन नसकेकाले अस्पतालमै राखिएको डाक्टर हरिहर वस्तीले बताए।  सनाखत भएका २३ वटा शव आजै बंगलादेश लगिएको छ।

'२६ मध्ये २३ जनाको शव सनाखत भयो। बाँकी तीनको पहिचान भएन,' वस्तीले पहिलोपोस्टसँग भने, 'हामी तीन वटा शवको डिएनए टेस्ट गर्छौं। त्यसको परिणाम आउन लामो समय लाग्नसक्छ।'

वस्तीका अनुसार सनाखत भएका २३ शवको डिएनए टेस्ट गर्नुपरेन। त्यस्तै १० जना नेपालीहरुको शव पनि सजिलै पहिचान भएको थियो। उनले भने, 'हामीले ४९ वटै डेथ बडीको डिएनएको स्याम्पल कलेक्सन गरेका थियौं। तर, सबैको डिएनए गर्नुपरेन।'

फोरेन्सिक विभागका प्रमुख प्रमोद कुमार श्रेष्ठका अनुसार तीन जना बंगलादेशी नागरिक भए पनि उनीहरुको लागि जाहेरी परेको छैन। नाम नखुलेको कारण उनीहरुको शव पोस्टमार्टम् सकिए पनि अस्पतालमै छ। 'अझै कति दिन अस्पतालमा हुने हो भन्न सकिन्न,' श्रेष्ठले भने।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फरेन्सिक विभागले हिजै बंगलादेश दूतावासलाई २३ वटा शव बुझाएको थियो। बंगलादेशी सेनाको कार्गो विमानले आजै ती शव लगेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा  युएस बांग्ला एयरको विमान फागुन २८ गते दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। ४९ जनामध्ये २६ बंगलादेशी, चीनका एक, माल्दिभ्सका एक र २१ नेपालीको मृत्यु भएको थियो। विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए। 

दुर्घटनामा परेकै दिन ३ जना भने प्राथमिक उपचारपछि घर फर्केका थिए। बाँकीको अझै विभिन्न अस्पतालमा उपचार जारी छ।

यो पनि पढ्नुहोस्:

युएस बंगला विमान दुर्घटना : २३ बंगलादेशीको शव यसरी लगियो, हेर्नुस् फोटोमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell