PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'चराको स्वर्ग' जगदीशपुर जलाशयको बिजोग, पानी सुकाएर क्रिकेट र फुटबल खेल्दै स्थानीय



'चराको स्वर्ग' जगदीशपुर जलाशयको बिजोग, पानी सुकाएर क्रिकेट र फुटबल खेल्दै स्थानीय

  • राजु आचार्य -
एक हप्ता अगाडि घुम्न आएका ८ जना जर्मन पर्यटकहरु निराश बने l पोहरसाल यही बेला जगदीशपुर जलाशयमा पानी थियो र चराहरु पनि l चरा हेर्न सात समुन्द्रपारीबाट नियमित कपिलवस्तु आइरहने उक्त टोलीका संयोजक हार्टमुट मेयरले निराश हुँदै भने, 'म फेरि अर्को समूह लिएर जगदीशपुर आउँदिनl'

उनी थप निराश त्यतिखेर बने, जब उनले जलाशयको बीचमा बन्दै गरेको कंक्रिट पूर्वाधार पनि देखेl 

तर जगदीशपुर जलाशय जलसरोकार मञ्चका कार्यालय सहयोगी जनार्दन भारीले  भने, 'गहुँ खेतीको लागि सबै पानी खोलिदिएको हो र तालको पूर्वी भागको सफाई पनि चलिरहेको छl'

उनले थपे, 'तालमा कुनै कंक्रिटको काम भएको छैनl' काम रोकिन सकिने र संरक्षणकर्मीहरुबाट विरोध हुने डरले 'तालमा कुनै कंक्रिटको काम नभएको भनेर' उनी जस्तै अन्य स्थानीयहरू पनि बताइरहन्छन्l

स्थानीय समाजसेवी अब्दुल रसिद अहमद खानले पनि भने, 'जगदीशपुरमा त्यस्तो कुनै कंक्रिटको काम भएको छैन। बनिहाले पनि चरालाई अप्ठ्यारो नपर्ने गरी डुंगामात्र चलाउने होl' 

सो तालको मध्य भागमा बुद्धको मूर्ति निर्माणको लागि सम्याउने, सिमेन्टको जग र घेरा हाल्ने काम भइसकेको छl नियमनकारी निकाय भने मौन छl पछिल्लो समयमा जलाशयको अवस्था राम्रो छैनl सिंचाईको लागि भनेर जलाशय  सुकाइएको छl १ हप्ता अगाडि मात्र स्थानीय युवाका ६ वटा समूह सोही जलाशयभित्रै क्रिकेट र फुटबल खेलिरहेको अवस्थामा भेटिएका थिएl केही समयपछि डुंगाहरु चल्ने छन्l स्थानीय नेता तथा सरोकारवालाहरुले डुंगा चलाएर पैसा कमाउने सपना बुनेर बसेका छन्l 

वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, 'जगदीशपुर जस्तो रामसार क्षेत्रमा विकास र जीविकोपार्जनको नाउँमा यसरी विकास निर्माण गर्दा चरा लगायतका जैविक विविधतामा नकारात्मक असर पर्ने निश्चित छl'

उनले थपे, 'नेपालको सिमसार क्षेत्रमा पाइने चराहरु सबैभन्दा धेरै यहीँ नै अभिलेख गरिएका छन् l तालमा डुंगा नचलाएर पनि यो क्षेत्रको पर्यटनमा सहयोग गर्न सक्छौंl' 

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका एकोलोजिस्ट लक्ष्मण पौडेलले यो वन क्षेत्रको अधिकार क्षेत्रभित्र पर्ने बताएl उनले भने, 'कार्ययोजना बनाएर सम्बन्धित निकायको  स्वीकृति लिएको  छैन भने जगदीशपुर जस्तो संवेदनशील क्षेत्रमा यस्ता काम गर्न पाइँदैनl यसलाई तुरुन्त रोक्नु पर्छl'

तर, जिल्ला वन अधिकृत श्री रामचन्द्र श्रेष्ठले भने अनभिज्ञता प्रकट गर्दै भने, 'स्थानीयका अनुसार कुनै पनि भौतिक संरचना बनाइएको छैनl' सो क्षेत्र भने उनकै कार्यक्षेत्रमा पर्दछl        

तर केही वातावरणविदहरु भने जीविकोपार्जनको लागि भनेर विकासे माछा हाल्ने योजना बुनिरहेका छन्l चरा लगायत अन्य वन्यजन्तुको शिकार अझै रोकिएको छैनl नजिकैको खोलाबाट बालुवा र गिट्टी निकाल्ने साधनको कारणले गर्दा ध्वनि  प्रदुषण अत्याधिक बढेको छ l सन् २००३ मा यसलाई विश्व रामसारमा सुचिकृत गरिएको थियो l यो 'महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र'मा समेत सुचिकृत छl 

करिब १६८ प्रजातिका चराहरु (विश्वमा दुर्लभ ८ प्रजातिका), ४३  प्रजातिका रैथाने माछाहरु, ३२ प्रजातिका स्तनधारीहरुको आश्रयस्थल पनि हो यो जलाशयl विद्यार्थी, अनुसन्धानकर्मी र पर्यटकको रोजाइमा पर्ने ठाउँ पनि हो यो l यसलाई चराको स्वर्ग मानिन्थ्यो l 

बेलैमा नसोच्ने हो भने, स्थानीयवासीले केही रकम त कमाउने छन् तर सबै कुरा गुमाएरl भर्खरै 'होमस्टे र चराको' कारणले वामे सर्न लागेको पर्यटन व्यवसायमा  दीर्घकालीन असर पर्ने निश्चित छl जलाशयको वरिपरीनै पूर्वाधार निर्माण गरेर पनि यो क्षेत्रको विकास गर्न सकिन्थ्यो l यसो नगर्नुको कारण स्थानीयलाई नै थाहा होला l 
 

एक हप्ता अगाडि खिचिएको तस्विर

 

पानीले भरिएको बेलाको खिचिएको तस्विर 

 

जगदीशपुर जलाशयको बीच भागमा बुद्धको मुर्ति राख्न बन्दै गरेको कंक्रिटको जग   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell