PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

किन गर्न सकेन राजपाले संसदीय दलको नेता चयन?



बीपी साह

किन गर्न सकेन राजपाले संसदीय दलको नेता चयन?

काठमाडौं: प्रतिनिधि सभामा रहेका पाँचवटा राष्ट्रिय दल मध्ये चारवटाको संसदीय दलको निर्वाचन भइसकेको छ। दलको नेतासमेत चुनिएका छन्। तर, संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको निर्वाचन हुन सकेको छैन।

अहिलेसम्म राजपाको संसदीय दलको बैठक बस्न सकेको छैन। राजपाका सांसदहरुबीच राष्ट्रपतिको निर्वाचनका दिन अनौपचारिक छलफल मात्र भएको थियो। 

संसदीय दलको निर्वाचनबारे राजपाका सांसद अकवाल मियाले पहिलोपोस्टसँग भने,‘संसदीय दलको निर्वाचनका विषयमा अहिलेसम्म पार्टीमा छलफल भएको छैन। हामीलाई पनि कुनै जानकारी दिइएको छैन।’

सांसद मियाले हालसम्म पार्टीका संयोजक महन्थ ठाकुरको नेतृत्वमै सबै कुरा भइरहेको बताए।

‘हामीले छिटोभन्दा छिटो संसदीय दलको निर्वाचन चाहेका छौं।’ राजपाकी महासविच एवं सांसद चन्दा चौधरीले भनिन्,‘अध्यक्ष मण्डलको ध्यान संसदीय दलको निर्वाचनमा जानु पर्ने हो तर अहिलेसम्म गएको देखिदैन।’

सांसद चौधरीले संसद चालु हुनुभन्दा पहिले नै दलको निर्वाचन भइसक्नु पर्ने बताउँदै पार्टीको कमजोरीका कारण आफुहरुको निर्वाचन हुन नसकेको बताइन्।

राजपा स्रोतका अनुसार अधिकांश सांसदहरुले पार्टी संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाउन चाहन्छन्। तर ठाकुरले दलको नेता बन्ने विषयमा आफ्नो धारणा राखेका छैनन्।

पार्टीको दोस्रो प्रभावशाली नेता राजेन्द्र महतो पनि संसदीय दलको नेता बन्न इच्छक छन्। तर अध्यक्ष मण्डलका अन्य सदस्यहरु महतोलाई भन्दा ठाकुरलाई संसदीय दलको नेता बनाउन चाहन्छ। जसकारण राजपाको संसदीय दलको निर्वाचन हुन सकेको छैन।

छवटा पार्टी मिलेर राजपा गठन हुँदा तत्कालिन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई संसदीय दलको नेता बनाउने सहमति भएको थियो। यादव मात्रै निर्वाचित भएकाले उनलाई नै संसदीय दलको नेता बनाइने भनिएको थियो। तर बनाइएन।
अहिले पनि यादव संसदीय दलको नेता आफु हुनु पर्ने दाबी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell