PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​१७ दिनभित्रै संविधानको खाका: नेम्वाङ



  • मनोज सत्याल/पहिलोपोस्ट- 
काठमाडौं: संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूले संविधानको पहिलो विधेयक तयार गर्ने समितिलाई १५ दिनको समय दिन लागेको बताएका छन्। दलहरुको छलफलका आधारमा १५ दिनको समय दिने तयारी भइरहेको उनले बताएका हुन्।

बिहीबार बस्ने संविधानसभाको बैठकले दलहरुबीच भएको सहमतिका आधारमा संवाद समितिले पठाउने प्रतिवेदन मस्यौदा समितिमा पठाउने उनले बताए।

'१५ दिन भित्रै काम सक्ने गरी मस्यौदा समितिमा जान्छ', नेम्वाङले भने।

नेम्वाङले दिएको समय अनुसार १५ दिन र संविधानभाको बैठक बस्न बाँकी रहेको दुई दिन जोड्दा १७ दिन भएको हो।

'२८ गते ३ बजे बस्ने सहमतिको प्रतिवेदन आउँछ र त्यसमा छलफल गरेर मस्यौदा समितिमा पठाइन्छ। १५ दिनभित्र संविधानको विधेयक पेश गर्ने छलफल र समझदारी भएको छ', नेम्वाङले भने।

दलहरुबीच भएको संविधानको अन्तरवस्तुको सहमतिले संविधानसभालाई अगाडि बढ्ने आधार तयार भएको नेम्वाङको भनाई थियो।
'अब समयमै देशले संविधान प्राप्त गर्ने आधार तयार भएको छ', नेम्वाङले भने।

असार मसान्तभित्रै संविधान जारी गर्ने गरी दलहरुबीच छलफल भइरहेको उनले बताए। संवाद समितिबाट मस्यौदा समितिमा सहमतिको प्रतिवेदन गएपछि थप कार्यतालिकाबारे छलफल हुने उनको भनाई थियो। बजेट अधिवेशन र संविधानसभाको बैठक एक दिनमा बसेर भएपनि असारभित्रै संविधान ल्याउने तयारीमा रहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell