PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठ सिफारिस



काठमाडौँ: संवैधानिक परिषद्ले सर्वोच्च अदालतको भावी प्रधान न्यायाधीशमा कल्याण श्रेष्ठलाई सिफारिस गरेको छ। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठकले सर्वोच्चका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

हालका प्रधान न्यायाधीश रामकुमार प्रसाद शाहले उमेर हदका कारण असार २३ गते अवकाश पाउने भएपछि त्यसपछिका प्रधानन्यायाधीशका लागि श्रेष्ठलाई सिफारिस गरिएको हो। संसदीय सनुवाइपछि श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

प्रधानमन्त्री संयोजक रहने संवैधानिक परिषदमा सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानमन्त्रीले तोकेका मन्त्रीहरु, कानुन मन्त्री प्रधानन्यायाधीश लगायत सदस्य हुनेछन्।
 

को हुन् भावी प्रधान्यायाधीश श्रेष्ठ ?

झण्डै ४० वर्षअघि सर्वोच्च अदालतमा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका श्रेष्ठ जिल्ला न्यायाधीश, कानुन मन्त्रालयका उपसचिव,  जनकपुर अञ्चल अदालतका न्यायाधीश, बिभिन्न पुनरावेदन अदालतमा न्यायाधीश र मुख्य न्यायाधीश हुँदै १० वर्षअघिदेखि सर्वोच्च अदालतमा न्यायाधीश छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक,  नेपाली र राजनीति शास्त्रमा स्नातकोत्तर र नेदरल्याण्डसको इनष्टिच्युट अफ सोसल साइन्सबाट  अन्तर्राष्ट्रिय कानुन तथा विकासमा पोष्ट ग्र्याजुएट गरेका छन्।

न्यायाधीश समाजका अध्यक्ष रहेका श्रेष्ठ नेपालको न्यायपालिकाको रणनीतिक योजना सुधार तर्जुमा तथा कार्यान्वयन समितिका संयोजक समेत हुन्। उनी सरकारले २०७० सालमा भएको संविधानसभा निर्वाचनमा भएको धाँधली छानविन गर्न सरकारले गठन गरेको संविधानसभा अदालतका अध्यक्ष पनि हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell