PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओलीले बुझाए गैंडाको महत्व : गैंडा देखेन भने पैसा कमाएर के अर्थ ? (भिडियो)



काठमाडौं : नेपाली राजनीतिमा केपी ओली सहकर्मी दल र आफ्नै दलका कतिपय नेताहरुको कटु आलोचनाका कारण जति चर्चामा छन् त्यति नै चर्चामा छन् ठ्टयौली र उखान टुक्काहरुका कारण पनि।

मंगलबार नेकपा एमालेले पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीको यही ठट्यौली रुप देखियो। सुरुमा सोमबार भएको १६ बुँदे सहमतिबारे आफ्नो धारणा राखिसकेपछि ओली ठट्यौली पारामा उत्रिए। उनले कुरा सुरु गरे नेपालमा पाइने दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाबाट।  

‘सुन्दरता हेर्न अन्त कहाँ जाने नेपाल नै आउनुपर्छ’ ओलीले भने ‘के गर्ने गैंडा अमेरिकामा जन्मिदैन, युरोपमा जन्मदैन अष्ट्रेलियामा जन्मदैन।’ 
‘जिन्दगीमा एक पल्ट गैंडा हेरेन भने जतिसुकै विकसित देशको होस् जतिसुकै धनी मान्छे होस् त्यसको के अर्थ? आधा जिन्दगी त्यसै खेर गएन र?’ उपस्थित नेता र पत्रकारहरुले हाँसो खप्न सकेनन्।   

‘जैविक संसारमा गैंडाजस्तो चिज देखेको छैन भने पैसा कमाएर के अर्थ?’ उनले अझै उत्साहित हुँदै थपे ‘के डलर खाने ? युरो खाने ?’  

पत्रकार सम्मेलनमा ओलीले राखेका विचार 

‘पैसा भएन भने त एउटा कुरा पैसा भएर पनि गैडा नदेखी जिन्दगी जान्छ भने त बर्बाद भएन र?’ उनले नेपाल घुम्नैपर्नुको कारण खोले। 

‘गैडा हेर्न डाँफे मुनाल हेर्न नेपाल नै आउनुपर्छ, अरु संसारै घुमेपनि सगरमाथा देखिन्छ? बुद्ध जन्मेको ठाउँ देखिन्छ ?’ ओलीले भने ‘यो त ठाउँ नै पर्यटकीय देश हो । भूकम्पले अलिअलि घच्याकघुचुक हुँदैमा हरेश खानु हुँदैन । यो देशमा पर्यटन अगाडि बढ्छ।’

खासम मंगलबार नेकपा एमालेले भूकम्प पीडितका लागि सञ्चालन गरेको स्वयंसेवा अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो। त्यस कुरालाई पनि जोड्दै ओलीले सँगै रहेका पार्टी उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमलाई छेड हाने।

‘उपप्रधानमन्त्री ज्यू को कानमा नपरोस् सरकारको सहयोग बिना एमालेका भोलिन्टियरले १५ हजार घर बनाएर जनतालाई हस्तान्तरण गरेका छन् ।’ ओलीले अझै थपे ‘यो सरकार एमाले जत्तिको काम गर्न कहाँ सफल छ र सरकारले कहाँ सक्छ १५ हजार घर बनाउन ?’

कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले आउँदो जेठ ३१ गते स्वयं सेवकहरुले सम्पदा क्षेत्रको सरसफाइ गर्ने, असार ४, ५ र ६ गते भूकम्प प्रभावित जिल्लाका स्थानीय पार्टी कमिटीले अनिवार्य श्रमदान गर्ने जानकारी दिए।

त्यसैगरी असार ८ गते कञ्चन्जंघा, सगरमाथा आरोहणको प्रवेशद्वार, अन्नपूर्ण पदमार्ग चितवन, लुम्बिनी, पशुपतिनाथ, वौद्धनाथ, स्वर्गद्धारी, रारा र खप्तड क्षेत्रमा पर्यटन अभियान चलाउने पनि सचिव भट्टराईले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell