PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​सहरिया महिला स्तनपान कम गराउँछन् : अध्ययन



​सहरिया महिला स्तनपान कम गराउँछन् : अध्ययन
तस्बिरः flickr.com/photos/chanudaud

काठमाडौं : गाउँमा बस्ने महिलाले भन्दा सहरमा बस्ने महिलाले तुलनात्मक रुपमा कम अवधि स्तनपान गराउने गर्छन्। नेपालमा स्तनपानसम्बन्धी गरिएको अध्ययनले यस्तो तथ्य देखाएको हो।

इन्टरनेसनल ब्रेस्टफिडिङ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार विश्व स्वास्थ्य संगठनले सिफारिश गरे अनुसार शिशुलाई ६ महिनासम्म आमाको दूध बाहेक अरु केही पनि नदिने (एक्सक्लुसिभ ब्रेस्टफिडिङ) को दर नेपालमा कम छ।  

झण्डै सबै सुत्केरी (९८ प्रतिशत) ले छ महिनासम्म स्तनपान त गराउँछन् तर सिफारिशविपरीत आमाको दूधमा मात्र भर नपरी अरु पनि खुवाउन थाल्ने क्रम २२ सातापछि नै झण्डै एक तिहाईले थाल्छन्।

नवजात शिशुको वृद्धि, विकास र स्वास्थ्यसहित सर्वोपरी विकासका लागि छ महिनासम्म आमाको दूधबाहेक अरु नखुवाउन र दुई वर्षसम्म स्तनपान गराउन विश्व स्वास्थ्य संगठनले सिफारिश गर्छ।

छ महिनाको अवधिभित्रै आमाको दूधबाहेक अरु पनि खुवाउने आमाहरुको संख्या गाउँमा भन्दा सहरमा बढी छ।

राजेन्द्र कार्की, एन्डी ली, विष्णु खनाल र कोलिन बिन्सले कास्की जिल्लाका ६ सय ३९ सुत्केरी महिलामाथि गरेको समुदायमा आधारित प्रोस्पेक्टिभ कोहर्ट स्टडीको प्रतिवेदनमा आमाको दूधमात्रै खुवाउने अवधि सहरिया महिलाको गाउँका महिलाको भन्दा छोटो देखिएको छ।

आमाको दूध बाहेक केही नखुवाउने अभ्यास मध्य नेपालका सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको प्रतिवेदनको निश्कर्ष छ।

सुत्केरी भइसकेपछि स्तनपान गराउन आमालाई बढावा दिनेमा सबैभन्दा धेरै संख्या स्वास्थ्यकर्मीको (५२.६ प्रतिशत) देखिएको छ भने आमा र सासुको संख्या ४५.९ प्रतिशत देखिएको छ। श्रीमानको संख्या २८.८ प्रतिशत छ।

आफ्नी पत्नीले स्तनपानै गराओस् भन्ने श्रीमानको संख्या ८१.८ प्रतिशत छ भने बोतलको दूध खुवाउने पक्षमा तुलनात्मक रुपमा निकै कम ०.५ प्रतिशत मात्र छ।

२२ सातापछि आमाको दूधमात्रै पर्याप्त हुँदैन भन्ठानेर गाई वा भैँसीको दूध दिन आवश्यक ठान्ने महिलाको संख्या धेरै छ।
 
स्तनपानको जनचेतना र सम्वर्द्धन गरी बच्चालाई पर्याप्त पोषणको व्यवस्था गर्न आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु बिक्रीवितरण नियन्त्रण ऐन २०४९ लागू भएको छ।

ऐन अनुसार आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु वा उत्पादन भन्नाले '(१) आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु, (२) कुनै परिवर्तन सहित वा विना परिवर्तन बच्चालाई खुवाउन प्रयोग गर्नेमा अनुकूल हुने गरी बिक्री वितरण गरिएको कुनै पनि प्रकारको दूध, (३) बच्चालाई खुवाउन अनुकूल हूने गरी बिक्री वितरण गरिएको अन्य कुनै खाद्य वा पेय पदार्थ, (४) दूधदानी र मुन्टो' भन्ने बुझिन्छ। 

नवजात शिशुलाई जन्मेको एक घन्टाभित्र स्तनपान गराउने र पहिलो ६ महिनासम्ममात्र स्तनपान गराउने अनि दुई वर्षसम्म अन्य खानासँगै निरन्तर स्तनपान गराउने हो भने प्रत्येक वर्ष आठ लाख बालबालिकाको जीवन रक्षा गर्न सकिने विश्‍व स्वास्थ्य संगठनको पछिल्लो दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell