PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​टी-ट्वान्टी विश्वकपमा छनौट हुने हैन प्रतियोगिता जित्ने हाम्रो लक्ष्य: कप्तान पारस खड्का



​टी-ट्वान्टी विश्वकपमा छनौट हुने हैन प्रतियोगिता जित्ने हाम्रो लक्ष्य: कप्तान पारस खड्का

  • पहिलोपोस्ट-
काठमाडौं: नेपाली राष्ट्रिय टीमका कप्तान पारस खड्काले नेपालको अहिलेको लक्ष्य टी-ट्वान्टी विश्वकपमा छनौट हुने मात्र नभएर प्रतियोगिता जित्ने रहेको बताएका छन्। आइसीसी विश्व टी-ट्वान्टी छनौट प्रतियोगिता असार २४ देखि साउन १० (जुलाई ९ देखि २६ तारिख) गतेसम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुँदैछ।

आइसीसी विश्व टी-ट्वान्टी छनौट खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गर्ने कार्यक्रमपछि बोल्दै खड्काले अहिलेको तयारीले आफू प्रतियोगिताको दाबेदार भएको बताए।

'हाम्रो लक्ष्य टी-ट्वान्टी विश्वकपमा छनौट हुनेमात्र होइन,' खड्काले भने, 'हाम्रो लक्ष्य प्रतियोगिता जितेर आउने हो।' उनले टी-ट्वान्टी विश्वकप छनौटमा नेपाल १४ औं स्थानबाट सात र सातबाट तीनमा आइसकेकोले अबको स्थान एक हुने बताए। लक्ष्य प्रतियोगिता जित्ने भए पनि त्यो सजिलो नरहेको उनको टिप्पणी थियो।

'लक्ष्य सजिलो छैन। सबै टीम स्तरीय टीम छन्,' उनले भने, 'तर हाम्रो टीम पनि एउटा स्तरमा क्रिकेट खेलिरहेको छ र टीमको रुपमा हाम्रो तयारी पनि राम्रो छ।' उनले भारतमा १२ दिन रहँदा टीमले मेहनत गरेको र राम्रो सुविधासहित अभ्यास गर्न पाएको बताए।

'भारतमा हामीले पर्याप्त सुविधा सहित अभ्यास गर्ने मौका पायौं,' उनले भने, 'टीमको तयारी राम्रो भएको छ, इंग्ल्यांण्ड र आर्मस्ट्रममा पनि हामीले खेल्दैछौं।' उनले अभ्यास खेलहरुमा टीमले खेलाडीलाई फरक फरक पोजिसनमा खेलाएर प्रतियोगिताका लागि अन्तिम तयारी गर्ने पनि उनले बताए। नेपाली खेलाडीहरुले ठूला प्रतियोगिता पनि खेलिरहेकोले प्रेसर नरहेको उनले बताए।

हेर्नुस् भिडियो


मंगलबार क्यानले खेलाडीहरुलाई टी-ट्वान्टी विश्वकपमा छनौट भएर आउन शुभकामना सहित बिदाइ गरेको छ। सिंचाई मन्त्री एनपी साउद, युवा तथा खेलकूद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा, पूर्व खेलाडी दिपक विष्ट तथा क्यानका पदाधिकारीको उपस्थितिमा क्यानले खेलाडीलाई बिदाइ गरेको हो।

युवा तथा खेलकूद सचिव शर्माले खेलाडीहरु देशको 'राजदूत'का रुपमा विदेश जाने भएकाले देशलाई सम्झेर खेल्न खेलाडीलाई आग्रह गरे। 'हामी यो प्रतियोगिता जितेर आउँदा यसो गर्छौं भनेर भन्नुभन्दा पनि कार्यविधि बनाएर अगाडि बढ्दैछौं,' उनले भने, 'तपाइँहरु मन लगाएर खेल्नुस्, अरु चिन्ता नगर्नुस्।'

त्यस्तै क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले पनि खेलाडीहरुलाई क्यानको व्यवस्थापन अथवा अन्य कुनै कुरा नसोची खेल्न आग्रह गरे। 'क्रिकेटमा रहेका विवादका बारे सबै जानकार छन, त्यसका बाबजुद पनि खेलाडीले कडा मेहनत गरेका छन्,' उनले भने, 'राष्ट्रियतालाई मनमा राखेर हाम्रा खेलाडीले सफलता पाउनेमा क्यान ढुक्क छ।' 

छनौट खेल खेल्नु अघि नै नेपालले नेदरल्याण्ड्ससँग असार १५, १६, १७ र १८ गते चारवटा अन्तर्राष्ट्रिय टी-ट्वान्टी खेल्नेछ। प्रतियोगितामा नेपालले पहिलो खेल असार २५ गते शुक्रबार स्टोरमन्ट, बेलफास्टमा अमेरिकासँग खेल्नेछ। 

टी-ट्वान्टी विश्वकपमा छनौट भए खेलाडीलाई जनही अढाई लाख  


खेलाडीलाई बिदाई गर्ने कार्यक्रममा क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले टी-ट्वान्टी विश्वकपमा छनौट भए क्यानले प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार नगद पुरस्कार दिने घोषणा गरे। 'हामीले अस्तिको वार्षिक साधारणसभाबाट निर्णय गरेका छौं,' कोइरालाले भने, 'विश्वकप टी-ट्वान्टीमा छनौट भए प्रत्येक खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिनेछ।'

महेश क्षत्री र अविनाश कर्ण पनि अभ्यास खेलमा

विश्वकप टी-ट्वान्टी छनौटका लागि राष्ट्रिय टीममा वैकल्पिक खेलाडीका रुपमा परेका अबिनाश कर्ण र टीममा नपरेका महेश क्षत्रीले पनि अभ्यास खेल खेल्ने क्यानले जनाएको छ। महेश क्षत्री इंग्ल्याण्डको कर्नवाल क्रिकेट क्लबबाट क्रिकेट खेल्न जानेछन्। क्लबमै रहँदा उनले नेपाली टीममा रहेर अभ्यास खेल खेल्ने क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell