PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​मोबाइल सेटबाटै किला ठोक्नुस्, ओखर फुटाउनुस्



​मोबाइल सेटबाटै किला ठोक्नुस्, ओखर फुटाउनुस्

काठमाडौँ : मानौँ, कोठामा तस्बिर झुण्ड्याउन किला ठोक्नु परेको छ। गोजीमा मोबाइलबाहेक अरु केही छैन। तपाईँ के गर्नुहुन्छ ?

धन्दा मान्नु पर्दैन, नेपाली बजारमा अहिले दुई वटा नयाँ मोबाइल आएको छ। जर्मनीमा बनेको रग गियर मोबाइल तपाईँसित छ भने मज्जाले घनले जस्तै ड्याङड्याङ ठोक्दा हुन्छ।

आरजी ९७०किला मात्र किन, ओखरै फुटाउन मोबाइलले हाने भयो।

ढुंगामा खस्दा नफुट्ने, पानी नपस्ने, हिलो वा धूलोले केही नहुने यो मोबाइल नेपालमा ग्यालेक्सी टेक्नोलोजिजले भित्र्याएको हो। आइतबार मोबाइलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मोबाइल पानीमा समेत डुबाएर देखाइयो।

'यो मोबाइल १/२ मिटर माथिबाट खस्दा पनि केही हुँदैन । पानीमा खस्दा तैरिन्छ र आधा घण्टासम्‍म पानीमा राख्दा पानी पस्दैन,' ग्यालेक्सीका निर्देशक अरुण श्रेष्ठले भने।

मूल्य कति ?
आरजी १२८अहिले नेपाली बजारमा रग गियरका दुई मोडल आरजी १२८ र आरजी ९७० एपेक्स उपलब्ध छन्। 

आरजी १२८ मोडल बजेट मोबाइल हो। यसको बजार मूल्य पाँच हजार ९ सय ९९ रुपियाँ तोकिएको छ। यो मोबाइलमा ब्लुटुथ, एफएम रेडियो, जिपिआरएस, ०.३ मेगापिक्सेलको क्यामेरा छ। त्यसैगरी १.२ मिटरको उचाइबाट खस्दा केही नहुने, पानीमा तैरिने, पानीमा आधा घण्टासम्म डुबाउँदा पानी नपस्ने विशेषता छ।
 
आरजी ९७० एपेक्स भने स्मार्टफोन हो। यसको नेपालमा ४२ हजार नौ सय ९९ रुपैयाँ पर्छ। एन्ड्रोइड अपरेटिङ सिस्टम भएको यही मोडलको मोबाइलले ओखर फुटाउन वा भित्तामा किला ठोक्न सकिने भनिएको हो।

दुईवटा सिम लाग्ने यो मोडलमा पछाडि आठ मेगापिक्सेलको क्यामरा छ भने अगाडि दुई मेगापिक्सेलको छ। यो मोबाइल दुई मिटर गहिरो पानीमा आधा घण्टासम्म डुबाउँदा पनि केही नहुने दावी कम्पनीको छ। 
 
र्‍याफ्टिङ, रक क्लाइम्बिङ, ट्रेकिङ, क्यानोइङ, हाइकिङमा जानेहरुको लागि विशेष लक्षित गरेर यी सेट ल्याइएको प्रालिका अध्यक्ष नरेशकुमार जोशीले बताए।
 
बिजुली नचाहिने चार्जर सित्तैमा

स्मार्टफोन बोक्दा सबैभन्दा समस्या ब्याट्रीको हुन्छ। घरमा हुनुहुन्छ भने त ठीकै छ, लोडसेडिङकै बेला भए पनि इन्भर्टरको सुविधा होला। तर हाइकिङतिर जानुभएको छ भने कताबाट चार्ज गर्ने ?

यो स्पेसल चार्जरबाट मोबाइल चार्ज गर्न बिजुली चाहिँदैन। चार्जरमा रहेको डाइनामोलाई हातले घुमाएपछि मोबाइल आफैँ चार्ज हुन्छ।
पाँच मिनेटसम्म डाइनामो घुमायो भने २० प्रतिशतसम्म चार्ज हुन्छ।

भिडियो हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell