PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​११२ वर्षे बाटुलीः जसलाई यसपटकको भूकम्प पत्तै भएन, बरु ९० सालले अझै हल्लाइरहेछ



​११२ वर्षे बाटुलीः जसलाई यसपटकको भूकम्प पत्तै भएन, बरु ९० सालले अझै हल्लाइरहेछ
फोटोहरुः कपिलदेव खनाल/ नुवाकोट-रासस

नोट : सरकारी समाचार एजेन्सी राससले आज दिउँसो सूचना जारी गर्दै तलको समाचार रद्द भएको जनाएको छ। यसको कुनै कारण भने खुलाइएको छैन। हेर्नुस् सूचना जस्ताको तस्तै
 

सूचना

2015-07-20 16:38

आज दिउँसो सम्प्रेषित क्रम सङ्ख्या ५० को ‘संसारकै ज्येष्ठ नागरिक बाटुली लामिछाने’ शीर्षकको समाचार रद्द गरिएको छ । 



नुवाकोट : थानसिंग गाविस– ८ आपचौरका बाटुली लामिछाने ११२ वर्ष चार महिनाकी हुनुभयो। उहाँ २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ। 

अझै हट्टाकट्टा रहेकी बाटुली लामिछाने बिहान बेलुका घाँस काट्नेदेखि आफ्नो दैनिक कामकाज आफैँ गर्दै आउनुभएको छ। उहाँको दैनिकी देख्दा उहाँको उमेर ११२ वर्ष चार महिनाको उमेर पत्याउनै मुस्किल हुन्छ। बोली अझै प्रष्ट छ। कुनै ठूलो रोग छैन।

“आँखा देख्नुहुन्छ, कान सुन्नुहुन्छ, कसैको सहाराबिनै ठमठमी हिँड्नुहुन्छ”, ७६ वर्षीया कान्छो छोरा नेत्रप्रसाद लामिछाने भन्छन्, "आमा दैनिकजसो घाँससमेत काट्ने गर्नुहुन्छ।" 

संसारकै जिवित ज्येष्ठ नागरिक रहेको दाबी



एक सय १२ वर्षीया जापानी नागरिक साकारी मोमोयीको निधन भएपछि लामिछाने परिवारले ११२ वर्ष चार महिनाका बाटुली संसारकै जिवित ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन्।

सिन्धुपाल्चोकको गिरानीचौरमा जन्मेकी बाटुली विवाह गरेर नुवाकोट आउनुभएको हो। उहाँका चार सन्तानमध्ये अहिले कान्छो छोरामात्रै जीवित छन्। दुई छोरी र एक छोराको निधन भइसकेको छ। बाटुलीको जेठो पनाति श्यामप्रसाद ढुङ्गानाको उमेर नै २३ वर्ष भइसकेको छ।

बाह्र वर्षअघि टाइफाइड ज्वरो आए पनि त्यसपछि कुनै रोगको सङ्क्रमण नरहेको नातिनी ज्वार्इं नवराज न्यौपानेले बताउँछन्।

११२ वर्षीया जापानी नागरिकको निधन भइसकेकाले बाटुली संसारकै ज्येष्ठ नागरिक रहेको समेत न्यौपानेले दाबी गरे। कपाल सेताम्मे फुलिसकेको बाटुली असाध्यै टाठोसमेत हुनुहुन्छ।

गाउँघरका आफन्त छिमेकीसँग बोलचालदेखि ऐँचोपैचोसमेत गर्न भ्याउने बाटुली गाउँभरिका लागि जीवित देवताजस्तै सम्मानित रुपमा रहँदै आउनुभएको छ। छिमेकी अर्जुन हुमागार्इंका अनुसार उहाँको स्मरण शक्ति र बोलीचालीमा कुनै कमी आएको छैन। 

बिहान उठेर नुहाइधुवाइ गर्नेदेखि पूजापाठ, घाँस काट्नेसम्मको नित्य कर्ममा लागिरहेकी बाटुलीले अहिलेसम्म डाक्टरी औषधि सेवन गर्नुभएको छैन। “अहिलेसम्म ओखती खानुपरेको छैन, आफ्नो काम म आफैँ गर्न भ्याउँछु,” बाटुलीले भन्नुभयो– “मलाई हिँडडुल गर्न, घाँस काट्न पनि केही गाह्रो भएको छैन।”

गत वैशाखमा गएको भूकम्पका बेला घरको फलैचामा बसिरहनुभएकी बाटुलीलाई यो पालिको भूकम्पको पत्तै भएन। बरु उहाँलाई ९० सालको भूकम्पले अहिलेसम्म हल्लाइरहेको छ। “यसपालिको भइँचालो त पत्तै भएन, ९० सालमा त बेस्सरी हल्लिएको थियो” बाटुलीले भन्नुभयो।

उहाँले अहिलेसम्म नेपालमा भएका सबै निर्वाचनमा भाग लिनुभएको छ। पञ्चायतकालका सबै निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनमा समेत बाटुलीले उत्तिकै सक्रिय र उत्साहका साथ मतदान गर्नुभएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell