PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमेको आइसिसीद्वारा पुष्टि



नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमेको आइसिसीद्वारा पुष्टि

  • पहिलोपोस्ट -
काठमाडौँ : नेपालले गत वर्षमात्रै पाएको टी- ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमाएको आइसिसीका अफिसियलले पुष्टि गरेका छन्। पहिलोपोस्टसँगको इमेल संवादमा नाम नखुलाउने शर्तमा उनले भने, 'हाल आयरल्यान्ड र स्कटल्यान्डमा भइरहेको टी-ट्वान्टी विश्वकप छनौट प्रतियोगिताको शीर्ष ६ स्थानमा नपरेलगत्तै तत्काल लागू हुने गरी नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमेको छ।'

'सेमिफाइनल, फाइनल, तेस्रो स्थान र पाँचौँ स्थानका लागि साउन नौ गतेदेखि हुने खेलमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता नभएका कुनै पनि देश पुगेको भए ती टीमले तत्काल टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाउने छन्,' उनले इमेल भने,'त्यसैले यो छनौट प्रतियोगिता सकिएपछि सैद्धान्तिक रुपमा ० देखि ६ वटा टिमसम्मले अन्तर्राष्ट्रिय मान्यता पाउने सम्भावना छ। कति वटा टीमले मान्यता पाउने भन्ने विषय एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका अरु टिमहरुले प्रतियोगितामा कस्तो प्रदर्शन गर्छन्, त्यसमा भर पर्छ। '  

पहेँलो लगाइएको स्थानमा पुग्ने टिमले टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता नभएको भए पाउँछ
यस अनुसार नामिबिया र नेदरल्यान्डसबीच मंगलबार हुने खेलको विजयी टिमले टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाउनेछ।
 
पपुवा न्युगिनी एकदिवसीय मान्यता प्राप्त टीम हो। उनले स्वत: टी- ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाउनेछ। बिहीबार ओमान र सेमिफाइनलमा पराजित टिमको खेल हुनेछ। यसमा ओमानले विजय हात पार्न सक्यो भने उसले पनि मान्यता पाउनेछ।
 

नेपालले खेलेका खेलको मान्यता कायमै

नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमाए पनि यो प्रतियोगितामा नेपालले हङकङ र आयरल्यान्डसँग खेलेको खेललाई टी- ट्वान्टी अन्तर्राष्ट्रियको मान्यताभित्रै रहने उनले बताए। यी दुवै खेलमा नेपाल पराजित भएको थियो। 

नेपालले औपचारिक रुपमा टी-ट्वान्टी अन्तर्राष्ट्रियको स्टायटस पाएको एक वर्षमात्रै भएको थियो। गत वर्ष २७ र २८ जुनमा मेलबर्नमा बसेको आइसीसीको बोर्ड बैठकले नेदरल्यान्ड्स र नेपाललाई टी-ट्वान्टी अन्तर्राष्ट्रियको स्टायटस दिने निर्णय गरेको थियो।

नेपाल र नेदरल्यान्डसले गत वर्ष टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता  पाएपछि यस्तो मान्यता पाउने एसोसिएट टिमको संख्या आठ पुगेको थियो। यसअघि नै एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएका कारण अफगानिस्तान, हङकङ, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी र युनाइटेड अरब इमिरेट्सले टी- ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता पाइसकेका थिए।

असार १६ देखि नेदरल्याण्डसँग चार खेलको शृङ्खला खेलेपछि असार २० मा मात्र  आवश्यक आठ खेल पूरा भई नेपाल टी ट्वान्टी र्‍याङ्किङमा परेको थियो। नेदरल्यान्डससितको चार खेलको शृङ्खला नेपालले ३ – १ ले गुमाएको थियो।

आइसीसीका अनुसार हङकङले अहिलेसम्म ४ र युएईले ३ खेलमात्र खेलेको हुनाले यी टिमलाई र्‍याङ्किङमा समावेश गरिएको छैन। र्‍याङ्किङमा समावेश हुन आठ खेल खेल्नुपर्छ।
 
जारी आइसिसी टी ट्वान्टी क्वालिफायर्समा नेपालले एक मात्र जित निकाल्न सफल भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell