PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मैले पिआर लिएको पुष्टि गर : मन्त्री थापा



मैले पिआर लिएको पुष्टि गर : मन्त्री थापा

  • सुनिलबहादुर थापा -
पछिल्ला दिनमा केहि सञ्चार माध्यममा मसँग विदेशी पिआर छ भन्दै खबर लेखेको पाएँ। त्यसरी लेख्ने साथीलाई अनुरोध गर्छु र चुनौती पनि दिन्छु कि यदि मसँग नेपालको नागरिकताबाहेक अरु कुनै पनि विदेशी भूमिको स्थायी बसोबास सम्बन्धि कागज रहेको प्रमाण पुर्‍याउनुहोस्, म मेरो जन्मभूमि नेपालबाट हदै सम्मको सजाय भोग्न तयार छु।  

मेरो पहिचान भनेको नै नेपाली हो र पहिचानको पत्र भनेको नेपालको नागरिकता हो, जुन मसँग छ। मसँग कुनै पनि देश या राज्यको  स्थायी बसोबास (पिआर) वा डाइभर्सिटी भिसा सम्बन्धि केही पनि कागजात छैन।  

त्यसैले कुनै पनि ब्यक्ति माथि कपोलकल्पित आरोप लगाएर समाचार दिँदा एक छिन त बिकाउ होला तर त्यसरि अर्काको चरित्र हत्या गर्नु राम्रो होइन। विश्वसनियताबिनाको खबरले अन्तत: पत्रकारितालाई नै कमजोर बनाउँछ भन्ने मलाइ लाग्छ।

त्यसैले राज्‍यको चौथो अंगको रुपमा सम्मान गरिएको पत्रकारिता जगतले कुनै खबर छाप्नु भन्दा पहिला सोधिखोजी गरेर तथ्य पत्ता लगाउन हार्दिक आग्रह पनि गर्न चाहन्छु।

फेरि पनि म गौरब गर्छु कि म नेपाली हुँ। म सँग नेपाली नागरिकता छ र त्यस बाहेक अरु कुनै पहिचान छैन। साथै मलाई लिनु पर्ने जरुरत पनि छैन। मलाई नेपाली हुनुमै काफी छ।

मैले संयुक्त राष्‍ट्र संघमा २३ वर्ष काम गरेँ। त्यसरी काम गर्दा पिआर लिनै चाहनेले पनि सोच्ने बित्तिकै पाउने होइन। हरेक मुलुकमा न्‍युनतम बस्नु पर्ने अवधिको प्रावधान हुन्छ। म आफ्नो करियरमा १२ देशमा काम गरेँ। तर कुनै पनि एक देशमा दुई वर्षभन्दा बढी बसेको छैन। यति थोरै अवधिमा त कसैले चाहेर पनि पिआर लिन सक्दैन।

कोही व्यक्ति विदेशमा बसेको छ त्यसैले उसँग पिआर हुन सक्‍छ भनेर आशंकाका भरमा समाचार छाप्दा स्वयं पत्रकारकै बदनाम हुने हो। अहिले पनि राष्ट्र संघको सेवामा ८/९ हजार नेपालीले काम गर्छन्। के त्यो काम गरेकै आधारमा उनीहरुसँग विदेशी पिआर छ भनेर आरोप लगाउन मिल्छ ? के यस्ता खबर लेख्ने बेला सत्य तथ्य बुझ्नु पत्रकारको दायित्व होइन ?

अर्को मलाई उदेक लागेको विषय चाहिँ मन्त्रिपरिषद् स्रोतको हवाला दिँदै मसँग पिआर रहेको आरोप लगाएर खबर लेखिएको छ। यदि मन्त्रिपरिषद्बाटै त्यस्तो खबर गएको हो भने सिधै हामीमाथि कारबाही वा प्रष्टिकरण सोध्नु पर्थ्यो। तर आज सम्म किन नसोधिएको ?
यदि मन्त्रिपरिषदकै साथीहरुले त्यस्तो खबर दिनु भएको हो भने उहाँले पुष्टि गर्नु पर्‍यो होइन भने गलत बोलिएछ भनेर माफ माग्नु पर्यो।

मैले राष्ट्र संघमा २३ वर्ष काम गरेँ। थप दुई वर्ष बसेको भए अग्रिम अवकाशको 'स्किम'मा सहभागी हुन पाउथेँ। त्यस अन्तर्गत उपदान देखि पेन्सन लगायतका सुविधाहरु हुन्छन्। तर, त्यस्ता सबै अवसर त्यागेर विदेशमा सिकेको ज्ञानसीप मुलुकका लागि प्रयोग गर्न सक्छु भन्ने आधारहरु बोकेर म फर्किएको हुँ। युएन कर्मचारीको रुपमा १२ देशमा विकास कार्यक्रम लिएर गएँ भने आफ्नो मुलुकमा किन नजाने भन्ने सोचका साथ म नेपाल आएको हुँ। 

त्यसै अनुरुप आफ्नो ज्ञान र वुद्‍धिको प्रयोग गरेर मुलुकका लागि काम गर्न कोसिस गरिरहेको छु। तर, यहाँ आएर काम गर्ने क्रममा अनाहकमा गलत आरोप लगाएर मलाइ विवादमा मुछ्ने प्रयास गरियो। त्यसले मलाइ दु:ख त पक्कै लागेको छ। तर मातृभूमिको सेवा र आफ्नो कर्तव्यपथमा दृढ छु र दृढ भएर लागिरहन्छु।
(वाणिज्य तथा आपूर्ति मन्त्री थापासँग प्रभात भट्टराईले गरेको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell