PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​बन्दमा अलपत्र यात्रुलाई निशुल्क खाना र खाजा



​बन्दमा अलपत्र यात्रुलाई निशुल्क खाना र खाजा
Source:www.newschitwan.com

चितवन : चितवन र नवलपरासी भएर आवतजावत गर्ने गाडी र यात्रु बुधबार बन्दको दोहोरो मारमा परेका छन्। 

नवलपरासी गैँडाकोटमा रहेको जयश्री पुल भाँचिएर गन्तव्यमा जान नपाई अलपत्र परेका यात्रु बुधबार बन्दले थप प्रभावित भएका हुन्।

डाइभर्सन गरेर यातायात सञ्चालन गरिएपनि प्रभावकारी नहुँदा सवारी रातिमा कट्न नपाएका गाडीका यात्रु बुधबार पनि नवलपरासीमा नै रोकिएका इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ। 

अहिले चितवनको नारायणगढ, बसपार्क, पुलचोक तथा नारायणी पुल क्षेत्रमा यातायातको लाइन रहेको प्रहरीले जनाएको छ। 

संविधानमा हिन्दूराष्ट्र नेपाल राख्नुपर्ने माग गर्दै हिन्दूराष्ट्र बचाउ अभियानले बुधबार चितवन र नवलपरासीलगायत जिल्लामा बन्द आह्वान गरेको हो। 

बिहानैदेखि यहाँ बन्दले कलकारखाना, उद्योग, बजार, स्कुल सबै ठप्प भएका छन् । यातायातका साधनसमेत चलेका छैनन्। 

यात्रु बीचबाटोमै अलपत्रमा परेका छन्। बन्द शान्तिपूर्ण रहेको अभियानका सदस्य फूलनाथ न्युरेले बताए। बिहान बन्दका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेका सात जना बन्दकर्ता केहीसमय अघि छाडिएका छन्।

यात्रु र बन्दकर्तालाई खाना र खाजा

बन्दमा नारायणगढको पुलचोकमा भने फरक दृष्य देखियो। बन्दमा अलपत्र पर्ने र खान पनि नपाउने यात्रु भने यो पटक भोको बस्नुपरेन।  

नारायणगढमा बन्दकर्तालगायत स्थानीय व्यवसायी नै स्वतःस्फुर्तरुपमा खाना र खाजाको जोहोमा लागेका छन्। 

आएका आगन्तुकले समेत सक्दो सहयोग गर्ने गरेको र स्थानीय व्यवसायी कसैले चाउचाउ, कसैले पानी दिएका छन् भने कसैले नगद नै सहयोग गरेर यात्रुलाई खाना खुवाइरहेका छन्। 

एकजना बन्दकर्ता फूलनाथ न्युरेले यात्रुलाई खाना र खाजाको व्यवस्था गरिएको बताए। उनले स्वतःस्फूर्तरुपमा आएको सहयोगबाट यात्रुलाई खानेकुराको व्यवस्थापन गरिरहेकाले कुनै यात्रु भोको बस्नु नपर्ने उनको भनाइ छ। तर यात्रुले भने गन्तव्यमा पुग्नु सबैभन्दा पहिलो कुरा भएको भन्दै दुखेसो गरिरहेका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell