PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

​जापानमा १० लाखको जागिर छोडेर तरकारी खेती



​जापानमा १० लाखको जागिर छोडेर तरकारी खेती
पाल्पा रामपुर १० कि गीता भट्टराई आफ्नो तरकारी बारीमा। फोटो: रासस

रामपुर: काम र दामका लागि युवाको आकर्षण विदेशमा बढिरहेकै बेला रामपुरका मिनु थापा भने जापानको प्रवेशाज्ञा (भिसा) त्यागेर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। मासिक १० लाख रुपैयाँ पारिश्रमिक पाउने जापानको अवसर छाडेर उनी आफ्नै खेतबारीमा काम गर्न अडिए।

'गाउँका सबै युवा विदेशतिर लागेको देखेर मैले पनि पासपोर्ट बनाएँ, जापानबाट भिसा पनि आयो, तर मलाई गाउँ छोडेर विदेश जान मन लागेन' उनले भने 'विदेश जाने साथीको कथा व्यथा सुनेँ, मलाई पनि विदेशप्रतिको मोह कम हुँदै गयो र यही बसेर केही गरे पनि विदेशमा कमाइ गर्ने दाम हात परिहाल्छ भन्ने सोच बनाएर अहिले तरकारी खेती सुरु गरेँ।'

रामपुरकै रिमबहादुर श्रेष्ठको पनि दुबइको भिसा आइसकेको थियो, उनको पनि मन फेरियो खाडी मुलुकमा पसिना बगाउन पटक्कै मन लागेन। 'भिसा झर्‍यो, विदेश जाने दिन निश्चित भयो, कमाएर आउने हो कि रित्तै खाली हात आउने हो दोधारमा परेँ' उनले भने 'त्यसपछि भिसा त्यागेर कृषि व्यवसाय सुरु गरेँ।'

पाँच वर्षसम्म सिङ्गापुरमा काम गरेर फर्केका सन्तोष पौडेलले आफ्नै करिब १९ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। पौडेलले आफू जस्तै विदेशमा रहेका युवाका लागि उन्नति र प्रगति गर्नुछ भने कृषिमा लगानी गरी स्वदेशमै बस्नुपर्छ भन्ने सन्देश दिँदै आएका छन्। पौडेलले दैनिकजसो ५० देखि ६० किलो तरकारी उत्पादन गर्दै आएका छन्। एक्लै व्यवसाय सञ्चालन गर्न समस्या परेपछि पाँच जनालाई रोजगारी दिएका छन्। ४० देखि ५० रोपनी जग्गामा तरकारी लगाउने सोच रहेको पौडेलले बताए।

विदेशमा रोजगारीको अनुभव लिएका चिदिपानीका देवबहादुर कुँवरले पनि १० रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेका छन्। अहिले उनले वर्षमा पाँचदेखि सात लाखसम्मको आम्दानी गर्छन्।

विदेश जान लागेका र विदेश गएर फर्केका युवालाई कृषि व्यवसायमा आकर्षण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयबाट युवालक्षित कार्यक्रममा छनोट भएका किसानलाई ४० हजार नगद र बीउबिजन निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ। युवालक्षित छनोटमा परेका कृषकलाई अनुदान रकम, निःशुल्क बीउबिजन तथा प्राविधिक ज्ञान दिएपछि जिल्लामा तरकारी उत्पादनमा वृद्धि भएको छ। 

दोभानका कृषक धनबहादुर सोमैले सात रोपनी जग्गामा तरकारी लगाएर अहिले विदेशको पीडालाई भुल्दै छन्। उनले विदेशमा बगाएको रगत र पसिना स्वदेशकै माटोमा बगाउनसके यही सुन फूलाउन सकिन्छ भन्ने मनसायले व्यवसाय सुरु गरेको बताए।

वार्षिक रुपमा तीनदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी लिने गरेको कृषक सोमैले बताए। विदेशीको मोहले गर्दा युवाविहीन भएका गाउँ बस्तीमा विस्तारै युवाको चहलपहल सुरु भएको छ। बाँझो रहेका खेतबारीमा तरकारी फल्न थालेका छन्। कृषि प्रधान देशमा वार्षिक रुपमा अर्बौं रुपैयाँ कृषिजन्य वस्तुको खरिदमा बाहिरिने गर्छ।

विदेशबाट स्वदेश भित्रने वस्तुको निर्यातमा कम गर्न कृषिजन्य वस्तुको उत्पादनमा नेपाल आत्मनिर्भर हुनेगरी सरकारले कृषि नीति तथा कार्यक्रम ल्याउनु जरुरी छ। जिल्लामा ९८ जना कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell